नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच ११६.९१ प्रतिशत अर्थात् एक जना बराबर १.६७ छ । यसमध्ये ८७.२५ प्रतिशतमा मोबाइल इन्टरनेटको पहुँच छ । इन्टरनेट तुलनात्मक रूपमा पहिलेको भन्दा सुलभ र सस्तो भएको तथा कोभिड महामारीको कारण अनलाइन कक्षाका लागि पनि आवश्यक भएकाले घरघरमा र बालबालिकासमेतका हातहातमा पुगेको छ ।
इन्टरनेटको व्यापक प्रयोगले घरमै बसेर पढ्न, काम गर्न, गोष्ठीहरूमा सहभागी हुन, किनमेल गर्न र मनोरञ्जन, समाचार र सूचना तथा सन्देश आदानप्रदान पनि सहज बनाइदिएको छ । कोभिडको विषम परिस्थितिमा पनि यसले उल्लेख्य राहत पु¥याएको छ ।
इन्टरनेटको पहुँच, सुलभ उपलब्धता र व्यापकता सूचनाप्रविधिको महत्त्वपूर्ण पूर्वाधार हो । जसरी सुरक्षित र व्यवस्थित यातायातका लागि फराकिला बाटो बनाएर मात्र पुग्दैन, ट्राफिक सिग्नल, जेब्रा क्रसिङ, ट्राफिक प्रहरीको अनुगमन, सवारी चलाउन लाइसेन्सको व्यवस्था र ट्राफिक नियमको पालनाका साथै पैदल यात्रीले पनि नियम पालना गर्नुपर्ने हुन्छ, सुरक्षित रूपमा इन्टरनेट चलाउन पनि यस्तै व्यवस्था हुनु जरुरी छ ।
सानै उमेरमा बालबालिकालाई अभिभावक र शिक्षक/शिक्षिकाले ट्राफिक नियमबारे सिकाए जस्तै बालबालिकालाई सुरक्षित रूपमा इन्टरनेट चलाउन सिकाउनुपर्छ । यसमा सरकार, अभिभावकहरू, विद्यालयहरू, नेपाल दूरसञ्चार प्राधिकरण, प्रहरी, इन्टरनेट सेवाप्रदायकहरू र अन्य सरोकारवालाले आआफ्ना जिम्मेवारी पूरा गर्नु आवश्यक हुन्छ ।
उपभोक्ताहरूबाट इन्टरनेट प्रयोगबापत कर उठाउने र इन्टरनेटको सेवाको व्यापार गर्ने हुँदा सरकार र इन्टरनेट सेवाप्रदायकहरूले सुरक्षित इन्टरनेटका लागि चाहिँदो लगानी गर्नैपर्ने दायित्व हुन्छ ।डिजिटल युगमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र तीव्रताका साथ अगाडि बढिरहेको छ ।
योसँगै असंख्य नकारात्मक तथा डरलाग्दा प्रभाव पनि सँगसँगै आइरहेको छ । प्रविधिको प्रयोग गर्ने वर्गका रूपमा बालबालिका र युवा नै पर्छन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुव्र्यवहार एवम् शोषण, साइबर बुलिङ, फिसि ङ तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमप्रति संवेदनशील बनाउँछ ।
यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवम् बौद्धिक विकासलाई प्रभावित बनाउँछ । उनीहरूलाई हतोत्साही बनाउने तथा उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना पनि हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावक, शिक्षक तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउन आआफ्ना उत्तरदायित्व निर्वाह गर्न आवश्यक छ ।
अनलाइनमा असुरक्षित बालबालिका अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटका अनुसार इन्टरनेटको सुरक्षित प्रयोग गर्ने ज्ञानको कमी र देखासिकीले पनि बालबालिकाहरू अनलाइन यौनशोषणको सिकार भइरहेका छन् । कोभिड महामारीका कारण बालबालिका अनलाइन यौन शोषणको उच्च जोखिममा छन् ।
