close

निर्वाचनमा मतदान गर्न जाँदै हुनुहुन्छ ? बससेवाले ल्यायो सुनको असर्फी जित्ने अफर

टेकपाना टेकपाना

बैशाख २२, २०७९ १७:४२

निर्वाचनमा मतदान गर्न जाँदै हुनुहुन्छ ? बससेवाले ल्यायो सुनको असर्फी जित्ने अफर

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै बससेवाले विभिन्न अफर सञ्चालनमा ल्याएको छ । अफर अन्तर्गत बससेवामार्फत् अनलाइन टिकट बुकिङ गर्ने यात्रुले सुनको असर्फी जित्न सक्नेछन् ।

वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवामार्फत् अनलाइन बस टिकट बुकिङ गर्ने यात्रुमध्ये तीन जनालाई गोलाप्रथामार्फत सुनको असर्फी प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस्तै सोही अवधिमा बस टिकट काट्नेमध्ये २० जनाले क्यूएफएक्स टिकट प्राप्त गर्नेछन्, भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्स कम्पनीको तर्फबाट नारायणी नदीमा मोटरबोट चढ्ने टिकट प्राप्त गर्ने उल्लेख छ ।

स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता होस् र मतदान गर्न जाने यात्रुलाई सहज रूपमा बस टिकट उपलब्ध गराउने उद्देश्यले यस्तो अफर सञ्चालन गरिएको बससेवाका प्रमुख कार्यकारी पीआर खनालले बताए ।

खनालले भने, ‘निर्वाचनमा धेरैभन्दा धेरै मत खसोस् भन्ने सरकार र राजनीतिक दलको चाहना हुन्छ । यो समयमा धेरै मतदाता गाउँ फर्किन्छन, उनीहरुलाई मतदान गर्न जाँदा बस टिकट नपाएर समस्या नपरोस् भन्ने उद्देश्यले यस किसिमको योजना ल्याइएको हो ।’

पछिल्ला दिनमा गाउँ फर्कने यात्रुको संख्या बढ्न थालेकाले टिकट नपाउने अवस्था सिर्जना नहोस् भन्दै बससेवाले समयमै आफ्नो बस टिकट बुकिङ गर्न समेत सबै यात्रुलाई अनुरोध गरेको छ ।

कम्पनीका अनुसार बससेवामार्फत नेपालभरका एसी, डिलक्स, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्न सकिन्छ ।

यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाइल एप्लिकेसन तथा ईसेवा, फोनपे, खल्ती, प्रभुपेका साथै मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकटको भुक्तानी गर्न सक्नेछन् ।

यसरी काटिएको टिकटमध्येबाट विजेताहरुको घोषणा निर्वाचन सकिएपछि गोलाप्रथाबाट गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२