२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

क्यूआर कोड लुकाएर दिने ‘पसले दिदी’

Fone Pay QR Payment

काठमाडौं । सिनामङ्गल पिपलबोटबाट तीनकुनेतर्फ जाने बाटोमा दाहिनेतर्फ लहरै सेकुवा पसलहरू छन् । त्यसैबीच सुशिला सेकुवा कर्नर छ । साँझ परेपछि हरेक दिन त्यहाँ सेकुवा पारखीहरूको बाक्लै भिड लाग्ने गर्छ । एक दिन त्यही भिडमा म पनि मिसिएँ ।

खाजापछि हिड्ने बेला पैसा भुक्तानी गर्नुपर्ने भयो । तर साथमा नगद थिएन । अहिलेको समयमा तपाईँ हामी डिजिटल भुक्तानीमा निर्भर हुन थालिसकेका छौँ । नगद नहुँदा पनि डिजिटल भुक्तानीका माध्यमले काठमाडौंको दैनिकी सामान्य रूपमा चलिरहेकै हुन्छ । 

मैले पनि नगदको चिन्ता लिएको थिइनँ । अनि पसले दिदीलाई क्यूआर छैन भनेर सोधेँ । उनी खुलेर बोलिनन् । बरु लुकाएर सुटुक्क क्यूआर कोड स्ट्यान्ड दिइन् । 

क्यूआर स्ट्याण्ड दिने उनको तरिका अलिक अनौठो थियो । पसलमा रहेका अरु  ग्राहकले सकेसम्म त्यो क्यूआर कोड नदेखुन् भन्नेमा उनी सतर्क देखिइन् । 

त्यसैले उनको सहजतालाई ख्याल गर्दै हामीले पनि सुटुक्क क्यूआर स्क्यान गरी भुक्तानी गर्‍यौँ । क्यूआर कोडको विषयलाई लिएर उनी किन त्यसरी प्रस्तुत भइन्, मनमा खुल्दुली चल्यो । 

सिन्धुपाल्चोक चौतारा घर भएकी ६३ वर्षिय ज्ञानुमाया खड्का विगत २८ वर्षदेखि सिनामङ्गलमा सेकुवा पसल सञ्चालन गर्दै आएकी छन् । उनलाई पछ्याउँदै त्यस क्षेत्रमा हाल दर्जनौँ सेकुवा पसलहरू थपिएका छन् । 

क्यूआर स्ट्याण्ड लुकाएर राखेको देखेपछि हामीले उनीसँग त्यसको कारण केलाउने प्रयास गर्‍यौँ । प्रश्नको जवाफ उनले सहज तरिकाबाटै दिइन् । सेकुवाका लागि दैनिक खसी तथा कुखुराको मासु ल्याउन जाँदा नगदै भुक्तानी गर्नुपर्ने उनको बाध्यता रहेछ । जसले गर्दा सहजताका लागि सकेसम्म नगदमै भुक्तानी लिन चाहेको कुरा उनले खोलिन् ।

उनको यो जवाफले अनलाइन भुक्तानीको इकोसिस्टम अझै तयार भइनसकेको सङ्केत गर्थ्यो । यदि सेकुवाका लागि आवश्यक सरसामग्री ल्याउने पसलहरूमा पनि अनलाइन भुक्तानी हुँदो हो त उनले यसरी क्यूआर कोड स्ट्यान्ड लुकाउनु पर्ने थिएन होला । 

पसलमा आउने ग्राहकले हामीले जस्तै क्यूआर कोड खोज्न थालेपछि करिब तीन महिना अघिमात्रै उनले सिटिजन्स बैंकको क्यूआर कोड राखेकी रहिछिन् । एउटा कुरा त उनलाई क्यूआर भुक्तानीमा अझै पनि पूर्ण भरोसा नहुन सक्छ । अनि अर्को महत्त्वपूर्ण कुरा प्रविधिसँग उनी त्यति अभ्यस्त हुन नसकेको प्रस्टै देखिन्यो । 

उनीसँग आफ्नो स्मार्टफोन भए पनि कल उठाउनकै लागि मात्रै प्रयोग गर्छिन् । ग्राहकले क्यूआर कोडमार्फत भुक्तानी गर्दा उनका छोराको मोबाइलमा एसएमएस आउँछ । 

आफूले नचाहँदा नचाहँदै अनलाइन भुक्तानी लिनुपर्ने बाध्यता आइपर्दा हरबखत पैसा आए नआएको कुरा यकिन गर्न आफ्नो छोरालाई सोध्ने गर्छिन् । यस किसिमको बाध्यताले पनि उनलाई झन्झट महसुस गराएको हुनसक्छ ।

अर्कोतर्फ लामो समयदेखि हातमा खनखन्ती पैसा गनेको बानी परेकी उनलाई पैसा सोझै बैंक खातामा जम्मा हुँदा केके नपुगेको जस्तो पनि हुँदो हो ।  

