२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

निरन्तरको आँट र संघर्षले जन्मिएको ‘हिज्जे डटकम’, जसले यसरी गर्दैछ नेपाली भाषाको शुद्धीकरण 

काठमाडौं । भाषालाई पहिचानको रुपमा लिइन्छ । सामान्य सञ्चारका लागि मात्र नभई देशलाई चिनाउन अथवा विश्वमा शक्तिशाली रुपमा चिनिन भाषाकै महत्त्व धेरै हुन्छ । प्रविधिको युगमा अनलाइन माध्यममा अंग्रेजीजस्ता अन्तर्राष्ट्रिय भाषामात्रै होइन, विश्वमा बाेलिने हरेक भाषा प्रयोग गर्न सकिन्छ ।

चीन, जापान, कोरिया लगायतका केही देशको इलेक्ट्रिक डिभाइसमा आफ्नै प्रकारको किबोर्ड पनि छ । उनीहरू आफ्नै भाषामा सन्देश आदानप्रदान गर्छन् ।

यता नेपालको कुरा गर्ने हो भने हामी पनि नेपाली त लेख्छौं । तर अधिकांशकाे प्राथमिकता रोमन अक्षर नै हुन्छ । इन्टरनेटमा नेपाली लेख्न युनिकोड पनि प्रयोग गरिन्छ । तर युनिकोडको वर्णविन्यास आफैंमा अधुरो छ, नेपाली भाषा शुद्ध हुने त परको कुरा ।

भाषाको एउटा छुट्टै महत्त्व छ । यसको प्रभुत्व पहिचान वा शैक्षिक क्षेत्रमा मात्र होइन, भाषाले विचार तथा भावनाहरू व्यक्त गर्न पनि उत्तिकै मद्दत गर्छ । मिठो, सरल र शुद्ध भाषामा लेखिएका कुरा पढ्न पाइयो भने यसले लेखिएका कुरा बुझ्न थप सहयाेग गर्छ ।

शुद्ध भाषा शैक्षिक क्षेत्रमा मात्र काम लाग्ने त हो नि, बोलीचालीमा त केही फरक पर्दैन भन्ने विचार पनि हुनसक्छ । तर यो शुद्ध भाषामा लेखिएको कुरा पढ्ने कसैको लागि भने लत पनि हुनसक्छ । अनि यही लतको कारण जन्म हुन्छ ‘हिज्जे‘ को ।

प्युठानको लुङ भन्ने ठाउँमा जन्मिएका विरोध रिजाल सानैदेखि पढ्न भनेपछि हुरूकै हुन्थे । विश्वेश्वरप्रसाद कोइरालाको निबन्ध पढ्नु, मुना, मधुपर्क, युवामञ्च, गरिमादेखि लिएर गोरखापत्रसम्मका सामग्रीहरू पढ्नु उनको रुचिकाे विषय थियो ।

कक्षा १० सम्म लुङकै एक विद्यालयमा पढेका रिजाल प्रविणता तह पढ्न काठमाडौं आए । तर साहित्यिक किताबहरू पढेजस्तो शैक्षिक किताब उनका लागि सहज भएन ।

प्रविणता तह सकेर अब नपढ्ने सोच राख्दै आफ्नै गाउँमा केही गर्ने निर्णय गरे । गाउँ फर्केर पनि उनको शब्दसँगको सम्बन्ध भने कम भएन ।

वि.स. २०५७ सालमा गाउँमै उनले आफ्नै अपसेट प्रेस खोले र आफैंले प्युठान समाचार पत्रिका र सुमन नामको साहित्यिक पत्रिका प्रकाशित गरे ।

तर हरेक व्यक्तिको जीवनमा एउटा यस्तो व्यक्ति हुन्छ, जसका कारण उसको सारा जीवन नै कायापलट हुनसक्छ । मानौं उनले नयाँ जन्म पाए झैँ । कहिलेकाहिँ त्यो व्यक्ति हाम्रो आफ्नै शिक्षक पनि हुन्छन् । पढाइमा एकदमै रुचि भएको आफ्नो एउटा विद्यार्थी यसरी पढाइ छोडेर आएको देखेपछि रिजालका विद्यालयका शिक्षक भुपेन्द्र सुवेदील‍े उनलाई पढाइको महत्त्व बुझाए ।

