close

वैज्ञानिक शिक्षाको नमूना स्कुल बनाउँदै ‘कारखाना’

टेकपाना टेकपाना

बैशाख २७, २०७९ ९:३५

वैज्ञानिक शिक्षाको नमूना स्कुल बनाउँदै ‘कारखाना’

काठमाडौं । विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित शिक्षा (स्टिम एजुकेसन) अर्थात वैज्ञानिक शिक्षाका लागि मोडल स्कुल तयार पार्ने उद्देश्यका साथ कारखानाले जेम्स स्कुलसँग सहकार्य गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबाट दुई संस्थाबीच यस किसिमको सहकार्य अघि बढेको हो ।

नेपाल शिक्षा नीति र नेपाल विज्ञान प्रविधि तथा नवप्रवर्तन नीतिमार्फत स्टिम एजुकेसनलाई शिक्षाको महत्त्वपूर्ण अङ्गको रुपमा पहिचान गरेको छ । यसका साथै नेपाली शिक्षा प्रणालीमा स्टिम एजुकेसनलाई समावेश गर्न स्पष्ट ‘म्यान्डेट’ समेत दिएको छ । 

कार्यान्वयनको चरणको रहेको अवस्थामा यी दुवै नीतिले धरातलीय रुपमा कसरी कार्यान्वयनमा आउँछन् र आधारभूत तहमा यसबाट परिवर्तन ल्याउन कस्ता नियम कानून तय गर्न आवश्यक छ भन्ने कुरा महत्त्वपूर्ण छ । तर स्टिम शिक्षा सम्बन्धी नीति लागू गर्न नेपालमा तथ्यगत तथा प्रमाणिक अनुसन्धानको भने कमी छ । 

स्टिम एजुकेसनलाई शैक्षिक अभ्यासमा समावेश गर्न यो नै मुख्य चुनौतीको रुपमा रहेको बताइन्छ । यसका साथै विद्यालय क्षेत्रमा समेत स्टिम एजुकेसन आत्मसाथ गर्न कहाँ र कसरी सम्पर्क गर्ने भन्ने विषयमा समेत स्पष्ट बुझाइको अभाव छ । 

त्यसैले धरातलीय रूपमा यस्ता शिक्षा नीतिलाई अभ्यासमा ल्याउन कारखाना र जेम्स स्कुलबीच यो सहकार्य भएको हो । 

कारखानाले विगत १० वर्षदेखि स्टिम एजुकेसनको क्षेत्रमा काम गर्दै आएको छ । साथै शिक्षा क्षेत्रमा जेम्स स्कुलको २५ वर्षभन्दा लामो इतिहास छ । नेपालका विद्यालयहरूमा स्टिम एजुकेसनलाई समावेश गर्ने मोडल तयार पार्न यी दुवै संस्थाहरूबीच यो सहकार्यमा भएको हो । 

यो सहकार्यबाट विषयगत पाठ्यक्रममा स्टिम एजुकेसनलाई व्यवहारिक रूपमा समावेश गर्ने र प्रगतिशील शिक्षाशास्त्र आत्मसाथ गर्न शिक्षकहरूलाई सशक्तीकरण गर्ने उद्देश्य राखिएको छ । यसैगरी सह पाठ्यक्रम कार्यक्रम तयार पार्नुका साथै विद्यालयमा स्टिम संस्कृतिलाई सुधार गर्न समेत यसले भूमिका खेल्ने कारखानाले जनाएको छ । बहुवर्षीय साझेदारीको रुपमा सुरु भएको यो सहकार्यले स्टिम एजुकेसनलाई समावेश गर्न चाहने अन्य विद्यालय तथा सङ्घ संस्थालाई समेत मार्ग प्रसस्त गर्ने अपेक्षा राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२