ज्ञानुमायाकै अनुभवलाई आधार मान्ने हो भने पनि यो तीन महिनाको अवधिमा उनले अहिलेसम्म ग्राहकले भुक्तानी गरेको रकम खातामा प्राप्त नभएको समस्या भोग्नु परेको छैन । पैसाको हिसाब किताब राख्नुपर्ने,चोरी हुने वा हराउने डर पनि हुँदैन ।

उनी भन्छिन, ‘भुक्तानी लिन क्यूआर सजिलै हुने भए पनि आफूले पैसा तिर्ने ठाउँमा नगदै बोकेर जानुपर्छ । त्यसका लागि फेरि बैंक गइरहनुपर्ने झन्झट कसले गरोस् बाबै ।’

क्यूआर, वालेट, मोबाइल बैंकिङ, कार्ड आदि जस्ता डिजिटल भुक्तानीका अनेक माध्यम उपलब्ध हुँदा पनि पसल तथा व्यवसाय क्षेत्रले त्यसलाई आत्मसाथ गर्न आनकाकानी गर्नुको पछाडि के यति मात्रै कारण होला त ? पक्कै होइन ।

यस विषयमा फरक फरक मत रहेको देखिन्छ । कसैले प्रविधिलाई दोस दिने गरेका छन् त कोही आफ्नो सम्पूर्ण कारोबार पारदर्शी  त्रासमा समेत पालिरहेका छन् । 

कौशलटारबाट बालकोट चोक नपुग्दै एउटा रेस्टुरेन्ट छ । जसका सञ्चालक हुन् धर्म क्षेष्ठ । रेष्टुरेन्टमा दैनिक हुने व्यापार मध्ये २० प्रतिशत हिस्सा होम डेलिभरीको रहेको उनी बताउँछन् ।

होम डेलिभरीका लागि आउने अर्डरको भुक्तानी अनलाइबाटै लिने गर्छन् । अनलाइन अर्डर लिएपनि श्रेष्ठ अनलाइन भुक्तानीलाई भने त्यति रुचाउँदैनन् ।

त्यसो त उनले केही समय अघिसम्म अनलाइन भुक्तानीलाई प्रथामिकतामा राखेका थिए । त्यसका लागि उनले नजिकै रहेको एनआईसी एसिया बैंकबाट क्युआर कोड पनि लिए । उक्त खाता अझै पनि सञ्चालनमै छ । तर, क्यूआर कोडको स्ट्याड भने रेस्टुरेन्टको कुनामा थन्क्याइएका छन् ।

आखिर उनी राखिसकेको अनलाइन भुक्तानीमा किन यसरी अरुचि देखाइरहेका छन् त ? यसको पछाडिको कारण हो उनले भोग्नु परेको एउटा घटना । अनलाइनबाट आएको अर्डर डेलिभरी गर्न जाँदा ग्राहकले रेस्टुरेन्टकै क्यूआर स्क्यान गरी भुक्तानी गरे ।

ग्राहकले आफ्नै आँखा अगाडि भुक्तानी गरेको र बैंक खाताबाट पैसा पनि काटेको देखियो । तर, श्रेष्ठको मोबाइलमा म्यासेज भने आएन । त्यसअघि उनले यस्तो घटना कहिल्यै भोगेका थिएनन् ।

‘झन्डै आधा घण्टा त्यहाँ बस्दापनि मोबाइलमा पैसा आएन्,’ उनी भन्छन् । पैसा प्राप्त नभए पनि पछि आउँछ होला भन्ने आशामा उनी ग्राहकसँग छुट्टिए । रातिसम्म पनि पैसा नआएपश्चात उनी भोलिपल्ट बैंकमा पुगे । बैंकमा गएर जानकारी गराएपछि बल्ल खातामा पैसा आयो । 

उक्त कारोबारको रकम बैंक खातमा आए पनि उनले त्यस उपरान्त क्यूआर कोडबाट भुक्तानी लिनै बन्द गरिदिए । उनी भन्छन्, ‘बरु म ई-सेवा, खल्ती आदि वालेटमा पैसा पठाउनु हुन्छ भने लिन तयार छु । तर, ग्राहकलाई क्यूआर भने छैन भन्ने गरेको छु ।’

खड्का र श्रेष्ठ केवल प्रतिनिधि पात्र मात्र हुन् । यस्ता घटना हजारौंमा एकादुईले मात्रै भोग्ने गर्छन् । तर, यिनै सन्दर्भ अनलाइन तथा डिजिटल भुक्तानी प्रणालीलाई व्यवस्थित र प्रवर्द्धन गर्ने सन्दर्भमा हाम्रा सिकाइ पनि हुन् ।

खल्ती डिजिटल वालेटका संस्थापक तथा निर्देशक अमित अग्रवालले यसको समाधान सुरुमा आफूहरूबाटै हुनुपर्ने महसुस गरेका छन् ।

“आज एक जनाले क्यूआर माग्ने ठाउँमा भोलि दश जनाले क्यूआर माग्न थाले भने पक्कै पनि पसलले क्यूआर अनिवार्य रुपमा राख्छन् । यो भनेको समग्र डिजिटल भुक्तानी सञ्जालकै असर हो । ‘म’बाट ‘हामी’सम्म पुग्ने अवस्था आयो भने स्वतः बजारले अनलाइन भुक्तानीलाई आत्मासाथ गर्दै जान्छ,” उनी भन्छन् ।

