close

मेगा बैंकले ल्यायो किसान कार्ड, ५ लाखसम्म ऋण पाइने

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १२:७

मेगा बैंकले ल्यायो किसान कार्ड, ५ लाखसम्म ऋण पाइने

काठमाडौं । कोभिडबाट प्रभावित किसानहरूको कृषि व्यवसायलाई प्रवर्द्धन गर्न मेगा बैंक र इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्राइजेज (आईडीई) नेपालको सहकार्यमा ‘मेगा स्मार्ट कृषि बैंक’ जारी गरिएको छ ।

दुर्गम क्षेत्रका साना किसानलाई ‘क्यासलेस ऋण’ उपलब्ध गराउन मेगा स्मार्ट कृषि बैंक ल्याइएको आईडीई नेपालका मार्केट डेभलपमेन्ट प्रमुख अस्ट प्रजापतिले बताए ।

‘डिजिटल वालेट लगायतका डिजिटल भुक्तानीको प्रवर्द्धन भइरहँदा अझै पनि धेरै किसान यो सेवाबाट वञ्चित छन् । उनीहरू डिजिल वालेट प्रयोग गर्न सक्दैनन्,’ उनले भने, ‘यसैका लागि हामीले किसान कार्डको अवधारणा ल्याएका हौं । यसले किसानलाई नगदरहित ऋण र कारोबार गर्न मद्दत गर्छ भने बैंकलाई पनि आफ्नो ऋणको सदुपयोग भएको निश्चित गर्छ ।’

उनका अनुसार मेगा बैंकको तर्फबाट साना किसानले दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मको ऋण लिन सक्नेछन् । किसानलाई क्यूआर कोडसहितको कार्ड उपलब्ध गराइनेछ ।

उक्त कार्डमा किसानले लिएको ऋणको रकम लोड गरिएको हुन्छ । किसानले सो कार्ड आफ्नो हातमा पाइसकेपछि सम्बन्धित व्यवसायी अथवा पसलमा गएर उक्त कार्डमार्फत भुक्तानी गरी आफूलाई आवश्यक सामग्री खरिद गर्न सक्नेछन् ।

मेगा बैंकको ‘मेगा स्मार्ट कृषि’ अन्तर्गत रहेर बैंकले आईडीई नेपालको सहकार्यमा यो वर्ष सात जिल्लाका २५ सय साना किसान तथा विदेशबाट फर्केकाहरूलाई किसान कार्ड उपलब्ध गराउने लक्ष्य रहेको प्रजापतिले बताए ।

यो सुविधा मेगा बैंकको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्ला कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ र कपिलवस्तुमा रहेका बैंकका शाखामार्फत कार्यन्वयन गरिने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२