close

डिजिटल ‘दले दाइ’, जसले अनलाइनबाटै गराउँछ घरजग्गाको खरिद-बिक्री

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख २८, २०७९ १८:२७

डिजिटल ‘दले दाइ’, जसले अनलाइनबाटै गराउँछ घरजग्गाको खरिद-बिक्री

काठमाडौं । शिक्षित व्यक्तिमा हरेक पुराना परम्परा र प्रयासलाई आफूले जानेको सीपका माध्यमबाट समयको माग अनुरूप परिमार्जित गर्दै लैजानसक्ने गहन विचार गाडिएर बसेको हुन्छ । त्यस्ता विचार तब मात्र सफल हुन्छन्, जब नयाँसँगै पुरानाे पुस्ताले पनि स्वागत गर्न लायक बन्छन् ।

हाम्रो देशमा अहिले पनि आफ्नो घरजग्गा बेच्न वा किन्न, कोठा भाडामा लिन वा दिनुपर्‍यो भने कोही मध्यस्थकर्तालाई केही प्रतिशत कमिसन दिएर कारोबार गर्ने परिपाटी छ । त्यही पुरानो शैलीबाट परिचालित घरजग्गा किनबेच पद्धतिलाई डिजिटल स्वरूप दिने प्रयासमा जुटेका छन्, मिरज ढुङ्गाना ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड ईकमर्सबाट उनले सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेका छन् । उनै ढुंगानाले परिकल्पना गरेको डिजिटल ‘दले दाइ’को अवधारणामा पार्टनरका रूपमा साथ दिन आए, वेब डेभलपर उत्सव नेपाल । यी दुई रियल स्टेट व्यवसायलाई डिजिटल प्रणालीबाट अगाडि बढाउन लागिपरेका छन् ।

के हो ‘दले दाइ’?

कलेज पढ्दाखेरि उनले देशमै केही गर्ने अठोट लिएका थिए । केही नयाँ काम गर्नेभन्दा पनि नयाँ शैलीबाट काम गर्ने कुरालाई प्राथमिकता राखे ।

‘मलाई नयाँ काम गर्नेभन्दा नयाँ शैलीले काम गर्ने विचार उपयुक्त लाग्याे । हाम्रा कतिपय त्यस्ता प्रवृत्ति छन्, जसलाई प्रविधि प्रयोग गरी नयाँ स्वरूप दिन आवश्यक छ,’ विगत सम्झिँदै उनले भने, ‘मेरी आमाले काठमाडौंमा घर बेच्दा निकै संघर्ष गर्नुपर्‍यो । सबैभन्दा पहिले किन्ने मान्छे पाउनै गाह्रो । पाइसकेपछि घर जग्गाको मूल्य मिल्न गाह्रो । त्यही कुरा मनमा बिझेर बसिरहेको थियो । त्यसैले आवश्यक परेको बेला कसैलाई पनि घरजग्गा किनबेच गर्दा सकस नपरोस् भनेर ‘दले दाइ’को परिकल्पना गरेँ ।‘

कोभिड महामारीमा भएको पहिलो लकडाउनको समयमा खाली बस्नुभन्दा आफूले कल्पना गरेको कुरा अस्तित्वमा ल्याउन ‘दले दाइ’ निर्माणमा जुटे ।

‘आधिकारिक रूपमा २०२१ बाट सुरुवात भएको ‘दले दाइ’ एउटा यस्तो माध्यम हो, जसबाट घरजग्गासँग सम्बन्धित विभिन्न काम गर्न सकिन्छ,’ उनले सुनाए ।

नामसँग जोडिएको संयोग

‘दले दाइ’ नाम रियालिटी शाे ‘कमेडी च्याम्पियन’ को पहिलो सिजनका प्रतिस्पर्धी सुमन कोइरालाले गरेको पर्फमेन्सपछि धेरै लोकप्रिय बनेको थियो ।

झट्ट हेर्दा यो नाम त्यहीँबाट प्रभावित भएको जस्तो देखिए पनि त्यो केवल एक संयोग भएको ढुंगाना बताउँछन् ।

‘यसका लागि हामीले पहिले नै काम गरेर नाम राखेका थियौँ । कमेडी च्याम्पियनमा ‘दले दाइ’ नाम परिचित भएपछि हाम्रो पनि राम्रो प्रचार भयो,‘ उनले मुस्कुराउँदै भने ।

कसरी सेवा दिइरहेको छ ?

