close

यस्तो थियो आईपडको २१ वर्षे यात्रा

टेकपाना टेकपाना

बैशाख २८, २०७९ १७:३२

यस्तो थियो आईपडको २१ वर्षे यात्रा

काठमाडौं । आजभन्दा २१ वर्ष अगाडि तपाईंलाई आफूले मन परेको गीत सुन्नपर्‍यो भने के गर्नुहुन्थ्यो ? पक्कै रेडियोमा आफ्नो मनपर्ने कार्यक्रम पर्खेर बस्नुहुन्थ्यो । टिभी हेर्नुहुन्थ्यो वा सीडी, डीभीडी अथवा क्यासेट टेपमा गीत भरेर सुन्ने गर्नुहुन्थ्यो होला ।

यो प्रवित्ति हाम्रोमात्र होइन, विश्वभरी नै यस्तै अभ्यास थियो । यही प्रवित्तिमा एउटा क्रान्ति ल्याउँदै २१ वर्षअगाडि २००१ मा एप्पलले म्युजिक प्लेयर आईपड सार्वजनिक गरेको थियो ।

स्टोरेजको विषयमा त्यति धेरै ज्ञान नै नभएको बेला एप्पलका संस्थापक एवं सीईओ स्टिभ जब्सले ५ जीबी स्टोरेजमा हजार वटा गीत राखेर सुन्न मिल्ने आइपड सार्वजनिक गरेका थिए ।

आईपडमा मानिसहरूले आफूलाई मनपर्ने गीत बिना कुनै रोकताेक कुनै पनि बेला आरामले सुन्न सक्ने सुविधा दियो । मानिसहरूले गीत सुन्ने प्रवित्तिलाई परिवर्तन गर्दै सार्वजनिक भएको केही समयभित्र नै आईपड प्रयोगकर्तामाझ लोकप्रिय हुन पुग्यो ।

हुन त नेपालमा यसले त्यति धेरै लोकप्रियता पाएन । यद्यपि अन्तर्राष्ट्रिय बजारमा भने गीत सुन्ने एउटा नयाँ बानीको रुपमा यो विकसित भएर आयो । समयसँगै आजसम्म आइपुग्दा आईपडमा धेरै परिवर्तन आयाे ।

एप्पलले अब भने आईपड उत्पादनलाई पूर्णविराम लगाएकाे छ । अब आईपड उत्पादन नगर्ने भन्दै कम्पनीले आधिकारिक रुपमा घोषणा गरेको छ ।

यस्तो थियो आईपडको २१ वर्षे यात्रा 

आईपड फोटो: २००४ 

सन् २००१ मा मानिसकाे गीत सुन्ने प्रवित्तिलाई परिवर्तन गरेको आईपड सन् २००४ मा आइपुग्दा केही परिवर्तन भएर आयो । परिवर्तित नेभिगेशन बटनसहित आईपड पहिलोपटक कलर स्क्रिनमा सार्वजनिक भयो ।

त्योसँगै स्क्रिनमा गीतको एल्बमको फोटो पनि हेर्न मिल्ने सुविधा थपियो । यही वर्षदेखि एप्पलले आईपड मिनी पनि सार्वजनिक गर्‍यो । आईपड मिनी पाँचओटा मेटालिक रङमा उपलब्ध थियो; निलो, गुलाबी, सिल्भर, हरियो र गोल्ड ।

त्यति मात्र होइन, यसको स्टोरेज क्षमता पनि ५ जीबीबाट ६ जीबीमा पुग्याे । 

आईपड नानो: २००५ 

सन् २००४ मा नै फरक डिजाइनमा आएको आईपड २००५ मा आएर झन् धेरै परिवर्तन भयो । आईपड नानोको रुपमा सार्वजनिक भएको यो डिभाइस थप पातलो भएर आ‍यो । यसले गर्दा आईपड सहज रुपमा गोजीमा नै अटाउने भयो ।

यसपश्चात अन्य डिभाइसहरू पनि स्लिम डिजाइनमा सार्वजनिक भए । योसँगै सोही वर्षदेखि आईपडमा ‘सफल’ फिचर अर्थात जुन मन लाग्यो, त्यही गीत बज्ने सुविधा पनि थपियो ।

योभन्दा अगाडि एकपछि अर्को गर्दै सूचीको लहरमा भएको गीत बज्ने गर्थ्यो । तर यो फिचरसँगै तपाईंको मोबाइलमा भएका गीत एकपछि अर्को नभई जुन पनि बज्नसक्ने सुविधा आईपडमा थपियो । 

आईपड सफल सेकेण्ड जेनेरेशन: २००६

आईपड सफलको पहिलो संस्करणपछि २००६ मा फरक डिजाइन र साइजसहित आईपड सफलको सेकेण्ड जेनेरेशन सार्वजनिक भयो ।

यो पहिलेभन्दा सानो साइजमा सार्वजनिक भएको थियो भने यसमा क्लिप थियो, जसको सहायतामा तपाईं आईपड गोजीमा राख्न मात्र होइन, गोजीमा, बेल्टमा, सर्टमा, झुण्ड्याउन पनि सक्नुहुन्थ्यो । 

आईपड क्लासिक : २००७ 

यसपछि सन् २००७ मा आईपडको क्लासिक मोडल सार्वजनिक भयो, जसमा १६० जीबी स्टोरेज उपलब्ध थियो । अर्थात् सो आईपडमा करिब ४०,००० गीत अटाउन सक्थ्यो ।

त्यस्तै कम्पनीले आईपडमा पनि टच स्क्रिनको सुविधा उपलब्ध गरायो । टच स्क्रिनको सुविधासँगै आईपड करिब आईफोनजस्तै सुविधा सम्पन्न भइसकेको थियो । फरक यति मात्र थियो कि, आईपडमा फोन गर्न मिल्दैन थियो ।

यसपश्चात पनि यस्तै साना साना परिवर्तनहरू सहित एप्पलले आईपड सन् २०१४ सम्म बजारमा बिक्रि गरिरह्यो । यद्यपि २०१४ देखि भने कम्पनीले आईपडको उत्पादन तथा विक्रि रोक्यो ।

यद्यपि सन् २०१९ मा एप्पलले पुन: आईपड टच ७ मिनी सार्वजनिक गरेर यसका प्रयोगकर्ताहरूलाई सरप्राइज दिएको थियो । आइपडको पछिल्लो नयाँ संस्करण नै यही हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२