चाइल्डसेफनेटले युनिसेफसँगको सहकार्यमा लकडाउनको बेला करिब एक हजार २२८ जनामा गरेको एक अनलाइन सर्वेक्षणमा इन्टरनेटको प्रयोगसँगै दुरुपयोग बढेको र आपराधिक घटना पनि भएको देखिएको थियो । हरेक ४ जना बालबालिका वा युवामा १ जनाले इन्टरनेटको प्रयोग १० घण्टा भन्दा बढी गरेको देखियो ।
चाइल्डसेफनेटकोे सर्वेक्षणअनुसार ३ जनामा १ जना किशोरी वा युवतीले यौन साइटहरू हेरेको पाइयो । त्यस्तै हरेक २ जनामा १ जना किशोर वा युवा पुरुषले यौन साइटहरू हेरेका थिए । बालबालिका तथा युवाहरूमा फेसबुक, इन्स्टाबाट फेक आइडी बनाएर अश्लील भिडियो तथा फोटो पठाउने, पासवर्ड मागेर उत्पीडन गर्ने, ठगी गर्ने गरेको बढी देखिएको थियो ।
त्यसैगरी ५ जनामा १ जना किशोरी वा युवा महिला र १० जनामा १ जना किशोर वा युवकले अनलाइनमा यौन दुव्र्यवहार भएको जानकारी दिएका थिए ।
पछिल्लो समय विद्यालयले चलाएका अनलाइन कक्षाको बहानामा इन्टरनेट बसाइ लम्बिँदा पनि दुव्र्यवहारको जोखिम बढेको छ । छोराछोरी अनलाइनमा क्लास मात्र लिइरहेका छन् कि अरू केही गरिरहेका छन्, यसमा अभिभावकको ध्यानै पुगेको छैन । इन्टरनेटमा बालबालिकाले जति धेरै बितायो, उति नै धेरै मौका अनलाइन यौन शोषण गर्नेहरूले पाइरहेका हुन्छन् ।
इन्टरनेटबाट खतराको जोखिम भएकाले यसमा सबै पक्ष चनाखो हुनु आवश्यक छ । यसका लागि बोलेर मात्र हुँदैन, नीति निर्माण मात्र होइन, कार्यान्वयन पनि गतिलो र व्यावहारिक हुनु आवश्यक छ । बालबालिकालाई इन्टरनेटबाट कसरी सुरक्षित पार्ने भन्ने विषयमा अभिभावक, विद्यालय र सरकारले कदम चाल्नुपर्दछ ।
बालबालिकालाई इन्टरनेटको प्रयोगबाट हानि हुन नदिन उनीहरूलाई उमेरअनुसार उपयुक्त नहुने साइट र एपहरूमा पहुँच दिनुहुँदैन । अभिभावकले यसबारे जानकार भएर बालबालिकालाई उपयुक्त हुने साइट र एपहरू प्रयोग गर्न सिकाउनुपर्छ । बालबालिकाले मोबाइल र इन्टरनेटको दुरुपयोग गर्याे भन्दैमा यसमा बन्देज लगाउने नभई कसरी प्रयोग गर्न दिने र अधिकतम फाइदा लिन लगाउने भन्नेतर्फ सजग हुनु आवश्यक छ ।
अहिलेको समयमा इन्टरनेट बन्द गर्नु भनेको बिजुली पानी बन्द गर्नु जस्तै हो । इन्टरनेट अहिलेको युगमा अत्यावश्यक साधन भइसकेको छ । अहिले हामीले चाहेर पनि नचाहेर पनि डिजिटल युगमा प्रवेश गरिसकेका छौं । अहिलेको युगलाई डिजिटल युग र यो संसारलाई डिजिटल संसार पनि भनिन्छ । हामी सबै डिजिटल युगमा छौं र वयस्कहरू यस डिजिटल संसारका आप्रवासी नागरिक हौं । बालबालिकाहरू डिजिटल संसारका जन्मसिद्घ नागरिक हुन् । डिजिटल संसारमा नियमकानुन पनि यही संसारअनुसारको हुन्छ र त्यसबारे जानकार हुनु र त्यसलाई पालना गर्नु पनि आवश्यक हुन्छ ।
यसका लागि केही कानुन त बनेका छन् तर अपुरो छन् । अनि भएको पनि पालना भएको छैन । ऐन नियम बनाउनु सरकारको दायित्व हो भने पालना गर्नु हामी सबैको कर्तव्य हो । इन्टरनेटको सही र सुरक्षित प्रयोगका सम्वन्धमा विभिन्न गतिविधि गर्नु आवश्यक छ ।
