close

सामाजिक सञ्जालमा आउने कुन कुरा सही, कुन गलत छुट्याउने कसरी ?

दीपक अधिकारी दीपक अधिकारी

बैशाख २८, २०७९

सामाजिक सञ्जालमा आउने कुन कुरा सही, कुन गलत छुट्याउने कसरी ?

चुनाब लोकतन्त्रको सुन्दर पक्ष हो । हामीले जनप्रतिनिधि छान्नचुन्न पाउँछौ । हाम्रो तर्फबाट जनप्रतिनिधिहरूले हाम्रो हकहितको लागि राज्यको तर्फबाट उत्तरदायित्व पुरा गर्नु पर्ने हुन्छ  । तर, चुनाब भनेको के पनि हो भने यसमा एकदमै बढी प्रतिस्पर्धा हुन्छ ।

दलहरूबीच जस लिने होडबाजी हुन्छ । मैले यो गरेँ, मेरो शासनकालमा यो, त्यो भयो र विपक्षीलाई नराम्रो देखाउने काम हुन्छ । कतिपय अवस्थामा त घृणास्पद अभिव्यक्ति दिने, भ्रामक सूचनाहरू फैलाउने, दुष्प्रचार गर्ने, विपक्षी उम्मेदवारमाथि लाञ्छना लगाउने जस्ता गतिविधि हुन्छन् ।

हिजो हामीले देखेका त्यस्ता गतिविधिहरू भाषणमा, घरदैलो गर्ने क्रममा, चोकमा वा जुलुसमा देख्थ्यौँ भने अहिले तिनै कुरा सामाजिक सञ्जालमा हुन थालेका छन् । केही वर्षयता सामाजिक सञ्जालका प्रयोगकर्ताको सङ्ख्या ह्वात्तै बढेको छ । खासगरि, कोभिड महामारीयता मानिसहरूले बढीभन्दा बढी सूचना सामाजिक सञ्जालबाट लिइरहेका छन् ।

त्यसको दुई ओटा पाटो छ । एउटा स्मार्टफोनको मूल्य एकदमै घटेरको छ । जसले गर्दा हातहातमा स्मार्टफोन पुगेको छ । इन्टरनेटको पहुँच पनि एकदमै सहज भएको छ । त्यसैले मोबाइल मार्फत इन्टरनेटको प्रयोग गरेर सूचना उपभोग गर्ने क्रम बढेको छ ।

ती सूचना विभिन्न सामाजिक सञ्जालको माध्यमबाट आदान प्रदान हुन्छन् । जस्तो कि समाचार लिङ्क पोस्ट तथा शेयर गर्ने, मिम, भिडिओ, फोटोहरू राख्ने गरिन्छ । तर हामीसँग मिडिया लिटरेसी अर्थात सञ्चार साक्षरता छैन । कुन सूचनालाई कसरी ग्रहण गर्ने,  त्यसलाई कसरी परख गर्ने, त्यो सूचना सही हो कि होइन कुरा छुट्याउने र त्यसलाई सही तरिकाले बुझ्ने हामीसँग क्षमता छ कि छैन भन्ने प्रश्न हो ।

कसैले आफ्नो नजिकको आफन्त अथवा आफ्नो साथीभाइले कुनै कुरा शेयर गर्‍यो भने त्यसलाई विश्वास गर्ने, फैलाउने गरेको देखिन्छ । यस्तै किसिमको प्रवृत्तिलाई राजनीतिकर्मी तथा नेताहरूले समेत प्रयोग गर्दछन् । पछिल्लो समय हामीले फेसबुकबाट निकै धेरै राजनीतिक विज्ञापनहरू भइरहेको देखेका छौँ । 

उम्मेदवारहरूले फेसबुकलाई पैसा तिरेर आफ्नो प्रचारप्रसार गरिरहेका छन् । उनीहरू त्यसको माध्यमबाट बढी भन्दा बढी मतदातासम्म  पुग्न चाहन्छन् । आफ्ना एजेन्डा बढी बिकाउन खोज्छन् । किनभने हिजो जस्तो घरघर गएर  भाषण गर्ने, प्रचारप्रसार गर्ने कुरा अहिले सहज छैन ।