‘दले दाइ’ एउटा यस्तो माध्यम हो, जसमार्फत घरजग्गासँग सम्बन्धित विभिन्न कामका प्रचार निःशुल्क गर्न सकिन्छ । ‘दले दाइ’ले घरजग्गा वा त्यससँग सम्बन्धित अन्य सेवा खरिद-बिक्री गर्नेहरूका बीच एजेन्टको काम गरेको छ ।

यसमा विशेषगरी घर जग्गासँग सम्बन्धित विभिन्न सेवाको प्रचार गर्न सकिन्छ ।

यदि कसैलाई कोठा भाडामा दिनुपर्‍याे वा लिनपर्‍याे, घरजग्गा किन्न वा बेच्नपर्‍यो भने साइटमा गई खरिदकर्ताले बिक्रेतासँग कुरा गरेर किन्न सक्छन् भने बिक्रेताले निःशुल्क बिक्रीका लागि राख्न सक्छन् । यी सबै फिचर निःशुल्क उपलब्ध छन् ।

‘अहिलेलाई हाम्राे सेवा काठमाडौंमा मात्र छ । यदि काठमाडौँमा घर, जग्गा वा कोठा चाहिएको छ भने साइट वा एपमा गई खोज्न सकिन्छ,’ उनले भने, ‘यसले गर्दा मानिसहरूले आफूलाई उपयुक्त लागेको ठाउँमा कोही मान्छे नलगाएर निःशुल्क छोटो समयमा ठाउँ फेला पार्न सक्छन् । यसले उनीहरूको समय पनि बचत गर्छ ।‘

त्यस्तै कसैलाई घरजग्गा बिक्री गर्नुपरेको छ भने वेबसाइटमा रजिष्टर गर्नसक्छन् । त्यसपछि आफूले बिक्री गर्न चाहेको चिज (घर, जग्गा वा कोठा भाडा) साइटमा लिस्टिङ गर्न सक्छन् । आफूले बिक्री गरिसकेपछि बिक्रीमा राखेको घर, जग्गा वा कोठा अर्काइभमा राख्नुपर्ने हुन्छ ।

त्यस्तै यसमा घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाका लागि ‘इजी कन्स्ट्रक्सन’को अप्सन छ, जसमा घर वा भवन निर्माणका लागि आवश्यक विभिन्न सेवाको जानकारी लिन सकिन्छ ।

त्यस्तै सो एपका माध्यमबाट हार्डवेयर, पलम्बर, कन्स्ट्रक्सन, कार्पेट फिक्सिङ, मिस्त्री र हेल्पर, बाथरूम  र स्यानिटरी, मार्बल र टायलका कामदार खोज्न सकिन्छ । यदि यस्ता सेवा कसैले आफ्नो ठाउँबाट प्रचार गर्न चाह्यो भने लिस्टिङ गरेर राख्नसक्छन् ।

‘दले दाइ’ कै माध्यमबाट विभिन्न बैंकले उपलब्ध गराउने घरकर्जाबारे जानकारी लिन सकिन्छ । कुन बैंकबाट कति रकम कति ब्याजदरमा लिन सकिन्छ भन्ने विषयको जानकारी पनि उपलब्ध छ । हाल सुरुवाती चरणमा भएकाले सबै बैंकले उपलब्ध गराउने घरकर्जाको बारेमा राख्न असमर्थ भएको ढुंगाना बताउँछन् ।

किन ‘दले दाइ’ नै?

सामान्यतः कसैलाई घर जग्गा बिक्री गर्नुपर्‍यो भने कोही अन्य व्यक्तिलाई लगाउनुपर्छ । यदि आफैले खोज्न थाल्यो भने खोज्ने काम निकै झन्झटिलो हुन्छ । अर्को व्यक्तिलाई लगाएको खण्डमा उसले माग्ने कमिसन रकम धेरै हुनसक्छ ।

त्यसैले व्यापार बिक्रेता र खरिदकर्ताबीच सीमित राख्नका लागि ‘दले दाइ’ उपयुक्त हुनसक्छ ।

संस्थापक ढुंगाना भन्छन्, ‘समय र पैसा धेरै खर्च गरेर झन्टिलो प्रक्रिायबाट घरजग्गा किन्नुभन्दा यो प्रक्रिया सहज हुन्छ । मानिसहरूले आफूले किन्न चाहेको ठाउँमा थुप्रै विकल्प देख्नसक्छन् । जसले गर्दा आफूलाई उपयुक्त घरजग्गा वा कोठा झमेलाबिना नै लिन सकिन्छ । त्यस्तै बिक्री गर्न चाहनेले पनि कोही मान्छेलाई भनेर खरिदकर्ता खोजी बिक्री गर्न आवश्यक पर्दैन ।‘

घर निर्माणका लागि जग्गादेखि निर्माणसम्मका आवश्यक सम्पूर्ण सेवाको जानकारी लिन सकिने भएकाले जोकोहीले यसलाई प्रयोग गर्न सक्छन् । ‘वेबसाइट खोजेर ब्राउजरमा सर्च गरिरहनुभन्दा एप नै सजिलो हुने भएकाले हामीले आईओएसएन्ड्रोइड एप पनि सार्वजनिक गरेका छौँ,‘ उनले भने ।

