close

इन्टरनेटको बढ्दो पहुँचले फेरिएको चुनाव प्रचार शैली

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख २४, २०७९ १०:२

इन्टरनेटको बढ्दो पहुँचले फेरिएको चुनाव प्रचार शैली

आसन्न स्थानीय निर्वाचनले देशको राजनीतिक माहोल मात्रै होइन, जनताको दैनिकीसम्म निकै प्रभाव पारिरहेको छ । निर्वाचन नजिकिएसँगै राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता तथा समर्थकले विभिन्न माध्यमबाट आफ्नो प्रचारप्रसार पनि तीव्र बनाएका छन् ।

आउँदो शुक्रबार हुने निर्वाचनका लागि भौतिक रूपमा उपस्थित भएरभन्दा पनि अनलाइन माध्यममार्फत् प्रचार गर्नेको लहर बढ्दो छ ।

फेसबुक, टिकटक, ट्वीटर लगायतका सामाजिक सञ्जाल चुनावी सामाग्रीले भरिएका छन् । कसैले फेसबुक, टिकटक लाइभ गरिरहेका छन् । कसैले भोट हाल्न अनुरोध गर्दै स्टेटस र भिडिओ राखिरहेका छन् । कसैले ट्रोल र ब्यङ्ग्य गरिरहेका छन् ।

फोरजी, ब्रोडब्यान्ड इन्टरनेट, स्मार्टफोन र बढ्दो सामाजिक सञ्जाल प्रयोगकर्ताका कारण सजिलै उम्मेदवार, कार्यकर्ता र शुभचिन्तकले चुनावी प्रचारप्रसार गर्न पाएका छन् ।

हुन त कोभिड-१९ को महामारीसँगै विश्वव्यापी रुपमै इन्टरनेटको पहुँच र प्रयोग बढेको छ । स्टाटिकाले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार कोभिड कहरका बेला २०२० मा फेसबुकका सक्रिय प्रयोगकर्ताको सङ्ख्या ८.७ प्रतिशतले बढेको थियो भने टिकटकमा ८५.३ प्रतिशतले बढेको थियो ।

त्यस्तै, ट्वीटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा पनि प्रयोगकर्ता बढेका छन् ।

अघिल्लो स्थानीय तहको चुनावमा फेसबुक र ट्वीटरमा चुनावी चहलपहल बढी देखिन्थ्यो भने यसपटक त्यसको ठाउँ टिकटकले लिएको देखिन्छ । पछिल्लाे पटक सर्वाधिक धेरै डाउनलाेड हुने एप बनेकाे टिकटक चुनाव प्रचारका लागि प्रभावकारी माध्यम बनेकाे छ ।

राजनीतिक दलहरुले पनि चुनाव लक्षित गर्दै आफ्नो सामाजिक सञ्जालमा चुनावी गीत, भिडिओ, घोषणापत्रलगायत प्रचार प्रसारका सामाग्री धमाधम राखिरहेका छन् । विशेषगरी राजनीतिक दलका उम्मेदवारहरुले आफ्नो चुनाव चिन्हलाई फोटोसँग जोडेर मत माग्न व्यस्त छन् । छोटा छोटा भिडियो उम्मेदवार आफैंले बनाएर सामाजिक सञ्जालमा अपलोड गर्दै भोट माग्नेको जमात पनि ठूलै छ ।

कहिलेकाँही आक्कल झुक्कल सामाजिक सञ्जाल चलाउने र आफ्ना गतिविधि सार्वजनिक गर्ने नेता कार्यकर्ताहरु अहिले सामाजिक सञ्जालमा नियमित चुनावी अपडेट गर्न व्यस्त छन् ।

इन्टरनेट प्रयोगकर्ता बढेसँगै अघिल्लो चुनावमा सहर लक्षित पोस्टहरू बढी देखिन्थ्यो भने अहिले गाउँतिर पनि उत्तिकै देखिन्छ । इन्टरनेटको पहुँच पुगेका प्रायः ठाउँमा उम्मेदवारहरूले चुनावी क्षेत्रमा आफूले गरेका कामको विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेको पाइन्छ ।

