close

नबिल बैंकका ग्राहकले गुगल पे र पेटीएम चलाउन पाउने, भारत जाँदा ईसेवा-खल्तीबाटै भुक्तानी

टेकपाना टेकपाना

बैशाख २८, २०७९ १५:३४

नबिल बैंकका ग्राहकले गुगल पे र पेटीएम चलाउन पाउने, भारत जाँदा ईसेवा-खल्तीबाटै भुक्तानी

काठमाडौं । नबिल बैंकले मोबाइलमा आधारित रियल-टाइम भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) को स्वीकृति प्रदान गर्न गेटवे पेमेन्ट सर्भिस प्रालिसँग साझेदारी गरेको छ ।

यूपीआई अन्तरबैंक र सीमापारी लेनदेनको सुविधाका लागि भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा विकसित एक रियल-टाइम भुक्तानी प्रणाली हो ।

गेटवे पेमेन्ट सर्भिस प्रालिले तीन महिनाअघि मात्र नेपालमा यो प्रणाली भित्र्याएकाे थियो । योसँगै नेपाल र भारतका विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकबीच अन्तरआवद्ध भुक्तानी सञ्जाल सञ्चालनमा आउने बाटो खुलेको छ ।

प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयलाई दुवै देशका पसल र व्यापारी पसलहरूमा यूपीआई आधारित मोबाइल एप र डिजिटल वालेट प्रयोग गरेर निर्वाध रूपमा आफ्नो खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउने जनाइएकाे छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले साे साझेदारी सम्झौतामा हस्ताक्षर गरे ।

यो साझेदारीसँगै नबिल बैंककाे मोबाइल बैंकिङ एपबाट भारतका व्यापारी स्टोरहरूमा क्यूआर कोडमार्फत स्क्यान गरी भुक्तानी गर्न सकिने जनाइएकाे छ ।

साथै युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनमा आएसँगै ईसेवा, खल्ती, आईएमई पेजस्ता डिजिटल वालेटबाट भारतका स्टोरहरुमा क्यूआर भुक्तानी गर्ने बाटो पनि खुलेको छ ।

त्यसैगरी, नबिल यूपीआई क्यूआरसँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे, पेटीएम लगायत यूपीआई आधारित मोबाइल एप प्रयोग गरेर भारतीय पर्यटकबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२