मानिसहरूलाई प्रविधितर्फ आकर्षित गर्दै  

झट्ट हामीलाई कतै घरजग्गा वा कोठा आवश्यक पर्‍याे भने सबैभन्दा पहिले हामी आफै खोज्न सुरु गर्छौँ । यदि कोही घरजग्गा वा कोठा खोजिदिने मान्छे छ भने शुल्क बढी तिरेर भएपनि सबै जिम्मा उसैकोमा लगाउँछौँ ।

त्यस्तै बिक्री गर्दा पनि त्यही प्रक्रिया सुरु हुन्छ । यसले गर्दा सबैभन्दा पहिले त भरपर्दो एजेन्ट पाउनै गाह्रो । पाइसके पनि उसलाई दिनुपर्ने शुल्क प्रायः धेरै हुन्छ ।

मोबाइल फोन, इन्टरनेटको व्यापक प्रयोग भइरहँदा परम्परागत शैलीबाट गरिने यी काम सहजै मोबाइल एपबाट गर्न सकिने भएकाले प्रविधीतर्फ मानिसको आकर्षण बढ्छ ।

यो एप डाउनलोड गरेर कुन ठाउँमा कस्तो कोठा, घरजग्गा छ भन्ने कुराको जानकारी पाउनुका साथै आफूलाई आवश्यक परेको खण्डमा बुझेर खरिद वा बिक्री गर्न पनि सकिन्छ ।

आम्दानीको माेडल

‘दले दाइ’का विकासकर्ताले निःशुल्क मध्यस्तकर्ताको काम गरिरहँदा उनीहरूले आम्दानी कसरी गरेका हुन्छन् भन्ने प्रश्न आउनु स्वभाविक नै हो । यस विषयममा ढुंगाना भन्छन्, ‘हामीले सम्पूर्ण सेवा निःशुल्क नै उपलब्ध गराइरहेका हुन्छौँ ।

हाम्रो आम्दानीका लागि त्यहाँ दुईवटा विकल्प छन् । एउटा घरजग्गासँग सम्बन्धित कम्पनीबाट स्थानीय विज्ञापन र अर्को पैसा तिरेर साइटबाट गरिने विज्ञापन ।

यदि कोही बिक्रेतालाई तुरुन्तै घरजग्गा वा कोठा बिक्री गर्न पर्यो वा भाडामा दिनपर्‍यो भने केही शुल्क तिरेर विज्ञापन गर्न सक्छन् । त्यसले गर्दा उनीहरूले चाहेको समयभित्र ग्राहकहरू उनीहरूको सेवा लिन पुग्छन् ।

अहिले सुरुवाती चरणमा भएकाले ‘दले दाइ’मा त्यस्ता कुनै विज्ञापन नराखेको तर शुल्क लिएर विज्ञापन गर्न सुरु गरिसकेको ढुंगाना बताउँछन् ।

चुनौती र भावी योजना

‘दले दाइ’ हाल दुई जनाले सञ्चालन गरिरहेकाले यसमा जनशक्तिको अभाव रहेको संस्थापक ढुंगाना बताउँछन् ।

‘लगानी अभावले गर्दा साइटमा सोचे अनुसारको परिवर्तन ल्याउन सकिएको छैन,’ उनले भने, ‘हामी दुईजना हुँदा पनि साइटलाई परिमार्जित गर्दै लगिरहेका छौं । कतैबाट लगानी जुटाउन सकियो भने छिट्टै नै थप सुधार गर्दै जानेछौँ ।‘

हाल ‘दले दाइ’ मा विभिन्न व्यक्तिहरूले बिक्रीमा राखेका घरजग्गालाई आधिकारिक र अनाधिकारिक गरी दुईवटा भागमा छुट्टाउने गरिएको छ ।

खरिदकर्ताले आधिकारिक पुष्टि भएको घरजग्गा ढुक्कले खरिद गर्न सक्छन् । त्यही कुरालाई मध्यनजर गर्दै ढुंगानाले त्यहाँ बिक्रीमा राखिएका सेवा र सामग्री पुष्टि गर्न नसकिएको खण्डमा हटाउने र त्यसमा सबै आधिकारिक र भरपर्दो सामग्री मात्र राख्ने योजना बनाएका छन् ।

त्यस्तै उनले काम खाेज्न र दिन सहयाेग पुर्‍याउने उद्देश्यले ‘कामछ’ नामकाे वेबसाइट सार्वजनिक गर्ने याेजना रहेकाे पनि सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२