अहिले चोकचोकमा हेर्ने हो भने १५ देखि २० जना भन्दा बढी मान्छे उम्मेदवारको पछि लागेको देखिँदैन । त्यसैकारण, अहिले धेरै मानिसहरूकोमा पुग्ने माध्यम भनेको सामाजिक सञ्जाल र सञ्चार माध्यम नै हो । पछिल्लो समय इन्टरनेटमार्फत सूचनाहरू तीव्र गतिमा फैलिरहेका छन् ।

तर त्यस्ता सूचनाको परख वा परीक्षण गर्ने कुरामा पर्याप्त ध्यान नदिँदा गलत तथा मिथ्या सूचनाहरू समेत फैलिरहेका छन् । यसकारण हाम्रो वातावरण खल्बलिएको छ । प्रदुषित भएको छ । त्यसलाई सफा तुल्याउन जरुरी छ ।


डिजिटल साक्षरता अभाव

सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा आउने समाचार तथा सूचना विश्लेषण गर्ने, सही गलत छुट्याउने, कुन विश्वशनिय हो, कुन होइन भन्ने केलाउने क्षमता हुनु नै डिजिटल साक्षरता हो । पछिल्लो समय प्रचलनमा आएका प्लेटफर्ममा समय समयमा नयाँनयाँ किसिमका फिचरहरू आइरहेका हुन्छन् ।

पाँच वर्ष अगाडि चलाउने फेसबुक, ट्वीटर आज छैन । यस किसिमका प्लेटफर्मले नयाँ नयाँ किसिममा एल्गोरीदमको ट्रेन्ड ल्याइरहेका हुन्छन् । यस किसिमका फिचरहरू ल्याउन उनीहरू बीच प्रतिस्पर्धा नै हुने गरेको छ । त्यसले गर्दा डिजिटल साक्षरता एउटा अर्को महत्त्वपूर्ण चुनौतीको रुपमा आइरहेको छ ।

भ्रामक सूचना फैलाउन भिडिओ क्लिपहरू एकदमै ठूलो हतियार बनिदिन सक्छन् ।

हामीले पछिल्लो समयमा टिकटक चलाइरहेका छौ । सबै भन्दा बढी सूचनाहरू त्यसैमा शेयर गरिरहेका छौँ । कहीँ घुम्न जादाँको फोटो होस् वा कोही साथी भाइ भेट्न जाँदा होस्, विविध सामग्रीहरू शेयर गरिरहेका हुन्छौँ । परिवारको फोटो सार्वजनिक भइरहेको हुन्छ, जुन निजी कुरा हो । फेसबुकमा राखेपछि त्यो उसैको सम्पति जस्तो हुन्छ ।

त्यो उसको डेटामा बन्छ । त्यसपछि उक्त फोटो तपाईँको नियन्त्रणमा हुँदैन । तपाईँले सामाजिक सञ्जालमा राखेको आफ्नो तस्वीर वा सामग्री भोलि तपाईँकै विरुद्द प्रयोग हुन सक्छ । त्यो कुरा हामीले सोचेका हुँदैनौँ । उदाहरणका लागि: भोलि कुनै सेलिब्रेटी वा कुनै व्यक्तिको निधन भयो भने भोलिपल्ट सबै तस्वीरह तपाईँको सामाजिक सञ्जालमा आउँछन् ।

कति बालबालिकासँग सम्बन्धित हुन सक्छन् भने कुनै परिवारिक हुने गर्छन् । सार्वजनिक नहोस् भनेर राखिएका तस्वीर पनि यसरी सामाजिक सञ्जालमा छरपस्ट भइदिन्छन् । यो सबै डिजिटल साक्षरताकै अभावका कारण निम्तिने गरेको हुन्छ । त्यसैले डिजिटल लिटरेसी र मिडिया लिटरेसीको कुरा स्कुल तहबाटै दिनुपर्ने हुन्छ । 

सामाजिक सञ्जालमा देखेको कुरा सही हो वा गलत कसरी चेकजाँच गर्ने ?

