close

सामाजिक सञ्जालमा उम्मेदवारको फोटो बिगार्दा कारबाही हुने

टेकपाना टेकपाना

बैशाख २३, २०७९ १७:३४

सामाजिक सञ्जालमा उम्मेदवारको फोटो बिगार्दा कारबाही हुने

काठमाडौं । सामाजिक सञ्जालमा उम्मेदवारको फोटो बिगारी होच्याउने, अपमान गर्ने जस्ता क्रियाकलाप गर्नेलाई कारबाही हुने भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न माध्यमबाट उम्मेदवारको तस्वीर र चुनाव चिन्ह फरक–फरक गरी प्रकाशन गर्ने, उम्मेदवारको फोटो बिगारी होच्याउने, अपमान गर्ने तथा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह भइरहेको भन्दै विज्ञापन बोर्डले कारबाही गर्ने बताएको हो ।

‘प्रचारप्रसार सामाग्री निर्वाचन आचारसंहिता, २०७८, एवं विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ बमोजिम भए/नभएको सम्बन्धमा यस बोर्डले नियमित अनुगमन गरिरहेको छ,’ बोर्डले जारी गरेको सूचनामा भनिएको छ, ‘अनुगमनका क्रममा विभिन्न माध्यमबाट भएका प्रचारप्रसारमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएका घटना दिन प्रति दिन बढ्दै गएको देखिन्छ ।’

यस्तोमा फेसबुक जस्ता सामाजिक सञ्जालमा उम्मेदवारको तस्वीर र चुनाव चिन्ह फरक–फरक गरी प्रकाशन गर्ने, उम्मेदवारको फोटो बिगारी होच्याउने, अपमान गर्ने तथा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह भइरहेको पाइएको छ । यस्ता कार्य निर्वाचन आचारसंहिता, २०७८ विपरित भएको भन्दै कारबाही गर्ने चेतावनी बोर्डले दिएको हो ।

साथै राजनीतिक दल, दलका उम्मेदवार र अन्य उम्मेदवारहरूले सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, पोस्टर टाँस्ने, चुनाव चिन्न अंकित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी छाप्ने जस्ता कार्य नगर्न समेत बोर्डले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२