जीवनमा पढ्न कतिको आवश्यक छ भन्ने कुरा भुपेन्द्र सरसँग सुनेर गाउँमा केही गर्नुपर्छ भनेका रिजाल आज सिंगो देशका लागि नै केही गर्छु भनेर लागिपरेका छन् ।

‘पढाइसँगको मेरो लगाव, शुद्ध लेखन र पठनसँगको मेरो सम्बन्ध त्यही दिनदेखि सुरु भएको थियो, जुन दिन भुपेन्द्र सरले मलाई पढ्नको लागि प्रेरित गर्नुभयो,’ हिज्जेका संस्थापक विरोध रिजालले सुनाए ।

त्यसपछि उनी काठमाडौं आएर काठमाडौं इन्जिनियरिङ कलेजमा स्नातकतर्फ कम्प्युटर इन्जिनियरिङ विषय पढ्न सुरु गरे ।

‘पढाइ खासै राम्रो नभए पनि कम्प्युटर इन्जिनियरिङ विषय लिएर पढेको मैले प्रविधिसँग नजिक हुने मौका पाएँ । अनि ख्यालख्यालमै हिज्जेको सुरुवात भयो,’ उनले सुनाए ।

नेपाली भाषाको शुद्धाशुद्धी जाँच गर्ने अनलाइन प्लेटफर्म हो ‘हिज्जे’ । यो प्लेटफर्म हिजोआज बनेको कुनै अनलाइन प्लेटफर्म होइन ।

डेढ दशकअगाडि रिजालको शुद्ध पढ्ने चाहनाले हिज्जे जन्मिएकाे थियाे । जसले आजको दिनमा अनलाइन माध्यममा नेपाली भाषालाई सुधार्ने काम गरिरहेको छ ।

‘यही नै बनाउने भनेर हिज्जे सुरु गरेकाे होइन । सन् २००६ तिर मैले स्नातकको अन्तिम वर्षको लागि एउटा प्रोजेक्ट बनाउनुपर्ने थियो । जसका लागि मेरो एकजना शिक्षकले मलाई नेपाली भाषाको बोल्दा टाइप हुने प्रोग्राम तयार गर भनेर सुझाउनु भएको थियो,’ उनले भने, ‘आफ्नो मनपर्ने क्षेत्रमा काम गर्न पाएपछि मैले करिब ४०० वटा शब्दहरू संकलन गरेर भोइस टाइपिङ प्लेटफर्म बनाए ।’

तत्कालीन समयमा कलेज शिक्षकले अबको १० वर्षपछिको सोचेर कुनै प्रोजेक्ट बनाउनुभन्दा उनको दिमागमा पनि भाषा नै आएको थियो । यद्यपि यो प्लेटफर्मले रिजालले बोलेको शब्दहरू मात्र टिप्थ्यो । यो एकदमै सीमित क्षमताको थियो । एउटा सानो प्रोजेक्टको रुपमा भएको कारण यो प्लेटफर्म त्यो समयमा त्यति अगाडि बढ्न सकेन ।

‘नेपाली भाषा विश्व बजारमा प्रयोग हुँदैन । यसलाई प्रयोग गरेर व्यवसाय गर्ने वा कुनै अन्तर्राष्ट्रिय सन्धि गर्ने प्रकारका कुनै कुरा नै छैन । अंग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा हो, अनि चिनियाँ भाषा विभिन्न अन्तर्राष्ट्रिय व्यपार व्यवसायको सम्झौताहरूमा पनि प्रयोग हुन्छ । यसले गर्दा यी भाषा प्राथमिकतामा छन् । तर नेपाली भाषा नेपालभित्र र केही देशका सीमित व्यक्तिले मात्र बाेल्छन् । त्यसैले यसलाई व्यावासियक रुप दिन पनि गाह्रो भयो,’ उनले भने ।

यसपछि जिन्दगीले बाटो मोड्यो । उनको सानो प्लेटफर्मले व्यावसायिकतातिर लानुभन्दा पनि उनले आफ्नै शिक्षाको क्षेत्रलाई अगाडि बढाए । अनि रिजाल स्नातकोत्तर गर्न लागि थाइल्यान्ड गए ।

सन् २००९ मा थाइल्यान्डकाे एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट स्नातकोत्तर सकाएपछि उनी नेपाल फर्किए ।