अहिलेको युवापुस्ताहरूले डिजिटल प्लेटफर्मको हरेक दिन प्रयोग गर्ने गर्दछन् । उनीहरूले त्यसको फाइदा लिइरहेका छन् । त्यसको अर्को पक्ष पनि हामीले बुझाउनु पर्ने हुन्छ । यो भनेको एकछिन रमाइलोका लागि भिडिओ पोस्ट गर्ने विषय मात्र होइन ।

ठूला ठूला प्रविधि कम्पनीहरूले हाम्रो डेटा लिन्छन् र त्यो डेटा नै उनीहरूको व्यापार हो भन्ने कुरा प्रयोगकर्तालाई बुझाउन जरुरी छ । सामान्यतया फोटोबाट गलत सूचना फैलिन्छ । किन भने फोटो एकदमै सजिलो हुन्छ । त्यसले एउटा सन्देश दिइरहेको हुन्छ वा केही कुरा देखाइरहेको हुन्छ ।

त्यसलाई शेयर गर्न पनि सजिलो छ । तपाईँ आफै फेसबुकमा स्टाटस लेख्नुहोस् र फोटो पोस्ट गर्नुहोस् । फोटोमा धेरै लाइक आउँछ । फोटोलाई मानिसहरूले त्यो रुपमा लिन्छन् । फोटो एउटा त्यस्तो माध्यम हो जसको बढी भन्दा बढी लाइक, कमेन्ट र शेयर हुन्छ । तर फोटो मात्रैले पूर्ण सूचना दिँदैन ।

त्यसका लागि क्याप्सन चाहिन्छ । त्यो कहाँको हो, कहिले भएको घटना हो, कसले खिचेको हो, त्यसमा के देखाइएको छ र त्यो किन अहिले शेयर गरिँदैछ भन्ने प्रश्नहरूको जवाफ आउनुपर्छ । यस किसिमका भ्रामक सूचनाहरूबाट बच्नका लागि तपाईँको सामाजिक सञ्जालको न्युज फिडमा कुनै पनि कुरा देखिन्छ भने त्यसलाई शेयर गर्न हतार नगरौँ ।

सुरुमा आफूले आफूलाई रोकौँ । नत्र हामी यदि त्यो गलत रहेछ भने त्यसको भागिदार हुन्छौँ । त्यो तपाईँलाई तत्कालका लागि मन छुने किसिमको हुन्छ, त्यस्ता फोटोहरू एकदमै चाखलाग्दा हुन्छन् । उनीहरूको उद्देश्य नै त्यसलाई धेरैभन्दा धेरै माझ फैलाउनु हुन्छ । हामीले पत्रकारितामा हामीले जुन ‘फाइभ डब्लू एच’ अर्थात ‘छ क’ (के, किन, कहाँ, कसरी, कहिले, कसले जस्ता विषयलाई ) भन्छौँ, त्यसको जवाफ खोजौँ ।

अर्को कुरा कतैबाट हाम्रो फिडमा समाचार तथा लिङ्क आएको छ भने त्यसको स्रोत के हो, त्यो विश्वसनीय स्रोतबाट आएको छ कि छैन ? त्यो विश्वसनीय मिडिया हो कि होइन ? यस्ता कुरामा विचार गरौँ । कहिलेकाहीँ हामीले ध्यान दिएर नहेर्ने भएकाले गलत तथा भ्रामक सूचना फैलाउनुमा हामी आफू समेत दोषी भइरहेका हुन्छौँ ।

