close

नेपालमा यस्तो छ हुन्डाईको डेडिकेटेड इभी शोरुम

टेकपाना टेकपाना

बैशाख २५, २०७९ १८:३३

नेपालमा यस्तो छ हुन्डाईको डेडिकेटेड इभी शोरुम

काठमाडौं । डिजेल पेट्रोलको तुलनामा विद्युतीय सवारीसाधनको प्रयोग विश्वभर नै बढ्न थालेको छ । वातावरणमैत्री, आवाज नआउने र एकपटक लगानी गरेपछि इन्धनयुक्त गाडीमा जस्तो धेरै खर्च नहुने भएकाले पछिल्लो समय प्रयोगकर्ताहरुले विद्युतीय सवारी साधनप्रति चासो देखाउँदै आएका छन् ।

नेपाल सरकारले पनि आर्थिक वर्ष ०७७/७८ को वार्षिक बजेटमार्फत विद्युतीय सवारी प्रवर्द्धन गर्न कर छुटलगायतका सुविधा घोषणा गरेको थियो ।

यो व्यवस्था लागू भएसँगै नेपालमा पनि यस्ता सवारीको माग बढ्दो छ । यस्ता सवारीले इन्धनमा निर्भरता घटाउने, सर्भिसिङ लागत घटाउने र उच्च सवारी करबाट बच्न सकिने हुँदा यसको आकर्षण बढ्दो छ ।

अहिले दर्जनभन्दा बढी विद्युतीय कारका विभिन्न मोडलहरु नेपाली बजारमा आयात तथा बिक्रेता कम्पनीहरुले भित्र्याउँदै आएका छन् ।

विद्युतीय सवारीसाधनप्रति प्रयोगकर्ताको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले थापाथलीमा ‘स्टेट अफ दी आर्ट’ नामक डेडिकेटेड इभी शोरुम सञ्चालन गर्दै आएको छ ।

शोरुमलाई वातावरणमैत्री बनाउन प्लास्टिकयुक्त सजावटका सामग्रीको साटो प्राकृतिक बिरुवा राखिएको छ । साथै प्लास्टिकजन्य खानेपानीको बोतलदेखि टेबल, सोफा, गाडीको विवरण देखाउने डिस्प्लेको साटो सिसा र काठजस्ता वातावरणमैत्री उपकरणको प्रयोग हुँदै आएको छ ।

पछिल्लो समय शोरुममा आउने धेरैजसो प्रयोगकर्तामा ब्याट्रीको आकार र यसले गर्ने कामको बारेमा चासो हुने गरेको कारण कम्पनीले विद्युतीय कार कोनाको ब्याट्रीलाई समेत शोरुमको भित्तामा प्रदर्शनमा राखेको छ । शोरुमको भित्र वातावरणमैत्री बनाउन यस्ता सामग्री राखिएसँगै कम्पनीले बाहिरी भागमा पनि विशेष ध्यान दिएको छ ।

शोरुमको प्रवेशद्वारमा हरियो बिरुवाहरु राखिएकाले आकर्षक देखिने गरेको छ । भित्र पस्दा आगन्तुकहरुले प्रिमियम अनुभव लिन सक्नेछन् ।

कम्पनीले पछिल्लो समय बिक्री गर्दै आएको कोना र आयोनिक फाइभ गरी दुईवटा मोडलका कार शोरुममा राखेको छ ।

कम्पनीले हालसम्म कोना, आयोनिक र आयोनिक फाइभ गरी तीनवटा मोडेलमा पूर्ण विद्युतीय कार नेपाल भित्र्याएको छ । कम्पनीले भित्र्याएका यी कारमध्ये पछिल्लो समय बिक्री हुँदै गरेको आयोनिक फाइभ वातावरणमैत्री र पूर्णरुपमा बायो- डीग्रेडएबल रहेको छ ।

कारको भित्री भाग (इन्टेरियर)को निर्माणमा प्रयोग हुने कच्चा पदार्थ जस्तै पेपररेट, उनको धागो, आलस,  मकै, उखु आदि जस्ता प्राकृतिक वस्तु पनि शोरुममा प्रदर्शनमा राखिएको छ ।

कम्पनीले नेपाल भित्र्याएका यी कारमध्ये दुई महिनाअघि मात्र आयोनिक फाइभको बिक्री सुरु गरेको थियो ।

आयोनिक फाइभबारे थप:

हुन्डाईको आयोनिक फाइभ नेपाली बजारमा धेरैले रुचाएको कार हो । स्पेसलाइज्ड ब्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्म “इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्म” (ईजीएमपी) मा निर्माण भएको हुन्डाईको यो पहिलो गाडी हो ।

यो गाडीले सन् २०२१ को टप गियर इलेक्ट्रिक अवार्ड समेत पाएको थियो । हेर्दा डाइनामिक, आकर्षक र बोल्ड डिजाइन रहेको आयोनिक फाइभ कार पूर्णरुपमा “बायो डिग्रेडेबल” रहेको छ ।