जिन्दगीले नयाँ रुप लिँदै थियो सायद । तर उनका लागि उही पुरानो नेपाली भाषाको प्लेटफर्म महत्त्वपूर्ण थियो । स्नातकोत्तर सकेर नेपाल इन्जिनियरिङ कलेजमा पढाइरहँदा उनको भेट भयो सन्तबहादुर बस्नेतसँग । बस्नेत हिज्जेका सह-संस्थापक हुन्

वास्तवमा बस्नेतलाई नभेट्दासम्म हिज्जेको कुनै नाम थिएन । यो एउटा विद्यार्थीको प्रोजेक्ट, त्यो पनि भोइस टाइपिङमा सीमित थियो । जस्तोले त्यस्तै मान्छे पाउँछ भनेझैं सन्तबहादुर पनि काम गर्न एकदम रुचाउने मान्छे, अनि विरोध पनि ।

यी दुई मिलेर इन्टिग्रेटेड आईसीटी प्राइभेट लिमिटेड नामकाे कम्पनी स्थापना गरे । यही कम्पनीको सामाजिक उत्तरदायित्वमा रहेर हिज्जे सञ्चालन भइरहेको छ ।

यसपछि बस्नेतले हिज्जेमा काम गर्न सुरु गरे । उनले एउटा सामान्य टुल सहितको प्लेटफर्म निर्माण गरे, जहाँ नेपाली भाषाको शुद्धीकरण गर्न मिल्थ्यो । 

रिजाल र बस्नेतले केही शब्दहरू संकलन गर्ने, अनि नेपाली भाषाको संयोजनहरू गर्ने काम गर्ने । यसपछि यो उत्पादनलाई व्यावसायिक रुप दिने समझदारी भयो ।

‘सन् २०१४ मा व्यावसायिक रुपमा अगाडि लैजाने हिसाबले हामीले कान्तिपुर दैनिकमा हाम्रो प्लेटफर्मबारे प्रस्ताव राख्यौं । भाषाको शुद्धाशुद्धी कम्प्युटरबाट चेक गर्नमिल्ने कुरामा तत्कालीन सम्पादक सुधिर शर्माले रुचि देखाउनुभयो र उहाँहरूको ६/७ जना प्रुफरिडरसँग मिलेर हामीले काम गर्‍याैं,’ उनले भने, ‘हाम्रो प्लेटफर्मलाई उहाँहरूको न्युजर्‍यापमा इन्ट्रिगेट गरेका थियौं । एक वर्षसम्म हामीले सहकार्यमा काम गरेका थियौं ।’

यसपछि सन्तबहादुर र विरोध हिज्जेको व्यवसायिकरण गर्नतिर लागे । यो प्लेटफर्मको व्यवसायिकरणका लागि सबैभन्दा सुरुमा आवश्यकता थियो, बजार अध्ययनको ।

बजार अध्ययनको क्रममा यी दुईले अनलाइन सञ्चार माध्यममा यसको प्रभावकारी उपयोग हुने सोचे ।

‘त्यो समयसम्ममा अनलाइन मिडिया पनि निकै चलिसकेका थिए । अनलाइनका लागि यो उपयोगी हुनेछ भनेर सोच्यौं र धेरै मिडियामा यसको प्रचारका लागि गयौं,’ विरोधले भने, ‘तर सोचेजस्तो हुन सकेन । व्यावसायिक हिसाबले यो उपयोगी भेटिएन । अनलाइन मिडियाहरूमा छिटो लेखेर छिटो प्रकाशन गर्ने प्रवृत्तिका कारण भाषामा खासै काम हुँदैन रहेछ । यसले गर्दा मान्छेहरूमा भाषामा खासै रुचि नभएको पायाैं ।’

यसपछि अब बनाएको कुरा छोड्नुभन्दा बरु निःशुल्क रुपमा नै अगाडि बढोस्, आवश्यक हुने मान्छेका लागि यो उपयोगी हुन्छ भन्ने सोचेर उनीहरूले हिज्जेलाई निःशुल्क प्लेटफर्मको रुपमा छोडे ।

आज हिज्जेका दैनिक प्रयोगकर्त छ हजार बढी छन् । व्यावसायिक रुप लिन नसके पनि हिज्जे आज धेरैको नेपाली भाषा शुद्धीकरणको मापक बनेको छ ।