काठमाडौंको हकमा हेर्ने हो सामाजिक सञ्जालमा सबै दल र स्वतन्त्र उम्मेदवारको प्रचारप्रसार पनि तीव्र देखिन्छ । चुनावको मिति नजिकिँदै गर्दा सामाजिक सञ्जालमा सबैभन्दा बढी चर्चा काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको छ ।

त्यस्तै नेकपा एमालेका तर्फबाट मेयर पदमा उठेका केशव स्थापितको चर्चा पनि निकै छ । विवाद र लोकप्रियता दुवैका हिसाबले सामाजिक सञ्जालमा यिनै उम्मेदवारको चर्चा बढी छ ।

पहिले जस्तो सामाजिक सञ्जालमा विभिन्न पार्टीका ट्रोल र मिम अहिले पनि प्रशस्त मात्रमा फैलिरहेको देख्न सकिन्छ । केही दिनअघि नेकपा एमालेको र्‍यालीका क्रममा दुई जना सवार बाइक भिरबाट गुल्टिएको भिडिओ भाइरल भएको थियो । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना बढेको थियो ।

त्यस्तै, केही दिनदेखि सामाजिक सञ्जालमा नेपाली कांग्रेसका उम्मेदवारको एक अर्को फोटो भाइरल छ । जहाँ एक मजदुर बाटोमा रहेको खाल्डोमा काम गरिरहेको अवस्थामा घरदैलो अभियानमा निस्केका उम्मेदवारलाई नमस्ते गरिरहेका छन् । त्यहाँ उनलाई कसैले पनि नमस्ते फर्काएको देखिँदैन । त्यही विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना थपिएको छ ।

त्यस्तै, वैशाख २२ गते माओवादी केन्द्रले भरतपुरमा आयोजना गर्न लागेको कार्यक्रम सुरु हुनुभन्दा अघिल्लो दिन नै पानी परेर कार्यक्रम स्थल डुबानमा परेको थियो । त्यसको भोलिपल्ट कार्यक्रम सुरु हुनुभन्दा केही घण्टा अघि नै कार्यक्रम स्थल चिटिक्क पारिएको थियो ।

सोही विषयमा केही मानिसले ‘जनतालाई पर्दा वर्षदिन आफूलाई पर्दा एकैछिन’ भन्दै व्यंग्यसमेत गरे । त्यस्तै, अहिले सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालले बोलेको वाक्य ‘माओवादीमा भोट नहाले भने देश संकटमा पर्छ’ भन्ने वाक्य पनि भाइरल छ । यसरी शीर्ष पार्टीहरूका विवादमा मिम र ट्रोल सामाजिक सञ्जालमा जताततै छन् ।

त्यस्तै, प्रचारका सन्दर्भमा विभिन्न पार्टीले टिकटक प्रतिस्पर्धा पनि सुरु गरेका छन् । जहाँ प्रतिस्पर्धीले पार्टीका विचार र योजना समेटेर भिडिओ बनाउन भनिएको छ । यसबापत् राजनीतिक दलहरुले पुरस्कार राशी पनि तयार पारेका छन् ।

महानगरदेखि गाउँपालिका र वडासम्म हुने निर्वाचनको रौनक सामाजिक सञ्जालमा देख्न सकिन्छ । चुनावी अभियानका फोटो र भिडिओ शेयर गर्दै मतदातालाई नेता कार्यकर्ताले भोट मागिरहेका छन् । तर पछिल्लो समय निर्वाचन आचारसंहिता उल्लंघनका घटना पनि उल्लेख्य बढेको भन्दै निर्वाचन आचारसंहिताले ध्यानाकर्षण गराएको छ ।

निर्वाचनको मुखैमा कुनै व्यक्तिविरुद्ध गलत हल्ला फैलाएर वा झुटो जानकारी फैलाएर उसको बदनाम गरी आफ्नो पक्षमा जनमत सिर्जना गर्नु पुरानै शैली हो । तर, अहिले यो शैली झनै ‘प्रभावकारी’ बनेको छ, किनकि अहिले जस्तोसुकै जानकारीलाई पनि धेरैभन्दा धेरै मानिससमक्ष पुर्याउन सजिलो माध्यम छ- सामाजिक सञ्जाल ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२