close

चीनले अब सरकारी स्तरमा विदेशी कम्प्युटर प्रयोग नगर्ने, डेल र एचपीका ५ करोड पीसी हटाइँदै

टेकपाना टेकपाना

बैशाख २८, २०७९ १०:५

चीनले अब सरकारी स्तरमा विदेशी कम्प्युटर प्रयोग नगर्ने, डेल र एचपीका ५ करोड पीसी हटाइँदै

काठमाडौं । चीन सरकारले आफ्ना विभिन्न निकाय तथा सरकारी कम्पनीहरूलाई विदेशी ब्रान्डका कम्प्युटरको प्रयोग बन्द गर्न निर्देशन दिएको छ । त्यसको साटो स्वदेशमै निर्मित कम्प्युटर प्रयोग गर्न भनिएको छ ।

चीन सरकारको यस किसिमको कदम पछाडि संवेदनशील स्थानमा विदेशी प्रविधिको पहुँच समाप्त गर्ने मनसाय उद्देश्य रहेको बुझिन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार त्यहाँका सरकारी निकाय तथा कम्पनीहरूले अबको दुई वर्षभित्र सबै विदेशी कम्प्युटर हटाइ सक्नुपर्नेछ ।

अमेरिकी सञ्चार माध्यम ब्लुमबर्गका अनुसार यो फैसलाका कारण केवल चीनका सरकारी कार्यालयमा प्रयोग भइरहेका पाँच करोड कम्प्युटर परिवर्तन गरिनेछ । चीन सरकारले विगत लामो समयदेखि नै विदेशी ब्रान्डको साटो स्वदेशमै  विकसित कम्प्युटर प्रयोग गर्ने मनसाय राखेको थियो ।

तर यो प्रयास सुस्त रुपमा अगाडि बढेको थियो । अहिले भने अमेरिकासँगको बढ्दो टकरावका कारण चीन सरकारले यो अभियान चाँडै सम्पन्न गर्ने निर्णय लिएको हो ।

यसका पछाडि अमेरिकी चिप, सर्भर र फोनमाथिको निर्भरता न्यूनतम स्तरमा लैजाने उद्देश्य चीनले राखेको छ । क्यानालिस नामक एक एजेन्सीका अनुसार चीनमा पर्सनल कम्प्युटरमा सबैभन्दा प्रचलित ब्रान्ड एचपी र डेल टेक्नोलोजी रहेका छन् ।

त्यसपछि मात्र चिनियाँ कम्पनी लेनोभोको स्थान छ । अब नयाँ नीतिसँगै एचपी तथा डेलका कम्प्युटर परिवर्तन गरिनेछ । त्यसो त चीन आफैँमा कम्प्युटरको ठूलो निर्यातकर्ता हो । सन् २०२१ मा चीनको निर्यातमा नौ प्रतिशत वृद्धि भएको थियो ।

तर चीनबाट जुन कम्प्युटर निर्यात हुने गर्दछन्, त्यसमा बढी सङ्ख्या अमेरिकी कम्पनीहरूका कम्प्युटर रहने गर्दछन् । जसका उत्पादन कारखाना चीनमा अवस्थित छन् ।

क्यानालिसका विश्लेषक एमा शूले भनेका छन्, ‘चीनको पीसी बजारमा ठूलो उथलपुथल मच्चिएको छ । तर सन् २०२१ मा जुन वृद्धि देखियो, त्यसबाट यहाँ कम्पनीहरूका लागि कति ठूलो अवसर उपलब्ध छ भन्ने कुरा प्रकाशमा आयो । सरकारभित्र सुरक्षा सम्बन्धी चिन्ता बढिरहेका थिए । त्यसैले स्थानीय ब्रान्डका कम्प्युटर खरिद गर्ने चलन बढेको छ । यसका कारण एचपी र डेल जस्ता अमेरिकी कम्पनीहरूलाई अतिरिक्त प्रतिस्पर्धाको सामना गर्नु परिरहेको छ ।’

ब्लुमबर्गका अनुसार चीन सरकारले दिएको ताजा आदेशमा कम्प्युटर ब्रान्ड र सफ्टवेयरलाई समावेश गरिएको छ । तर इन्टेल तथा एमएमडी जस्ता कम्पनीहरूको उत्पादनलाई भने त्यसभन्दा बाहिर राखिएको छ । यी कम्पनीको प्रविधिको विकल्प अहिले चीनसँग छैन ।

युरेशियन टाइम्सको एक रिपोर्ट अनुसार चीनमा सूचना प्रविधि सम्बन्धी स्वदेशी उत्पादन खरिद गर्ने नीतिका कारण माइक्रोसफ्ट र एचपी जस्ता अमेरिकी कम्पनीले चीनका सरकारी कम्पनीसँग मिलेर साझा उद्यम बनाउने नीति अपनाएका छन् । ता कि उनीहरूलाई सरकारी खरिदको अर्डर प्राप्त हुन सकोस् ।

यसका बावजुद लेनोभो, ह्वावे, र इन्स्पुर जस्ता चिनियाँ कम्पनीलाई ताजा सरकारी नीतिको लाभ मिलिरहेको छ । किङ्गसफ्ट र स्ट्यान्डर्ड सफ्टवेयर जस्ता चिनियाँ कम्पनीले अब माइक्रोसफ्ट र एडोबी जस्ता अमेरिकी सफ्टवेयर कम्पनीको बजारको भारी हिस्सा हडप्न सक्ने सम्भावना बढेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२