“कि त कोभिड–१९ जस्तै महामारी देखिनु पर्‍यो । ‘कोभिड–१९ ले नेपालको अनलाइन बजारलाई निकै बुस्ट गरेको छ । आज अनलाइन भुक्तानीमा हामी जहाँ छौँ, यहाँसम्म पुग्न हामीलाई थप पाँच वर्ष लाग्न सक्थ्यो । जुन  कोभिडले गर्दा दुई वर्षमै हासिल गरेका छौ ।”

यही रफ्तार पकड्न सके डिजिटल नेपालको परिकल्पना पुरा गर्न समेत त्यति लामो समय पर्खनु नपर्ला । तर, त्यसका लागि प्रयोगकर्ता, पीएसपी (भुक्तानी सेवाप्रदायक), पीएसओ (भुक्तानी प्रणाली सञ्चालक), बैंक तथा सरकारी निकाय सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आवश्यक छ ।

सरकारले हाल प्रयोगकर्ताको हकमा क्यूआर भुक्तानी निःशुल्क हुनुपर्ने जस्ता स्किम ल्याएको छ । त्यस्ता स्किम पसल, मर्चेन्टका लागि भने ल्याउन नसकेको अग्रवाल बताउँछन् ।

“सरकारले क्यूआरबाट भुक्तानी लिने पसल व्यवसायलाई कर्जा सुविधा, अथवा भारतमा जस्तै दुई हजारसम्म मर्चेन्ट शुल्क सरकारले नै भुक्तानी गरिदिने किसिमका सुविधा ल्याउन हो भने मर्चेन्टलाई यो इकोसिस्टममा जोड्न निकै सहज हुनेछ,” उनी भन्छन् । “यहाँ त उल्टै सरकारी कम्पनीबाट नै निरुत्साहित गर्ने काम भइरहेको छ । सरकारी कम्पनी तथा निकायहरूले अनलाइन भुक्तानी गर्दा लाग्ने चार्ज ग्राहकबाटै उठाउनु पर्छ भन्दै आएका छन् ।”

अर्कोतर्फ ज्ञानुमाया खड्का जस्ता धेरै साना व्यवसायी छन्, जो पैसा भनेको नगद नै हो भन्ने मनसायमा छन् । उनीहरूमा पैसा हातले छुने हुनुपर्छ । आँखाले देख्दा मात्रै विश्वास लाग्छ । हातमा लिएर गनेपछिमात्रै ढुक्क भइन्छ भन्नेछ । यस किसिमको मनस्थिति परिवर्तन नहुँदासम्म समस्या आइरहने एफवान सफ्ट ग्रुपका निर्देशक सुभाष शर्मा बताउँछन् ।

“पैसा हातमा लियो भने आएको पैसा ठिक छ वा छैन् भनेर गन्न सकियो । त्यसका लागि म्यासेज आयो आएन, खातामा पैसा आयो आएन, इन्टरनेट चलने भन्ने जस्ता तनाव किन लिने भन्ने छ,” उनी भन्छन् ।

अनलाइनबाट आएको पैसाको म्यासेज आउने फोन कहाँ छ भनेर खोज्नु परेन । पैसा भयो भने लियो, राख्यो अनि सकियो । हुन त यी विषय ठुलो होइनन् । तर, पनि धेरैले यसैलाई ठुलो समस्याको रुपमा लिँदा यो अवस्था सिर्जना भएको हो । यसका लागि डिजिटल साक्षरताको कुनै विकल्प छैन ।”

समस्या जहाँ पनि हुने र कहिले काहीँ ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा तत्कालै पैसा नजाने समस्या हजारौंमा एक दुईमा देखिन सक्ने शर्मा बताउँछन् । “यस किसिमका समस्या समाधानका लागि पीएसओ, पीएसपी निरन्तर काम गरिरहेका छन्,” उनी भन्छन्, “समयको माग अनुसार प्रविधि पस्किृत हुँदै जाने हो । यसले भोलिका दिनमा अझ थप सहजता ल्याउने छ । त्यसैले प्रविधिलाई आत्मसाथ गर्दै जानु पर्ने हुन्छ ।”

अनलाइन भुक्तानी लिन आनकानी गर्नुका पछाडि अन्य कारण समेत रहेको अग्रवाल बताउँछन् । “कतिपयमा पारदर्शीता कै समस्या छ । हुन त पारदर्शी हुनु व्यवहारिक र व्यवसायिक हिसाबले राम्रो हो । तर, कारोबारको रकम सोझै बैंक खातामा जाँदा आम्दानी स्वतः देखिने र आयकर भुक्तानी त्यही अनुसार बुझाउनु पर्ने डरले पनि अनलाइन भुक्तानीमा आनाकानी भइरहेको छ,” उनी भन्छन्, “यदी भौतिक रुपमा नगद कारोबार हुने भने लुकाउने अनेक उपाय होलान् ।” 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team