विद्युतीय कार भएकाले यसको विभिन्न भागमा वातावरणमैत्री कच्चापदार्थ “बायो- मटेरियल्स” को प्रयोग भएको छ । जसअन्तर्गत, “पेपररेट” हलुका वजन, लचिलो, प्रिन्ट गर्न मिल्ने र  पुन: प्रयोग गर्न मिल्ने भएका कारण कारको बिभिन्न भागमा डिजाइन गर्नका लागि प्रयोग हुने गर्दछ ।

कारको सिट, सिट कभर निर्माणमा उनको धागो, आलस,  मकै, उखु आदि जस्ता प्राकृतिक बस्तुको प्रयोग भएको छ । आयोनिक फाइभ कारमा अत्याधुनिक फिचर जस्तै भेहिकल टु लोड (भीटुएल), एम्बिएन्ट मोड, पावर टेलगेट, सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मनिटर, भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोल उपलब्ध रहेका छन्  ।

गाडीको ब्याट्रीमा भएको अधिकतम क्षमता बहिरी प्रयोजनका लागि उपयोग गर्न सकिने प्रविधिलाई भेहिकल टु लोड अर्थात् भीटुएल भनिन्छ । यसको प्रयोग विशेषगरी लामो दूरीको यात्रा वा क्याम्पिङ जाँदा बत्ती बाल्न, कफी मेसिन, बार्बिक्यु लगायत विद्युतीय उपकरण सञ्चालन गर्न प्रयोग हुने गर्दछ ।

यो गाडीमा रहेको अर्को फिचर “एम्बिएन्ट मोड” ले वरिपरिको प्रकाशको आधारमा गाडी भित्रको उज्यालो स्वचालित रुपमा व्यवस्थापन गर्दछ । त्यसैगरी, बटन थिचेकै भरमा गाडीको पछाडिको ढोका खुल्ने प्रविधिलाई पावर टेलगेट भनिन्छ ।

आयोनिक फाइभमा रहेको सेन्सिङ वाइपरले सिसामा पानी पर्दा स्वचालित रुपमा आफैँ सफा गर्दछ भने यसमा रहेको ब्लाइन्ड स्पट भ्यु मनिटरले ड्राइभिङ सिटबाट नदेखिने भागमा गाडी जाँदा चालकलाई स्क्रिन मार्फत अलर्ट गराउँछ ।

आयोनिक फाइभ सोलार रुफ र भिजन रुफ गरी दुईवटा विकल्पमा उपलब्ध छन् । तर पछिल्लो समय धेरै ग्राहकले भिजन रुफ भेरियन्टको गाडी रुचाउने गरेका कारण सोलार रुफ भेरियन्टको कारको आयात नभएको कम्पनीका म्यानेजर दिवाकर रेग्मी बताउँछन् ।

५८.९ किलोवाट आवरको ब्याट्री क्षमताको लिथियम आयन ब्याट्री जडान भएको आयोनिक फाइभले १२५ किलोवाट अधिकतम पावर र अधिकतम ३५० एनएम टर्क उत्पादन गर्दछ ।

यो कारले ३५० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्न सक्दछ ।  एसी चार्जरबाट कारको ब्याट्री पूर्णरुपमा चार्ज हुन ७ घण्टा लाग्दछ र एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

यसमा १८५ किलोमिटर प्रति घण्टाको स्पिड रेन्ज रहेको छ । यो गाडीको लम्बाई ४ हजार ६३५ एमएम, चौडाई १ हजार ८९० एमएम र उचाइ १६० एमएम रहेको छ भने ग्राउण्ड किल्यरेन्स १६० एमएम रहेको छ ।

यसले कम्पनीले यो गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा तिन वर्षको वारेन्टी प्रदान गरेको छ । भिजन रुफ भएको हुन्डाई आयोनिक फाइभको मूल्य नेपाली बजारमा ८० लाख ९६ हजार रुपैयाँ रहेको छ । 

चर्जिङ स्टेसन:
विद्युतीय सवारीसाधनको महत्वपूर्ण भागको रुपमा ब्याट्री रहेको हुन्छ । पर्याप्त चार्जिङ स्टेसनको निर्माण नहुनाले प्रयोगकर्तामा रेन्ज एन्जाइटि हुने गरेको अवस्थामा नेपाल सरकारले पछिल्लो समय चार्जिङ स्टेसन निर्माण गरेको छ । पछिल्लो समय हुन्डाईले पनि देशको विभिन्न क्षेत्रमा चार्जिङ प्वाइन्टको निर्माण गर्दै आएको छ ।

कम्पनीले प्रदेश १ मा पाँचवटा,  मधेश प्रदेशमा दुईवटा, बागमती प्रदेशमा १४ वटा, गण्डकी प्रदेशमा पाँचवटा, लुम्बिनी प्रदेशमा आठवटा र सुदूरपश्चिम प्रदेशमा तीनवटा गरी देशभर ४० वटा चार्जिङ स्टेसन निर्माण गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२