त्यो कसरी हुन्छ भने कुनै लिङ्क आउँछ, झट्ट हेर्दा त्यो आधिकारिक मिडियाकै जस्तो लाग्छ । तर त्यो आधिकारिक नहुन पनि सक्छ । अर्को कुरा हामीले त्यसको मिति पनि हेरेका हुँदैनौँ । कहिले काहीँ तीन चार वर्ष पुराना समाचार हुन्छन्, त्यसलाई अहिले कसैले शेयर गर्‍यो भने हालसालैको घटना हो कि भन्ने पर्न जान्छ । 

पहिले फलानो पत्रिकामा समाचार पढेको भन्ने गरिन्थ्यो, अहिले फेसबुकमा पढेको भनेको सुनिन्छ । समाचार फेसबुकले होइन, मिडियाले नै तयार पार्ने हो । त्यसैले सामाजिक सञ्जालमा आउने समाचारहरू विश्वसनीय मिडियाले राखेको हो कि होइन भन्ने कुरामा विचार गर्नुपर्ने हन्छ ।

मानौँ प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राजीनामा भनेर तपाईँले कुनै समाचार पढ्नु भयो भने त्यो उहाँको अघिल्लो कार्यकालको राजीनामाको विषय पनि हुनसक्छ । त्यसैले अब हरेक सामाजिक सञ्जाल प्रयोगकर्ताले पत्रकारले जसरी सोच्न जरुरी छ ।

पत्रकारको आधारभूत चरित्र भनेको शङ्का गर्ने हो । कुनै कुरालाई सजिलै नपत्याउने र त्यसलाई पुष्टि गर्नतर्फ लाग्नु हरेक पत्रकारको धर्म हो । अङ्ग्रेजीमा ‘इट लिड्स, ह्वेयर इट ब्लिड्स’ भन्ने एउटा भनाई छ । यो भनेको जहाँ काटमार भएको छ वा रक्तपात भएको छ, त्यो चाहिँ समाचारमा अगाडि आउँछ भन्ने हो ।

नराम्रा खबरहरू एकदमै चाँडो फैलिन्छ । किन भने त्यसमा मानिसहरूको चासो धेरै हुन्छ । अपराधका समाचारहरूले मानिसहरूलाई एकदमै उत्सुक बनाउँछ । तर अर्को कुरा के छ भने यस्ता झुटपूर्ण र फेक न्युजहरू जसले उत्पादन गर्छन्, उनीहरूको उद्देश्य पनि त्यसलाई छिटोभन्दा छिटो फैलिने किसिमले तयार पार्छन् । सनसनीपूर्ण बनाउने, मानिसहरूको भावनालाई छुने कुरामा केन्द्रित हुन्छन् । 

यदि तपाईँ कुनै पनि फोटो वा भिडिओ हेर्नुहुन्छ भने त्यसक्रममा आफूमा उत्पन्न भावनालाई नियाल्नुहोस् । त्यसले तपाईँमा कस्तो प्रकारको भावना जगाइरहेको छ । यदि तपाईँलाई एकदमै रिसाउने, उत्साहित बनाउने, भावनालाई छुने वा उत्तेजित बनाउने किसिमको कुनै फोटो तथा भिडिओ छ भने अझ बढी सतर्क हुन जरुरी छ । 

भावनामा मानिसहरू चाँडै बहकिन्छन् भन्ने कुरा थाहा पाएरै यस किसिमका भ्रामक तथा झुटा सूचनाहरू उत्पादन गरिन्छ । यदि तपाईँले सामाजिक सञ्जालमा कुनै फोटो देख्नु भयो र तपाईँलाई शङ्का लाग्यो भने सुरुमा उक्त फोटोलाई डाउनलोड गर्नुहोस् वा स्क्रिन शट लिनुहोस् । गुगलको इमेज सर्चमा गएर त्यसलाई अपलोड गर्नुहोस् ।