तर सार्वजनिक प्रयोगको लागि पनि यो प्लेटफर्मलाई अब्बल बनाउनु भने आवश्यक थियो । यसका लागि विरोध र सन्त बहादुरले त्रिविको भाषा विज्ञान केन्द्रीय विभागका प्राध्यापक बलराम प्रसाईलगायत अन्य विज्ञको सहयोगमा भाषाको शुद्धाशुद्धीकरणमा नेपाली शब्दहरू कसरी बन्छ र यसलाई कम्प्युटरमा कसरी बनाउने भन्ने विषयमा विभिन्न छलफल र प्रयोगपश्चात हिज्जे परिस्कृत हुँदै गयो ।

‘नेपाली शब्द बन्ने प्रक्रिया जटिल छ । हिन्दी र अंग्रेजीको तुलनामा पनि नेपाली भाषा बन्ने प्रक्रिया जटिल छ । यसले गर्दा कम्प्युटर प्रोसेसिङको हिसाबले नेपाली भाषा आफैँमा जटिल भएकोले हामीले वर्णविन्यासको कामहरू गरेका थियौं,’ विरोधले भने, ‘त्यतिबेला शब्दको ठूलो डेटाबेस जम्मा भएको थियो । त्यतिबेला हामीले २० लाख वटा समाचारबाट शब्द जम्मा गरेका थियौं । अहिले भने हामीसँग  ४० लाख समाचारहरू स्टोरमा छन् भने २५ लाख शब्दहरू छन् ।’

नेपाली भाषा आफैँमा बृहत् छ । यसको संरचना झनै जटिल । एउटै शब्दको लेखन शैली पनि फरक-फरक हुन्छ । यो कुराले हिज्जेलाई थप सुधार हुन मद्दत गर्‍यो ।

‘हामीले धेरै गाली खायौं । हाम्रो नेपाली भाषाको शब्दको बनोट फरक-फरक हुँदा एउटै शब्दलाई पनि फरक हिसाबले लेखिने गरिन्छ । मैले ‘सुशिला’ भन्ने एउटा शब्द मात्र ११ प्रकारले लेखेको देखेँ, जुन हाम्रा लागि चुनौती बन्यो,’ विरोधले सुनाए ।

यो समस्यालाई सम्बोधन गर्न हिज्जेसँग एउटै मात्र समाधान थियो ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ ।

यसपछि नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोषलाई मानकको रुपमा लिएर हिज्जेले नेपाली भाषाको शुद्धीकरण गर्न सुरु गर्‍यो ।

अहिले हिज्जेमा २५ लाख शब्द त छन्, जुन आफैंमा कम हाे । शब्ददेखि वाक्यसम्म काम गर्ने बनाउनका लागि हिज्जेमा थप सुधारको आवश्यकता विरोध र सन्त बहादुरले पनि महसुस गरेका छन् ।

तर उनीहरूका लागि भने यो प्लेटफर्मलाई जतिसक्यो त्यति विस्तार गर्ने भोक मरिसकेको थिएन । यो चाहनालाई पुरा गर्न यी दुई भाइ लागिपरिरहेका थिए ।

यसैबीच उनीहरूको कम्पनीले प्रधानमन्त्री कार्यालयसँग मिलेर डिजिटल नेपाल फ्रेमवर्कभित्रको नेपाली ल्याङग्वेज रिसोर्स प्याक्टमा के गर्न सकिन्छ भन्ने विषयमा काम गर्ने मौका पाए ।

यो उनीहरूका लागि अवसर थियो । यो अवसरलाई कति पनि खेर नफाली लिखित रुपमा दिइएको प्रस्तावमा उनीहरूले नेपाली किबोर्डको एउटा छुट्टै मानक बनाउनुपर्ने र यसैलाई कार्यन्वयनमा लैजानुपर्नेमा जाेड दिए ।

तर सम्बन्धित निकायबाट कुनै प्रतिक्रिया आएन । इन्टरनेटमा नेपाली भाषाको सुधार र विस्तारमा निजी क्षेत्रले फरक ठाउँबाट काम गरेपनि केन्द्रीकृत गरेर लान सरकारले मात्र सक्छ भन्ने सोचसहित उनीहरूले विभिन्न सरकारी निकायको ढोका ढक्ढकाए ।

तर सरकारी ढोका खोल्न त्यति सजिलो भएन । उनीहरूले केही निकायसँग मिलेर काम पनि गरे, अनि धेरै छलफल सहभागी पनि भए । तर प्रतिफल भने कतैबाट पनि आएन ।

