close

४३७ किलोमिटर रेञ्ज भएको टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, ५६ मिनेटमै फुल चार्ज हुने

टेकपाना टेकपाना

बैशाख २८, २०७९ २०:१३

४३७ किलोमिटर रेञ्ज भएको टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, ५६ मिनेटमै फुल चार्ज हुने

काठमाडौँ । टाटा मोटर्सले बुधबार आफ्नो नयाँ विद्युतीय कार नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको छ । हाल नेक्सन ईभी बजारमा बिक्री गरिरहेको कम्पनीले त्यसैको ‘लङ्ग रेञ्ज भर्सन’ (लामो दूरी तय गर्नसक्ने संस्करण ) ल्याएको हो । 

जिपट्रोन टेक्नोलोजी प्लेटफर्ममा आधारित भएर निर्माण गरिएको नेक्सन ईभीको तुलनामा नेक्सन म्याक्सले लामो दुरीको रेन्ज दिने बताइएको छ । १०५ किलोवाट क्षमताको मोटर जडान भएको यो बिजुली गाडीमा ४०.५ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ ।

त्यस्तै, यो कारमा एन्टी लक ब्रेकिङ सिस्टम “एबिएस”, टायर प्रेसर मनिटरिङ सिस्टम, वायरलेस मोबाइल चार्जिङ, एयर प्युरिफायर, अगाडिको सिटमा भेन्टिलेसन लगायतका फिचर उपलब्ध छन् । अपडेटेड आईसीई इन्जिन, क्रुज कन्ट्रोल, पार्किङ मोड र इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) जस्ता फिचर पनि यसमा समावेश गरिएको छ ।

७.२ किलोवाटको एसी फास्ट चार्जरमार्फत ‘फुल’ चार्ज हुन साढे छ घण्टा लाग्ने यो कारमा ५० किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट समेत रहेको छ । यसबाट ५६ मिनेटमै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । 

एकपटकको चार्जमा ४३७ किलोमिटर यात्रा गर्नसक्ने दाबी गरिएको यो विद्युतीय कारको लम्बाई ३९९३ एमएम, चौडाई १८११ एमएम र उचाइ १६१६ एमएम रहेको छ । नेक्सन म्याक्स ईभीको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ । यो गाडीले अधिकतम २५० एनएम टर्क उत्पादन गर्दछ ।

नेक्सन ईभी म्याक्स जेडएक्स प्लस र जेडएक्स प्लस लग्जरी गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । ३.३ किलोवाट चार्जर सहित एक्स जेड प्लसको मूल्य १७.७४ लाख भारु (२८ लाख ३८ हजार ४०० रुपैयाँ) बाट सुरु हुन्छ भने ७.२ किलोवाट एसी फास्ट चार्जर सहितको मूल्य १८.२४ लाख भारु (२९ लाख १८ हजार ४०० रुपैयाँ) राखिएको छ ।

यसैगरी टाटा नेक्सन ईभी म्याक्स एक्स जेड प्लस लक्सको मूल्य ३.३ किलोवाट विकल्पसहित १८.७४ लाख भारु (२९ लाख ९८ हजार ४०० रुपैयाँ) र सबैभन्दा महँगो भेरियन्ट लाइनअपमा ७.२ किलोवाट एसी फास्ट चार्जर सहितको नेक्सन ईभी म्याक्स एक्सजेड प्लस लक्सको मूल्य १९.२४ लाख भारु (३० लाख ७८ हजार ४०० रुपैयाँ) रहेको छ । 

नेक्सन इभी म्याक्स भारतीय बजारमा आज सार्वजनिक भएपनि नेपालमा चाडै आउने अनुमान गरिएको छ । यद्यपि नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले नेक्सन ईभी नेपाल कहिलेसम्म आउँछ भन्ने यकिन भइनसकेको बताए । ‘यद्यपि यो नयाँ विद्युतीय गाडी नेपाली बजारमा समेत उपलब्ध हुने कुरा त निश्चित छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२