यदि उक्त फोटो पहिले नै प्रकाशित भइसकेको छ भने गुगलले त्यसको जानकारी दिन्छ । यदि कसैले त्यस्तो फोटोलाई लिएर अहिलेकै घटना हो भनेर दाबी गरिरहेको छ भने पहिलेकै रहेछ भन्ने कुरा थाहा हुन्छ । अर्को कुरा त्यो सूचना तथा समाचार सामग्री दिने मिडिया विश्वसनीय हो कि होइन भन्ने कुरा पनि विचार पुर्‍याउनुहोस् । प्रकाशित भएको मिति हेर्नुहोस् । 

कुनै समाचार तथा जानकारी सही हो वा गलत भन्ने कुराका लागि सबैभन्दा उपयुक्त र सजिलो उपाय भनेको गुगल सर्च नै हो । यदि तपाईँले कुनै स्टाटस, समाचार वा हेडलाइन देख्नु भयो भने त्यसको शब्दलाई गुगलमा राखेर सर्च गर्नुहोस् । त्यस विषयमा अरुले के भनिरहेका छन्, त्यो कुरा पनि हेरौँ ।

सम्बन्धित विषयमा अन्य सञ्चार माध्यमले कुनै सामग्री प्रकाशन गरेका छन् कि छैनन्, त्यसले पनि तपाईँलाई एउटा ठाउँमा पुर्‍याउँछ । त्यसैले भ्रामक तथा झुटा सूचना तथा समाचारबाट जोगिनका लागि एकदमै जिज्ञासु स्वभाव तपाईँमा हुन जरुरी छ । यदि तपाईँको अगाडि कुनै समाचार वा सूचना छ भने त्यसमा कमेन्ट वा शेयर गर्नु अघि त्यसबाट बाहिर गएर अर्को विन्डो खोल्नुहोस् ।

त्यो गुगल वा अन्य कुनै सर्च इन्जिन हुन सक्छ । त्यहाँ गएर त्यसको बारेमा आफैँ खोजी गर्नुहोस् । यदि तपाईँले फेसबुक चलाइरहनु भएको छ भने गुगल प्रयोग गर्नु कुनै ठूलो कुरा होइन । त्यसैले यस्ता कुरालाई हामीले आफ्नो बानीको रुपमा विकास गर्नुपर्ने हुन्छ । 

हिजो जस्तो घरघर गएर  भाषण गर्ने, प्रचारप्रसार गर्ने कुरा अहिले सहज छैन । अहिले चोकचोकमा हेर्ने हो भने १५ देखि २० जना भन्दा बढी मान्छे उम्मेदवारको पछि लागेको देखिँदैन । त्यसैकारण, अहिले धेरै मानिसहरूकोमा पुग्ने माध्यम भनेको सामाजिक सञ्जाल र सञ्चार माध्यम नै हो ।

उदाहरणको लागि विमान दुर्घटना भएको खबर अहिले भाइरल भइरहेको छ भने त्यो विषयमा नेपालका विश्वसनीय मिडियाहरूले के भनिरहेका छन्, यदि त्यो खबर साँचो हो भने पक्कै पनि उनीहरूले पनि समाचार छापेको हुनुपर्छ । यदि अरुले उक्त समाचार प्रकाशित गरेका छैनन् भने त्यस्तो समाचार तत्काल शेयर गर्न हतार नगरौँ । किन भने त्यो गलत पनि हुनसक्छ । 

पत्रकारले तपाईँका लागि काम गर्न खोज्छन् र पुष्टि गर्नेतर्फ लाग्छन् । सायद ती पत्रकारले फोन लगाइरहेका होलान् वा सम्बन्धित व्यक्तिले उनीहरूको फोन नउठाइरहेको होला । त्यो समय उनीहरूलाई दिउँ, कुरौँ । हतार नगरौँ । किन भने उपभोक्ता नै बढी हतारिँदा भ्रम बढी फैलिने गर्दछन् । 

समाचार फेसबुकमा पढेको !

