close

नेपालका १० ठूला इन्टरनेट सेवा प्रदायक, कसको बजार कति ?

टेकपाना टेकपाना

बैशाख २६, २०७९ १७:२

नेपालका १० ठूला इन्टरनेट सेवा प्रदायक, कसको बजार कति ?

काठमाडौं । पछिल्लो केही वर्षयता नेपालमा फिक्स्ड इन्टरनेटमा सुधार देखिएकाे छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणकाे पछिल्लाे तथ्याङ्कअनुसार देशकाे २८.९० प्रतिशत जनसंख्यामा फिक्स्ड इन्टरनेट पुगेको छ ।

अर्काेतर्फ ९७.४२ प्रतिशत जनसंख्यामा मोबाइल इन्टरनेटकाे पहुँच विस्तार विस्तार भएकाे छ । प्राधिकरणकाे गत माघ महिनासम्मको तथ्याङ्कलाई आधार मान्दा नेपालको कूल जनसंख्याको १२६.७२ प्रतिशतमा इन्टनेट पुगेकाे छ ।

तथ्याङ्कको हिसाबले नेपालको जनसंख्याभन्दा २६.७२ प्रतिशत बढीमा मोबाइल इन्टरनेट पुगिसकेको छ । तर, यथार्थमा भने त्यस्तो अवस्था छैन ।

अझै पनि देशका कतिपय स्थानमा गुणस्तरीय टेलिफोन सेवा नै नपुगेको अवस्था छ । प्राधिकरणले मोबाइलको सिमका आधारमा र फिक्स्ड इन्टरनेटतर्फ एक जडान बराबर ४.३२ जनाले इन्टरनेट प्रयोग गर्छन् भन्ने अपेक्षित आँकडाका आधारमा यो तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

त्यो हिसाबले इन्टरनेटको पहुँच धेरै देखिनु स्वभाविक पनि हो । किनभने अहिलेको अवस्थामा एउटै मोबाइलमा दुई वटासम्म सिमकार्ड प्रयोग हुन्छ । तर, प्राधिकरणको तथ्याङ्कले त्यो दुवै सिमकार्डलाई फरक-फरक मानेर गणना गर्छ ।

त्यसले आँकडालाई फरक बनाउनु स्वभाविक पनि हो । त्यो भन्दैमा इन्टरनेटको पहुँचमा विस्तार नभएको भन्ने पक्कै होइन । अझ पछिल्लो समय फिक्स्ड ब्रोडब्याण्डको पहुँच निरन्तर रुपमा बढिरहेको छ ।

ग्रामीण दूरसञ्चार कोष अन्तर्गतका परियोजनका साथै निजी सेवा प्रदायकको अग्रसरतमा देशका ७७ जिल्ला सदरमुकाममा ब्रोडब्याण्ड इन्टरनेट पुगिसकेको अवस्था छ ।

यसमा धेरै सेवा प्रदायकले आफ्नो भूमिका खेलका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार नेपालमा ६० जना ग्राहक भएको सेवा प्रदायक पनि उपलब्ध छन् ।

यस्तोमा बजारमा उपलब्ध १० ठूला (ग्राहक संख्याको आधारमा) इन्टरनेट सेवा प्रदायकको ग्राहक संख्या र उनीहरुको बजारको हिस्साको विषयमा यहाँ हामी जानकारी दिँदैछौं ।

१. वर्ल्डलिंक कम्युनिसेन्स

फिक्स्ड ब्रोण्डब्याण्ड अन्तगर्त ग्राहक संख्याको आधारमा वर्ल्डलिंक कम्युनिकेसन सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो । प्राधिकरणले जारी गरेको माघसम्मको तथ्याङ्क अनुसार वर्ल्डलिंककाे ग्राहक संख्या छ लाख ११ हजार २७३ रहेको छ । फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटकाे बजारमा वर्ल्डलिंककाे बजार हिस्सा ३०.८८ प्रतिशत छ ।

२.नेपाल टेलिकम

नेपाल दूरसञ्चार कम्पनी ग्राहक संख्याको हिसाबले दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा रहेको छ । हाल टेलिकमका फिक्स्ड इन्टरनेट ग्राहक संख्या दुई लाख ९८ हजार ६२८ रहेका छन् ।

तर, त्यसमध्ये एक लाख २२ हजार ५७ जना केबल इन्टरनेट प्रयोगकर्ता छन् भने एक लाख ७० हजार २७९ फाइबर इन्टरनेट प्रयोगकर्ता छन् । दुई वर्षअघिमात्रै फाइबर इन्टरनेट सेवा विस्तार गरेको टेलिकमले फिक्स्ड इन्टरनेटमा १५.०८ प्रतिशत बजार हिस्सा ओगटेकाे छ । 