इन्टरनेट सुरक्षाका लागि बजेटको विनियोजन गरी विभिन्न तालिम, गोष्ठी जस्ता कार्यक्रम गर्ने व्यवस्था मिलाउनुपर्छ । इन्टरनेटको दुरूपयोग कोही कसैंबाट भइरहेको छ भने उजुरी गर्ने व्यवस्था मिलाउनुपर्दछ । यसका लागि पनि योजना बनाई कार्यान्वयन गर्नु जरुरी छ । हुन त सरकारले केही हदसम्म कार्यक्रम गरिरहेको छ । तर त्यो अपुग छ र भएको कानुनको कार्यान्वयन पनि अपुग छ ।
सरकारको कामबाट सुरक्षित भएको आभास खासै भएको छैन पनि । यद्यपि प्रहरीको साइबर ब्युरोबाट भने इन्टरनेट सुरक्षाका लागि काम भइ नै रहेको छ । यसलाई अझ व्यापक बनाउनुपर्छ र देशभर पुर्याइनुपर्छ । सरकारले समयसापेक्ष नीतिगत सुधार गर्दै विद्यमान कानुनलाई व्यवस्थित पार्ने र कानुन पालना गराउनुपर्छ ।
इन्टरनेटबाट बालबालिकालाई सुरक्षित राख्न इन्टरनेटको सही र सुरक्षित प्रयोगका सम्बन्धमा प्राथमिक तहको पाठ्यक्रममा नै समावेश गर्नु जरुरी छ । यसका लागि बाल मनोवैज्ञानिक र अन्य विज्ञसँग परामर्श गरी उमेर सुहाउँदो पाठ्यक्रम निर्माण हुनु जरुरी छ । यस्तो गर्न सकेको खण्डमा इन्टरनेटबाट बालबालिका सुरक्षित हुन्छन् ।
अभिभावकको दायित्व धेरैजसो अभिभावकहरू बालबालिकाको अगाडि घण्टौंं इन्टरनेट चलाउने गर्छन् र आफैं इन्टरनेटको लतमा परिसकेका हुन्छन् । आफ्नो सुविधाका लागि बालबालिकालाई पनि मोबाइल फोन चलाउन दिएर चुप लगाउने बानी धेरैमा छ । यसले गर्दा बालबालिकामा समेत इन्टरनेटको लत बसिसकेको छ ।
घरमा सँगै बस्दा पनि परिवारका सबै जना मोबाइल फोन चलाएर बस्ने भएपछि एकअर्कासँग आत्मीय सम्बन्धसमेत कम हुँदै जान सक्छ । यो बानीव्यहोरालाई निरुत्साहित पार्न कम्तीमा पनि बिदाको दिन सातामा एक दिन भए पनि इन्टरनेट होलिडे गरेर बालबालिकासँग गुणात्मक समय बिताउनु बेस हुन्छ ।
बाहिर घुम्न जाने, रमाइला र ज्ञानवद्र्धक किताब पढ्ने, परिवारका सबैजना मिलेर खाना बनाउने, खेल खेल्ने र संगीत, चित्रकला वा अन्य रचनात्मक काममा समय बिताएर पनि इन्टरनेटबिना समयको सदुपयोग गर्न सकिन्छ । यस्तो गर्दा बालबालिकालाई भर्चुअल संसारबाहेक अरूतिर पनि रमाइलो छ भने ज्ञान हुन्छ । र परिवार तथा समाजसँगको सम्बन्धबारे पनि राम्रो जानकारी हुन्छ ।
एप बनाउनेको चलाखी एप बनाउनेहरूले एक किसिमको एल्गोरिदम बनाएको हुन्छ । यसले प्रयोगकर्ताले के मन पराइरहेको हुन्छ भन्ने लेखाजोखा राख्छ । अनि त्यहिं हिसाबले नोटिफिकेसन पठाउन थाल्छ ।
आफूलाई मनपर्ने भिडियो युट्युबमा आएपछि हामीलाई त्यही हेर्न मन लाग्छ । फेसबुकलगायतका सामाजिक सञ्जालले ध्यान आकर्षणका लागि रातो रङमा नोटिफिकेसन राखेका हुन्छन् । एप बनाउने कम्पनीहरूले हामीलाई जानाजान लत लगाएर धेरै समय एप चलाउन लगाई हामीलाई विज्ञापन देखाएर व्यापार बढाइरहेका हुन्छन् ।