यस्ता कुराहरूमा अभ्यास गर्दै हरेक सामाजिक सञ्जाल प्रयोगकर्ताले आफूलाई अभ्यस्त तुल्याउँदै लैजानुपर्ने हुन्छ । पहिला पहिला कुनै समाचार पढ्दा गोरखापत्रमा छापिएको थियो भनिन्थ्यो । विस्तारै अन्य मिडियाहरू पनि आएपछि त्यसैगरी सम्बन्धित मिडियाको नाम लिन थाले । तर अहिले धेरै जसोले कहाँ पढेको भन्दा फेसबुकमा भन्ने गर्छन् ।

यसमा मिडिया लिटरेसी अर्थात् सञ्चार साक्षरताको कुरा आउँछ । हामीले के बुझ्नुपर्छ भन्दाखेरि फेसबुक, ट्वीटर, टिकटक, युट्युव जस्ता सामाजिक सञ्जाल केवल माध्यम मात्रै हुन् । यी आफैमा मिडिया कम्पनी होइनन् र कुनै समाचार सामग्री तयार पार्दैनन् । त्यसैले कुनै भ्रामक समाचार तथा सूचनाका लागि जवाफदेही पनि हुँदैनन् ।

यी त केबल व्यवसायका लागि प्रयोगमा आएका एप मात्रै हुन् । सञ्चार माध्यम र सामाजिक सञ्जालबीचको यो आधारभूत भिन्नता हामीले बुझ्न जरुरी छ । सञ्चार माध्यमले प्रकाशित गरेका समाचार सामग्री धेरैभन्दा धेरै पाठकहरूसम्म पुगोस् भनेर मात्रै सामाजिक सञ्जालमा शेयर गरिने हो । 

प्रयोगकर्ताको धेरैभन्दा धेरै समय आफ्नो एपमा बिताउन लगाउने सामाजिक सञ्जालहरूको अभिष्ट पनि छ । किन भने जतिधेरै प्रयोगकर्तालाई उनीहरूले आफ्नो एपको लतमा फसाउँछन्, उनीहरूलाई त्यति नै धेरै नाफा हुन्छ । एक किसिमले भन्ने हो भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच नै प्रतिस्पर्धाको स्थिति पैदा गरिदिन्छन् । 

गलत र भ्रामक सूचनाको जोखिम

आफूले पढेको समाचारकै आधारमा हामीले सम्बन्धित विषयमा आफ्नो विचार बनाइरहेका हुन्छौँ । विभिन्न निर्णयहरू लिइरहेका हुन्छौँ । तपाईँले भोट हाल्ने भनेको तपाईँको एउटा निर्णय पनि हो । तपाईँले कुन दल, कस्तो मान्छेलाई भोट हाल्ने, कस्तो उम्मेदवार छान्ने भन्ने त्यो तपाइको निर्णय हो ।

त्यो निर्णय आफूले दैनिक पढ्ने समाचार होस् या आफ्नो छिमेकी अथवा साथीभाइसँग गर्ने छलफल होस्, अध्ययन गरेर वा अनुभव गरेर यो उम्मेदवार सही छ भन्ने तपाईँको निष्कर्ष हुन्छ ।  त्यसैगरी, सामाजिक सञ्जाल  अथवा कुनै पनि सूचनाको उपभोग गर्दा त्यसैलाई हामीले आफ्नो निर्णयको आधार बनाइरहेका हुन्छौँ ।

जब गलत वा भ्रामक सूचना कुनै व्यक्तिसम्म आइपुग्छ र त्यसको आधारमा निर्णय हुन्छ भने त्यो निर्णय पनि गलत हुन जान्छ ।  उदाहरणका लागि कोभिड सम्बन्धी कसैले कुनै गलत सूचना दियो । त्यो सूचनाको आधारमा तपाईँले कुनै औषधी प्रयोग गर्नु भयो । त्यसले तपाईँको स्वास्थ्यमा नै नकारात्मक असर गर्न सक्छ ।

