close

सब्स्क्रिप्सन मोडलबाट ट्वीटरको आम्दानी दोब्बर बनाउने योजनामा मस्क

टेकपाना टेकपाना

बैशाख २५, २०७९ १०:२८

सब्स्क्रिप्सन मोडलबाट ट्वीटरको आम्दानी दोब्बर बनाउने योजनामा मस्क

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति तथा ट्वीटरका नयाँ मालिक एलन मस्कले सन् २०२८ सम्ममा सब्स्क्रिप्सन मोडलमार्फत कम्पनीको आम्दानी वार्षिक १० बिलियन अमेरिकी डलर अर्थात १२ खर्ब भन्दाबढी पुग्ने बताएका छन् । अघिल्लो वर्ष कम्पनीको आम्दानी ५ बिलियन डलर रहेको थियो ।

आउँदो ६ वर्षको अवधिमा मस्कले कम्पनीको आम्दानी दोब्बरले बढाउँदै १० बिलियन डलर पुग्ने उल्लेख गरेका हुन् । गत वर्षबाट कम्पनीले ट्वीटर ब्लु सर्भिस सञ्चालनमा ल्याएको छ । जसमा ट्वीट इडिट गर्ने, विज्ञापन रहित कन्टेन्ट हेर्न सकिने जस्ता विशेष फिचर रहेको छन् ।

त्यसका लागि प्रयोगकर्ताले मासिक २.९९ डलर शुल्क बुझाउनु पर्छ । यस्तोमा सन् २०२५ सम्म ट्वीटर ब्लु सब्स्क्राइबरको संख्या ६ करोड ९० लाख पुग्ने अध्ययनले देखाएको छ । सन् २०२८ सम्म उक्त संख्या डबल भन्दा बढीले वृद्धि हुँदै १५ करोड ९० लाख पूग्ने अनुमान छ ।

गत वर्षसम्म २१ करोड मासिक सक्रिय प्रयोगकर्ता रहेको ट्वीटरमा सन् २०२५ सम्म ६० करोड पुग्ने अनुमान गरिएको छ । भने, सन् २०२८ सम्म ९३ करोड १० लाख पुग्ने अनुमान छ । ट्वीटर ब्लुका साथै मस्कले अर्को नयाँ सब्स्क्रिप्सन फिचरको तयारी समेत गरिरहेका छन् ।

हालसम्म उक्त सब्स्क्रिप्सन मोडलको विषयमा जानकारी नभएपनि सन् २०२३ भित्र सेवा सञ्चालनमा ल्याउने र सन् २०२८ भित्र त्यसका प्रयोगकर्ता १० करोड ४० लाख पुग्ने प्रक्षेपण मस्कले गरेका छन् । यो हिसाबले सन् २०२८ भित्र कम्पनीको आम्दानी वार्षिक रुपमा १० बिलियन पुर्‍याउने योजनामा मस्क रहेको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२