फेसबुक, ट्विटर, युट्युब, टिकटकलगायत धेरै एप चलाउन प्रयोगकर्ताले पैसा तिर्नुपर्दैन । किनभने उनीहरूका लागि हामी नै उत्पादन र हामी नै उपभोक्ता भइरहेका हुन्छौँ । एप बनाउनेले बीचमा बसेर फाइदा खाइरहेको छ । हाम्रो कन्टेन्टहरू हामीलाई नै चालै नपाउने गरी बेचिराखेको हुन्छ र एप बनाउनेले बीचमा बसेर फाइदा लिइरहेको हुन्छ ।
फेसबुकलगायत धेरैजसो सामाजिक सञ्जाल चलाउन कम्तीमा उमेर १३ वर्ष पुग्नुपर्ने भए तापनि त्यसभन्दा कम उमेरका बालबालिकाले समेत उमेर ढाँटेर सामाजिक सञ्जाल चलाइरहेका छन् वा परिवारका अन्य सदस्यका नामका सामाजिक सञ्जाल चलाइरहेका छन् ।
आफ्ना पोस्टमा लाइक, सेयर र कमेन्ट धेरै आओस् भनेर चिन्दै नचिनेका वा राम्ररी नचिनेकासँग पनि अनलाइनमा साथी बनेका हुन्छन् । ती साथीमध्ये कतिपय मानिस बालबालिकालाई दुव्र्यवहार वा यौन शोषण गर्ने उद्देश्यले नै अनलाइनमा साथी बनेर मीठा कुरा गरी फकाउनेहरू हुन सक्छन् । हाल नेपालमा १ करोड ३० लाखभन्दा बढी सक्रिय फेसबुक प्रयोगकर्ता छन् ।
सुरक्षा र गोपनीयता हाम्रा धेरै निजी सूचना र व्यक्तिगत विवरणहरू फेसबुक गुगल र अन्य कम्पनीहरूसँग छन् । यसको प्रयोग उनीहरूले कसरी गरिरहेको छ भन्ने हामीलाई थाहा हुँदैन । फेसबुकसँग हामीले डिलिट गरेका विवरणसमेत छ भने गुगलले हामी के खोजिरहेका छौं भन्ने रेकर्ड राख्ने गरेको छ । यी विवरणहरू व्यापारिक प्रयोजनमा प्रयोग गर्न सक्छ ।
हाम्रा इच्छा चाहना, सपिङ, घुमाइ, भोगाइ सबै कुरा उनीहरूसँग छ । यी कुराहरूको विवरण गोप्य र सुरक्षित हुँदैन । कुन दिन ह्याकरले पत्ता लगाएर हामीलाई दुःख दिने हो, थाहा छैन । यस्तो स्थितिमा बालबालिका झन् जोखिममा पर्छन् । बालबालिकालाई यौन दुव्र्यवहार गर्ने व्यक्तिले विवरण हेर्दै बालबालिकालाई सम्पर्क गर्दै आकर्षण गर्दै फसाउने खतरा हुन्छ ।
अनलाइन सुरक्षा कसरी गर्ने भने विषयमा तालिम, सहयोग, जागरण कार्यक्रम आवश्यक छ । त्यस्तै कसरी सुरक्षित हुने र पार्ने अनि उजुरी कहाँ गर्ने भन्ने विषयमा प्रचारप्रसार गर्नु आवश्यक छ । सरकारले अनलाइन सुरक्षालाई डिजिटल नेपालमा कसरी एकीकृत गरी लाने भनेर सोच्नु आवश्यक छ ।
त्यस्तै इन्टरनेटबाट हुने अपराध रोक्न विद्युतीय कारोबार ऐन २०६३, अपराध संहिता, बालबालिका ऐन मात्र यथेष्ट छैन । यसलाई समयसापेक्ष सुधार गर्नुपर्दछ । अहिले बालमैत्री तरिकाले अपराध अनुसन्धान भइरहेको छैन । यसलाई सुधार गरिनुपर्छ ।
यसैगरी साइबर अपराधका मुद्दा काठमाडौंमा मात्र छिनोफानो गर्ने व्यवस्था अन्त्य गरी देशभरबाट हुने व्यवस्था मिलाउनुपर्छ । इन्टरनेटबाट हुने दुव्र्यवहार शोषणबारे हामी पर्याप्त गम्भीर छैनौं ।
अनलाइनका कारण हिंसा भएको, ब्ल्याकमेल भएको, आत्महत्या भएकोतर्फ हाम्रो चासो त छ । तर यसबाट बालबालिकालाई सुरक्षित राख्न सरकार, विद्यालय, अभिभावक र सबै सरोकारवाला समयमै संवेदनशील र गम्भीर हुनैपर्छ । त्यो समय अहिले हो र त्यो दिन आज हो ।
(प्रविधि पत्रकार मञ्च (टीजेएफ) को 'प्रविधि' जर्नल २०७९ मा प्रकाशित चाइल्डसेफनेटका संस्थापक अनिल रघुवंशीको विचार ।)