close

असारसम्म बीवाईडीको नयाँ विद्युतीय कार ‘एटो ३’ नेपाल आउने, प्रि-बुकिङ खुलाउने तयारी

टेकपाना टेकपाना

बैशाख २९, २०७९ १९:४०

असारसम्म बीवाईडीको नयाँ विद्युतीय कार ‘एटो ३’ नेपाल आउने, प्रि-बुकिङ खुलाउने तयारी

काठमाडौं । बीवाईडीको नयाँ विद्युतीय कार ‘एटो थ्री’ (Atto 3) आउँदो जुलाई पहिलो सातासम्ममा नेपाल भित्रिने भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो कार नेपाल ल्याउन लागेको हो ।

साइमेक्स इंकका बजार प्रबन्धक समिर श्रेष्ठले आउँदो जुलाईको पहिलो सातासम्म नेपाली बजारमा यो कार ल्याउने जानकारी दिए  । आकर्षक डिजाइन रहेको यो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवैलाई सपोर्ट गर्ने १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ ।

त्यस्तै ५ इन्चको ‘डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर’ (मिटर रहेको भाग) सहित सिन्थेटिक लेदर अफहोलस्टेरेड सिट, ‘इलेक्ट्रिक पावर असिस्टेड स्टेरिङ ह्वील’ जस्ता फिचर उपलब्ध छन् । ५०.१ किलोवाट आवर र ६०.४ किलोवाट आवर गरी दुई ओटा ब्याट्री विकल्पमा उपलब्ध हुने यो कारले अधिकतम २०० एचपी पावर दिने जनाइएको छ । ८० किलोवाटको फास्ट चार्जरबाट ४५ मिनेटमै फुल चार्ज हुने दाबी गरिएकाे यो कारले अधिकतम ३२० देखि ४२० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीकाे भनाइ छ ।

एटो थ्री कारमा ३६० डिग्रीमा हेर्न मिल्ने (३६० भ्यू) क्यामेरा, १२ भोल्ट सकेट, वायरलेस फोन चार्जर, बिना चाबी गाडी सञ्चालन हुने तथा भित्र जान सकिने र एक पटक बटन थिचेकै भरमा ‘टेल गेट’ (पछाडिको ढोका) खुल्ने लगायतका फिचर पनि उपलब्ध छन् । पाँच ओटा सिट क्षमता भएको यो कारमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

त्यस्तै, सिट बेल्टको प्रयोग गर्न अलर्ट गर्ने (सिट बेल्ट रिमाइन्डर), ‘हिल-डिसेन्ट कन्ट्रोल’, ‘ट्रयाक्सन कन्ट्रोल सिस्टम’, ‘टीपीएमएस’-टायर प्रेसर मनिटरिङ सिस्टम (टायरहरूमा सही प्रेसर छ कि छैन भनी जाँच गर्ने प्रविधि), ‘ईपीएस’ सहितको एन्टी-लक ब्रेकिङ सिस्टम जस्ता सुरक्षाका फिचर पनि यसमा समावेश छन् । 

‘एटो थ्री’को प्रि-बुकिङ जुन महिनाको अन्तिम सातादेखि सुरु हुने साइमेक्सले जनाएको छ । तर नेपाली बजारमा यसको मूल्य कति हुनेछ भन्ने कुरा यकिन हुन भने बाँकी छ । अन्तर्राष्ट्रिय बजारमा यो कारको मूल्य करिब ४५ हजार अमेरिकी डलरबाट सुरु हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२