close

एसियन गेम्स : ई-स्पोर्टस विधामा नेपालले लगायो खेलाडीको टुङ्गो

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ ९:४९

एसियन गेम्स : ई-स्पोर्टस विधामा नेपालले लगायो खेलाडीको टुङ्गो

काठमाडाैं । नेपाल ई-स्पोर्टस अशोसियसनले चीनको हाङझाउमा हुने १९औं एसियन गेमका लागि ई-स्पोर्टस विधाका खेलाडीहरुको टुङ्गो लगाएको छ ।

पब्जी मोबाइलबाहेक डोटा-२, हर्थस्टोन, फिफा अनलाइन-४, एरेना अफ भालोर र ड्रिम अफ थ्री किङडम्स-२ खेलका लागि प्रतिस्पर्धा गर्ने नेपाली टिम र खेलाडीहरूकाे टुङ्गाे लागेकाे हाे ।

डोटा-२ मा नेपालको तर्फबाट विइ वन ई-स्पोर्टसले सहभागिता जनाउनेछ भने ड्रिम अफ थ्री किङडम्स-२ मा टिम भिडान्टा, एरेना अफ भालोरमा रोरिङ लायनले सहभागी जनाउँदै छन् ।

यसैगरी फिफा अनलाइन-४ मा समिर गुरुङ र हर्थस्टोनमा स्वीकार गैरेले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

डोटा-२ को छनोटमा १० टिमले भाग लिएका थिए, जसमा पाँच-पाँच टिमको दुई समूह बनाइएको थियो, जसबाट फाइनल टिम विइ वन ई-स्पोर्टसको टुङ्गो लगाइएको हो ।

त्यस्तै ड्रिम अफ थ्री किङडम्स-२ मा भिडान्टा च्याम्पियन्स एरिनाबाट खेलाडीहरु छनोट गरेर टिम बनाइएको थियो र ती टिमबीच नै प्रतिस्पर्धा गराएर फाइनल टिम तय गरिएकाे अशाेसिएसनले जनाएकाे छ ।

एरेना अफ भालोरमा भने चार टिमले मात्र भाग लिएका थिए, जसमध्ये नेपालको तर्फबाट विइ वन ई-स्पोर्टसले खेल्दै छ ।

एकल खेलाडी खेलतर्फ भने हर्थस्टोनमा १० खेलाडीले सहभागिता जनाएका थिए । त्यस्तै फिफा अनलाइन-४ तर्फ १४ खेलाडीले भाग लिएका थिए । फिफा र हर्थस्टोन एक जना खेलाडी हुने खेल हो भने बाँकी चार खेल समूहगत खेल हो ।

नेपालबाट छनोट भएका सबै खेलाडी तथा टिमले रिजनल छनोटमा अन्य देशका टिम तथा खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । त्यहाँको नतिजाको आधारमा नेपाली खेलाडी तथा टिमले एसियन गेममा प्रतिस्पर्धा गर्न पाउने कि नपाउने भन्ने कुराको टुङ्गो लाग्ने नेपाल ई-स्पोर्टस एशोसियसनका अध्यक्ष सुरज डंगोलले बताए ।

रिजनल छनोट एसियन स्पोर्टस फेडेरेसनले गर्दै छ । यो आँउदो जुन वा जुलाईमा हुने सम्भावना छ । तर हालै स्थगित भएकाे एसियन गेम्स स्थगित भएकाले रिजनल छनाेट पनि प्रभावित हुनसक्ने बताइएकाे छ ।

यसअघि भदौ २५ देखि असोज ९ सम्म हुने एसियन गेम्स हुने तय भएकाे थियाे । तर चीनमा कोरोना संक्रमण बढेपछि प्रतियाेगिता स्थगित गरिएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२