close

८९ अर्ब कब्जा गर्ने क्रममा भारतमा आफ्ना कर्मचारीमाथि हातपात भएको साओमीको आरोप 

टेकपाना टेकपाना

बैशाख २६, २०७९ ८:३७

८९ अर्ब कब्जा गर्ने क्रममा भारतमा आफ्ना कर्मचारीमाथि हातपात भएको साओमीको आरोप 

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले भारतको प्रवर्तन निर्देशनालयमा आफ्ना अधिकारीमाथि हातपात भएको आरोप लगाएको छ । कम्पनीका अनुसार निर्देशनालयको तर्फबाट अनुसन्धानका क्रममा कम्पनीका प्रमुख कार्यकारीमाथि शारीरिक हिंसा भएको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

साथै आफ्ना अधिकारीहरूलाई धम्की समेत दिइएको कम्पनीले बताएको छ । वित्तीय अपराध अनुसन्धान गर्ने भारतीय निकायको रुपमा रहेको प्रवर्तन निर्देशनालयले साओमी इन्डियाका पूर्व प्रबन्ध निर्देशक मनुकुमार जैन तथा प्रमुख वित्तीय अधिकृत समीर बीएस राव र उनका परिवारलाई निर्देशनालयको अनुकूल बयान नदिए गम्भीर परिणाम भोग्नुपर्ने भन्दै धम्की दिइएको बताइएको छ ।  

प्रवर्तन निर्देशनालयले भने यस प्रकारका सम्पूर्ण आरोप निराधार रहेको दाबी गरेको छ । यस प्रकारको आरोपको पछाडि कुनै रणनीति हुनसक्ने उसले बताएको छ ।

साओमीले कर्नाटक उच्च अदालतमा दायर गरेको मुद्दामा बैङ्गलोरमा अनुसन्धानका क्रममा साओमीका अधिकारीहरूमाथि उत्पीडन गरिएको उल्लेख छ । निर्देशनालयले २९ अप्रिलमा भारतीय विदेशी मुद्रा कानून (फेमा) को कथित उलङ्घन गरेको भन्दै साओमी इन्डियाको ८८ अर्ब ८१ करोड ६० लाख रुपैयाँ बढी रकम जफत गर्ने आदेश पारित गरेको थियो ।

यद्यपि कर्नाटक उच्च अदालतले शुक्रबार निर्देशनालयको उक्त आदेशमाथि रोक लगाइदिएको छ । साओमीले भारतमा मि ब्रान्डका मोबाइल फोनको कारोबार गर्दै आएको छ । जसमाथि नियम छलेर ठूलो रकम विदेश पठाएको आरोप लागेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२