त्यसैले तपाईँले सत्यतथ्य जाँच नगरी, सत्यापन नगरी कुनै निष्कर्षमा पुग्नु भयो भने तपाईँको सोचाइ र निर्णय दुवै गलत हुन्छ । यस किसिमको कुरा लोकतन्त्रका लागि नै हानिकारक हुन्छ । किनभने लोकतन्त्रका लागि सूचनाको प्रसारण सही तरिकाले हुनु पर्छ । सही सूचना सम्प्रेषण हुनुपर्छ ।

कुनै पनि व्यक्तिले दुष्प्रचार गर्‍यो, अफवाह फैलायो, गलत सूचना फैलायो भने त्यस्तो सूचनाका आधारमा धेरै मानिसहरूले गलत भन्दा गलत धारणा बनाउन सक्छन् र गलत किसिमको निर्णय लिन सक्छन् ।  नतिजास्वरूप गलत किसिमका मान्छेको पछि लाग्ने, गलत नीति पछ्याउने, गलत उम्मेदवार छान्ने काम हुनसक्छ । त्यसले गर्दा  अन्ततः लोकतन्त्रलाई नै हानी पुर्‍याउन सक्छ । 

यस्ता गलत तथा भ्रामक सूचनालाई दुई समूहमा वर्गीकरण गर्ने गरिएको छ । यदि कसैलाई कुनै किसिमको हानी पुर्‍याउन नभई कुनै सूचना सही हो जस्तो लागेर फैलाइन्छ भने त्यो मिस इन्फर्मेसन हो । त्यस्तै नियतबस जानीजानी गलत सूचना फैलाएर कसैलाई हानी पुर्‍याउन खोजिन्छ भने त्यो डिसइन्फर्मेसन हो ।

राजनीतिक दलले प्रोपोगान्डाका लागि फैलाउने अफवाह तथा भ्रामक सामग्रीहरू डिस-इन्फर्मेसनमा पर्छन् । समाजमा रहेका प्रतिष्ठित व्यक्तित्वहरूले पनि त्यस किसिमका सूचनाहरू फैलाइरहेका हुन्छन् । हामीले झट्ट हेर्दा अन्जानमा गरेको जस्तो देखिएपनि त्यसमा उसको गलत नियत पनि हुनसक्छ । 

अहिले त झन् चुनावको बेला छ । यस्तो समयमा गलत तथा भ्रामक सूचना अझ धेरै फैलिने गर्दछन् । जसले मतदान प्रक्रिया र लोकतन्त्रलाई नै प्रभावित पार्न सक्छन् । फिलिपिन्समा हालसालै भएको चुनावमा दिवंगत तानाशाह फर्डिनेन मार्कोसका छोरा विजयी भए । भ्रामक सूचना फैलाएकै कारण उनी सत्तामा आएको चर्चा चलिरहेको छ ।

कुनै सूचना ग्रहण गर्नु अघि त्यसलाई परख गर्ने, त्यो सूचना सही हो कि होइन छुट्याउने र त्यसलाई सही तरिकाले बुझ्ने हामीसँग क्षमता धेरैमा छैन । आफ्नो नजिकको मान्छेले कुनै कुरा शेयर गर्‍यो भने त्यसै पत्याएर फैलाउनतिर लाग्छौँ ।

नेपालमा पनि अहिले धेरैभन्दा धेरै मानिसहरूले सामाजिक सञ्जाल प्रयोग गरिरहेका कारण उम्मेदवारले पनि आफ्नो एजेन्डाहरू फैलाउन, आफ्नो कुरा राख्न सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । त्यसले यस्ता विषयमा निगरानी गर्न एकदमै जरुरी छ ।त्यसैले समाचार फेसबुकमा पढेको भन्ने होइन कि त्यसभन्दा एक कदम अगाडि बढेर त्यो समाचार विश्वसनीय मिडियाले तयार पारेको हो कि होइन मनन गर्नुपर्ने हुन्छ ।

