close

भारतमा व्यावसायिक रूपमै फाइभजी सेवा सुरू हुँदै, नेपालको के छ तयारी ?

टेकपाना टेकपाना

बैशाख २६, २०७९ १०:१०

भारतमा व्यावसायिक रूपमै फाइभजी सेवा सुरू हुँदै, नेपालको के छ तयारी ?

काठमाडौं । पाँचौ पुस्ताको मोबाइल इन्टरनेट प्रविधि ‘फाइभजी’ यतिबेला विश्वका धेरै देशमा विस्तार भइरहेको छ । कतिपय देशमा फाइभजीको व्यावसायिक सुरुवात भइसकेको छ भने केही देशमा परीक्षण भइरहेको छ । छिमेकी राष्ट्र चीनमा फाइभजीको पहुँच २१ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा पुगिसकेको छ ।

नेपालमा पनि फाइभजी परीक्षणका लागि सरकारले नेपाल टेलिकमलाई अनुमति दिइसकेको छ । त्यस्तै एनसेलले पनि परीक्षणका लागि सरकारसँग अनुमति मागेको छ । अर्काेतर्फ नेपालमा फाइभजी प्रयोगका लागि आवश्यक क्षेत्र पहिचान गर्न दूरसञ्चार प्राधिकरणले अध्ययन प्रक्रिया पनि सुरू गरेकाे छ ।

अर्को छिमेकी राष्ट्र भारतमा हाल फाइभजीको परीक्षण भइरहेको छ । भारतीय दूरसञ्चार कम्पनीहरूले देशका विभिन्न स्थानमा फाइभजी परिक्षण गरिरहेका छन् ।

यो वर्षको अन्त्यसम्म फाइभजीको व्यावसायिक सुरुवात गर्ने तयारीमा त्यहाँकाे सरकार जुटेकाे छ । भारतीय दूरसञ्चार विभागका अनुसार पहिलो चरणमा देशका १३ सहरमा फाइभजी सेवा सञ्चालनमा आउने छ ।

यसअन्तर्गत अहमदावाद, ब्यङ्ग्लोर, चन्दीगण, गान्धीनगर, गुरुग्राम, हैदरावाद, जामनगर, कलकत्ता, चेन्नाई, लखनउ, पुने, डिल्ली र मुम्बईमा फाइभजी विस्तार हुनेछ । आउँदो अगस्ट अथवा सेप्टेम्बरभित्र उल्लेखित सहरका प्रयोगकर्ताले फाइभजी प्रयोग गर्न पाउने विभागले जनाएकाे छ ।

विभागले हालसम्म कुन सेवा प्रदायकले पहिलो पटक फाइभजी सञ्चालनमा ल्याउने छ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । तर, जीओ, भोडाफोन र एयरटेल सबैले एकैपटक फाइजी सेवा सञ्चालनमा ल्याउने अनुमान गर्न सकिन्छ ।

हालसम्म प्राप्त प्रतिवेदन अनुसार सरकारले तोकेका १३ सहरमा सबै सेवा प्रदायकले फाइभजीका लागि आवश्यक तयारी सम्पन्न गरिसकेका छन् । त्यो हिसाबले सबै सेवा प्रदायकले एकैपटक फाइभजीको सुरुवात गर्नसक्ने तर्क गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२