close

अब हाम्रोपात्रोमै भिडिओ मिटिङ गर्न सकिने, १०० जनासम्म सहभागी हुन पाइने

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १०:५३

अब हाम्रोपात्रोमै भिडिओ मिटिङ गर्न सकिने, १०० जनासम्म सहभागी हुन पाइने

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रो पात्रोले भिडिओ कन्फ्रेन्सिङ सिस्टम ल्याउने भएको छ । कम्पनीले अनलाइन मिटिङका लागि यस्तो फिचर ल्याउन लागेको हो ।

कम्पनीका संस्थापक शङ्कर उप्रेतीले सामाजिक सञ्जालमार्फत चाँडै नै नेपालका लागि यो सिस्टम ल्याउन लागिएको जानकारी दिएका छन् । उनका अनुसार हाम्रो पात्रोको अनलाइन भिडिओ कन्फ्रेन्सिङमा २५ जनासम्मले एक घण्टासम्म निःशुल्क भिडिओ मिटिङ गर्न सक्नेछन् ।

त्यसभन्दा माथिका लागि भने एपको प्रिमियम भर्सन प्रयोग गर्नुपर्नेछ । मासिक सय रुपैयाँ शुल्क निर्धारण गरिएको उक्त भर्सनमा भने १०० जनासम्मले असीमित समयका लागि कुराकानी गर्न पाउने बताइएको छ ।

हाम्रो पात्रोको प्रिमियम भर्सनको शुल्क बजारमा उपलब्ध अन्य भिडिओ कन्फ्रेन्सिङको तुलनामा निकै सस्तो देखिन्छ । हाम्रो पात्रोले २०७७ मै आफ्नो एपमा भिडिओ कल गर्न सकिने फिचर ल्याएको थियो ।

कम्पनीले त्यसैमा अपग्रेड गर्दै भिडिओ कन्फ्रेन्सिङ सुविधा ल्याउन लागेको हो । यो सुविधा अबको दुई महिनाभित्र नेपाली प्रयोगकर्तामाझ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२