close

६७ लाख फोरजी प्रयोगकर्ता थपिँदा पनि बढेन टेलिकमको नाफा, ९ महिनामा उल्टै गुम्यो ४५ करोड

टेकपाना टेकपाना

बैशाख २८, २०७९ १९:२१

६७ लाख फोरजी प्रयोगकर्ता थपिँदा पनि बढेन टेलिकमको नाफा, ९ महिनामा उल्टै गुम्यो ४५ करोड

काठमाडौं । फोरजी परियोजनाले समेत नेपाल टेलिकमको नाफा बढाउन नसकेको देखिएको छ । कम्पनीको चालु आर्थिक वर्षको सुरुवाती नौ महिनाको वित्तीय प्रतिवेदन अनुसार कम्पनीको नाफा उल्टै करिब ४५ करोड रुपैयाँले गुमेको पाइएको छ ।

जब कि २०७७ चैतसम्म २६ लाख ३६ हजार रहेका कम्पनीका फोरजी प्रयोगकर्ता २०७८ को माघसम्म आइपुग्दा करिब ६७ लाखले बढेर ९३ लाख नाघेका छन् । यसका साथै एफटीटीएच इन्टरनेटमा करिब ६७ हजार नयाँ ग्राहक थपिएका छन् । 

ग्राहक सङ्ख्या उल्लेखनीय रुपमा बढ्दा समेत टेलिकमको आम्दानी भने गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ४४ करोड ९१ लाख २५ हजार रुपैयाँले घटेको देखिएको हो । गत आवको सुरुवाती नौ महिनामा कम्पनीको खुद नाफा पाँच अर्ब ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा यस आवको सोही अवधिमा घटेर पाँच अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा खुम्चिएको छ । 

कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी आएका कारण खुद नाफा घटेको कम्पनीको भनाई छ । यसैगरी अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार आन्तरिक अन्तरआवद्वता शुल्क कटौती हुनुलाई समेत टेलिकमले कार्य सञ्चालन आयमा कमी आउनुको कारणको रुपमा व्याख्या गरेको छ । 

त्यस्तै सेवा व्यापकरुपमा विस्तार गरिएकाले मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले कम्पनीको व्ययभार बढ्न गएको छ । महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डेटा प्याकेजहरू सुरु गरेकाले जीएसएम सेवातर्फ डेटाको खपत बढे तापनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको बताइएको छ ।

साथै चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाइ र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई हुँदा अपेक्षित समयमा टेलिकमले सेवा विस्तार गर्न समेत सकेको छैन । खुद नाफा घटेको भए पनि टेलिकमले गत आवको तुलनामा चालु आवको तृतीय त्रैमासिक अवधिसम्ममा कुल सञ्चालन आय ७६ करोड ८२ लाख ५९ हजारले वृद्धि गर्दै २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ कायम गरेको छ ।

यसैगरी यस अवधिमा कम्पनीको कुल आय समेत ८६ करोड २९ लाख ५६ हजार रुपैयाँले वृद्धि भएर ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार पुगेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२