३. सुबिसु

सुबिसु केबल नेट निजी क्षेत्रतर्फको दोस्रो र समग्रमा तेस्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो । सुरुवाती चरणमा केबलमार्फत इन्टरनेट दिएर सेवा सुरु गरेको कम्पनीले विगत केही वर्षदेखी फाइबर इन्टरनेट समेत उपलब्ध गराउँदै आएको छ ।

हाल सुबिसुको केबलतर्फ ११ हजार ५३६ ग्राहक रहेका छन भने फाइबरतर्फ एक लाख ९८ हजार ७११ ग्राहक रहेका छन् । कूल २ लाख १७ हजार ४४३ ग्राहक संख्या रहेको सुबिसुले हाल १०.९८ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

४. क्लासिक टेक

प्राधिकरणको तथ्याङ्कलाई आधार मान्ने हो भने क्लासिक टेक नेपालको चौंथो ठूलो इन्टरनेट सेवा प्रदायक हो ।

हाल क्लासिक टेकको ग्राहक संख्या दुई लाख सात हजार १९० छन् । त्यसमध्ये ७१० जना वायरलेस प्रयोगकर्ता छन् ।

क्लासिक टेकले नेपालकाे इन्टरनेट बजारमा १०.४६ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

५. भायानेट

नेपालमा पहिलो पटक फाइबर इन्टरनेट भित्र्याउँदै सेवा सुरु गरेको भायानेट कम्युनिकेशन ग्राहक संख्याका आधारमा नेपालको पाँचौ ठूलो इन्टरनेट सेवा प्रदायक हो ।

भायानेटका हाल १ लाख ६२ हजार ३७७ प्रयोगकर्ता रहेका छन् । प्रयोगकर्ताको आधारमा भायानेटले फिक्स ब्रोडब्याण्ड तर्फ ८.२० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।

६. टेकमाइन्ड्स

टेकमाइन्ड्स नेटवर्क काठमाडौं उपत्यका भन्दा बाहिरबाट सेवा दिने सबैभन्दा ठूलो सवा प्रदायक हो । चितवनमा कार्यलय रहेको टेकमाइन्ड्स देशभरका ग्राहकको हिसाबमा देशको छैटौं ठूलो इन्टरनेट सेवा प्रदायक हो ।

टेकमाइन्ड्सको हाल ८६ हजार ५७५ ग्राहक रहेका छन् । ग्राहक संख्याका आधारमा टेकमाइन्ड्सले ४.३७ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।

७. वेबसर्फर

वेब सर्फर नेपालको सातौं ठूलो इन्टरनेट सेवा प्रदायक हो । सुरुवाती चरणमा वायरलेस इन्टरनेट उपलब्ध गराउँदै आफ्नो सेवा सुरु गरेको कम्पनीका हाल ६९ हजार ७३५ ग्राहक संख्या रहेका छन् ।

जसमा अझै पनि दुई हजार ५१५ वायरलेस ग्राहक रहेका छन् । कम्पनीले फिक्स ब्रोडब्याण्डतर्फ ३.५२ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।

८. डिशहोम

डिश मिडिया नेटवर्कले दुई वर्षअघिबाट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । गतवर्ष प्रभु इन्टरनेटलाई समेत खरिद गरेको कम्पनीका हाल ६९ हजार ११६ ग्राहक छन् ।

ग्राहक संख्याको आधारमा हाल डिशहोम आठौं ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो ।

तीव्र रुपमा बजार विस्तार गरिरहेको डिशहोम कूल बजारको ३.४९ प्रतिशत बजार ओगट्न सफल भइसकेको छ ।

९. ब्रोडलिंक

ब्रोडलिंक नेटवर्क नेपालको नवाैं ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो । फाइबरमार्फत इन्टरनेट सेवा दिँदै आएको ब्रोडलिंकका ५५ हजार ४६७ ग्राहक छन् ।

त्यसमध्ये १४० जना वायरलेस प्रयोगकर्ता पनि छन । ग्राहक संख्याका आधारमा ब्रोडलिंकले २.८० प्रतिशत बजार हिस्सा ओगटेकाे छ ।

१०. सिम्पल मिडिया

सिम्पल मिडिया नेटवर्क इन्टरनेट ग्राहकको आधारमा नेपालको १०औं ठूलो सेवा प्रदायक हो । सिम्पलका हाल १८ हजार ८४६ ग्राहक छन् । काठमाडौंलाई आफ्नो केन्द्र बनाएर सेवा दिइरहेको कम्पनीले ०.९५ प्रतिशत बजार हिस्सा ओगटेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२