‘उहाँहरू हाम्रो कामको प्रशंसा गर्नुहुन्छ, तर सहकार्य गर्ने अथवा छलफलमा हामीले राखेको प्रस्तावलाई अनुमोदन गर्ने काम भने कहिले भएन,’ विरोधले संघर्षका दिन सम्झँदै भने, ‘ सूचना तथा प्रविधि विभागले एक पटक हामीलाई बोलाएको थियो, हिज्जे सरकारलाई दिनुहोस् भनेर । तर बजेट र प्रक्रियाका कारण यो सम्झौता अघि बढ्न सकेन ।’

सरकारी भन्ने वित्तिकै प्रतिस्पर्धात्मक टेन्डरबाट जानुपर्ने र विभागको बजेट पनि पाँच लाखमात्रै भएपछि यो प्रस्ताव उनीहरूको लागि उपयुक्त भएन ।

अनलाइनमा नेपाली भाषाको प्रवर्द्धनका लागि राष्ट्रिय सूचना प्रविधि आयोगले पनि बोलाएर परामर्श लिएको थियो । यसमा उनीहरूको कम्पनीले आवश्यक सुझावसहित प्रस्ताव पेश गरेको थियो । तर यसले पनि कुनै टुङ्गो पाएन ।

‘हामी दुवैजना काम गर्ने मान्छे हौं । आफ्नै भाषा, आफ्नै संस्कृतिलाई जोगाउने त होनी भनेर हामी यसमा काम गरिरहेका छौं,’ विरोध बताउँछन् ।

सन् २०१७ सम्म हिज्जेलाई व्यावसायिक रुपमा अगाडि लाने सोच त्यसपछि भने रोकियो । विश्वविद्यालय अनुसन्धान केन्द्र, जीआईजेडले लगायतका केही परिचित कम्पनीहरूले हिज्जेको व्यवसायिक प्रयोग त गरे, तर सीमित समयका लागि मात्र । 

यद्यपि हिज्जेलाई सुधार गर्ने क्रम भने जारी नै रह्यो । यही बीचमा उनीहरूले हिज्जेमा रोमनाइज्ड टाइपिङको व्यवस्था गरे । हिज्जेसम्म पुग्न प्रयोगकर्ताले नेपाली टाइपिङ गर्नुपर्थ्यो, जुन धेरैजनाको लागि गाह्रो कुरा थियो । यसैको लागि रोमनमा टाइप गर्ने फिचर ल्याइयो । तर नेपाली टाइपिङको मानक पनि धेरैथरीको भएपछि सबैलाई एकमुष्ट रुपमा युनिकोडमा कन्भर्ट गरेर हिज्जे जाँच गर्ने फिचरको सुरुवात भयो ।

अहिले हिज्जेमा युनिकोड, आकृति, आलेख, गणेश, हिमालबी, कान्तिपुर, नवजीवन, पिसियस, सांग्रिला, श्रीनाथ र सुमुदाचार्य गरी १२ प्रकारका फन्ट छन् । ती फन्टहरूलाई युनिकोडमा रुपान्तरण गरेर हिज्जे जाँच गर्न मिल्छ ।

योसँगै टाइपिङ समस्यालाई सम्बोधन गर्न हिज्जेले अहिले ‘भोइस टाइपिङ’ मा पनि काम गरिरहेको छ । प्रयोगकर्ताका लागि यो फिचर पनि छिट्टै नै उपलब्ध हुने विरोधले जानकारी दिए ।

साथै स्वतः रुपमा विभक्तिहरू जोड्ने मसिन लर्निङमा पनि हिज्जेल अहिले काम गर्दैछ । यसको अर्थ कुनै एउटा शब्द लेखेपछि त्यसपछि आउने सम्भावित अन्य विभक्ति वा पूर्ण वाक्य आफैं थपिनेछ ।

साथै हिज्जेको शुद्धीकरण अब वाक्यबाट पनि हुने उनले बताए ।

‘अहिले हामीले गलत शब्द मात्र हेरिरहेका छौं । तर गलत वाक्यलाई पत्ता लगाउन सकेका छैनौं । यसमा काम गर्नु आवश्यक छ । योसँगै हामीले ट्रान्सलेसनमा पनि काम गर्नुपर्ने छ,’ उनले भने, ‘छिट्टै नै यी सबै व्यवस्था हामी हिज्जेमा उपलब्ध गराउनेछौं ।’

हिज्जेले सामान्य भोइस टाइपिङबाट शब्दको शुद्धाशुद्धीसम्मको यात्रा तय गर्न एक दशक बढी समय लिइसकेको छ । तर आज पनि यो व्यावसायिक रुपमा भने अगाडि बढेको छैन ।

आफूले एक दशक बढी समय खर्चेको कामले कुनै प्रतिफल दिन नसक्दा कुनै पनि व्यक्तिलाई हतोत्साहित बनाउँछ नै । एकातिर आफ्नो समय र श्रमको खर्च, अर्कोतिर पैसाको खर्च । झन त्यसमाथि यसकै लागि भनेर त्यागेका कयौं अवसरहरूको गन्ति कसरी गर्ने ?