उदाहरणका लागि टेकपानाका समाचार पनि फेसबुकमा शेयर भइरहेका हुन्छन् । एउटा व्यवसायिक सञ्चार माध्यम भएकाले यसमा समाचारमा म विश्वास गर्न सक्छु । त्यसैगरी तपाईँले आफ्नो सर्कलमा पनि कसले सही समाचार दिन्छ र कसले गलत लेख्छ भन्ने कुरा नियाल्नुहोस् ।

कसैले पटक पटक भ्रम फैलाइरहेको छ भने त्यस्तो व्यक्तिमाथि विश्वास नगर्नुहोस् । समाचारका हरेक उपभोक्ताले आफ्नो दिमाग पनि खियाउनु पर्ने हुन्छ । आफ्नो अगाडि जे छ त्यसलाई तत्कालै जस्ताको तस्तै आँखा चिम्लेर विश्वास गर्नु हुँदैन । 

रुटिन अफ नेपाल बन्द जस्ता फेसबुक पेजहरूले कुनै विषयमा सूचित त गराउन सक्छन् तर राम्रोसँग सूचित गराउन भने सक्दैनन् । पूर्ण रुपमा सूचित गराउने काम मिडियाकै हो ।

स्रोतसँग पुष्टि गरेर सन्दर्भ सहितको पूर्ण समाचार दिने जिम्मेवारी पत्रकारहरूको हो । उनीहरूले नै जटिल विषयलाई सरल रुपमा बुझाउन सक्छन् । सञ्चार माध्यमको विश्वसनीयता पनि त्यसैमा टिकेको छ । 

भिडिओ क्लिपले झुक्याउन सक्छ

डिप फेक अलि परको कुरा हो । भिडिओमा मान्छेले अलि चाँडै विश्वास गर्छन् । किन भने सबै घटनाक्रम आँखै अगाडि भइरहेको जस्तो देखिन्छ । तर भिडिओ सामग्रीमा पनि सजिलै विश्वास गरिहाल्नु हुँदैन । रिभर्स अर्थात उल्टो पारेर झुक्याउने गरेको पनि यदाकदा देखिन्छ ।

अझ त्यसभन्दा पनि खतरनाक कुरा के छ भने सन्दर्भभन्दा बाहिर लगेर भिडिओको कुनै क्लिप वा अंश मात्रै राखिएको छ र त्यसभन्दा अगाडि के भनिएको थियो, त्यसभन्दा पछाडि के थियो, त्यो भनाई कुन सन्दर्भमा आएको थियो भन्ने कुराको पूर्ण सामग्री नदिने हो भने भ्रामक सूचना फैलाउनका लागि त्यो एकदमै ठूलो हतियार बन्न सक्छ ।

कुनै पनि भिडिओको तथ्य जाँच गर्दा त्यसको पूर्ण भाग चाहिन्छ । त्यो नभइकन वास्तविकता के हो भन्ने कुरा यकिन गर्न कठिन हुन्छ । कुनै व्यक्तिले एक घण्टा भाषण गरेको हुनसक्छ । त्यसको २० सेकेन्डको एउटा क्लिप मात्रै शेयर गर्दा स्पष्ट सूचना प्राप्त हुँदैन ।

त्यही छोटो भिडिओ क्लिपकै आधारमा यसो भनिएको थियो भनेर अपूर्ण सूचना फैलाउने समस्या नेपालमा एकदमै धेरै छ । नेपालका चर्चित नेताहरूको हकमा यस्तो गतिविधि थुप्रै पटक भएको छ । अहिले हरेक व्यक्तिको हातमा मोबाइल छ । जसले हरेकलाई कण्टेन्ट क्रियटर बनाएको छ ।

जोसुकैले कुनै पनि कुराको भिडिओ खिचेर सामाजिक सञ्जालमा राखिदिन सक्छ । त्यस्तो व्यक्तिको नियत नै दुष्प्रचार गर्ने छ भने सजिलै भ्रम फैलाउन सक्छ ।

(लेखक अधिकारी साउथ एसिया चेकका सम्पादक समेत हुन् )