‘नगदको मात्र कुरा गर्ने हो भने आजसम्म २५ देखि २६ लाख खर्च भइसक्यो । यसको लागि नै थुप्रै अवसर पनि छोडियो । यसको लेखाजोखा कसले गर्ने ?’ उनले प्रश्न राख्दै भने, ‘तर मैले यसलाई छोड्न सकिनँ । अहिले पनि अनलाइनहरूमा समाचारहरूमा शुद्धाशुद्धी नमिलेको वा शब्द चयन नमिलेको देखेँ भने कस्तो नराम्रो लाग्छ । बानी नै यस्तै रह्यो मेरो ।’

हरेक मान्छैभित्र कुनै न कुनै कामका लागि एउटा लगाव हुन्छ, जसले उसलाई काम गर्न प्रेरणा दिइरहन्छ । चाहे त्यो कामले कुनै व्यक्तिगत फाइदा होस् वा नहोस् ।

तर कहिलेकाँही इच्छाशक्तिले मात्र व्यवहारिक जिन्दगी चल्दैन । यो कुरालाई विरोधले पनि राम्रोसँग मनन गरेका छन् ।

‘हिज्जेको निःशुल्क सेवालाई अगाडि बढाउन जति इछ्याशक्ति छ, त्यति नै हौसला पनि हुनुपर्छ । सायद मैले मेरो जीविका अन्य कुनै माध्यमबाट चलाउन सक्दिन थिएँ भने हिज्जेप्रति मेरो लगावमात्र भएर पुग्दैन थियो । हिज्जेबाट केही नकमाए पनि मेरो जीवन चल्छ भन्ने हौसला मलाई थियो । त्यसैले यो आजसम्म निरन्तर चलिरहेको छ ,’ उनी सुनाउँछन् ।

हिज्जे बाहेक अहिले उनीहरूको कम्पनीले एउटा ई-कमर्श प्लेटफर्ममा काम गरिरहेको छ, जसमा आवश्यक परेका मान्छेहरूले आफ्नो व्यवसायको लागि वेबसाइट बताएर काम गर्न सक्छन् ।

उनको यो प्लेटफर्म नेपालदेखि अष्ट्रेलिया, ग्रिक लगायतका देशमा पनि प्रयोग हुन्छ ।

अर्कोतिर प्रतिक्रिया पनि ठूलो कुरा रहेछ । काम गर्दै गएपछि त्यसको प्रतिक्रिया पनि आइरह्यो भने त्यसमा थप काम गर्न मन लाग्ने उनको अनुभवले बताउँछ । त्यसैले उनी हिज्जेलाई नेपाली भाषाका लागि गरेको योगदानको रुपमा काम गरिरहेका छन् ।

डिजिटल वर्ल्डमा नेपाली भाषा कमजोर हुँदै गएको उनको सोचाइ छ ।

‘इन्टरनेटमा नेपाली भाषाको पहुँच नपुग्नु भनेको नेपाली भाषा कमजोर हुनु हो । त्यही भएर पनि हामी यसमा निरन्तर काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘सरकारले यो कुरालाई बुझेर नेपाली भाषालाई प्राथमिकता दिनु जरुरी छ ।’

डिजिटल प्रयोजनको लागि नेपाली भाषालाई सरकारले अझै पनि प्राथमिकतामा राख्न सकेको छैन । भविष्यमा सरकारले आएर सहकार्य गरेर अगाडि बढ्न चाहेको खण्डमा आफूहरूले पनि काम गर्ने विरोध बताउँछन् । तर हिज्जेलाई यत्तिकै छोड्ने पक्षमा भने उनी छैनन् । जबसम्म उनको लगाव यसमा लागिरहन्छ तबसम्म हिज्जेमा नयाँ नयाँ सुधार थपिँदै जानेछ ।  

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team