close

सामाजिक सञ्जालमा मतपत्र सार्वजनिक गरेपछि बाबुराम भट्टराईलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १५:५०

सामाजिक सञ्जालमा मतपत्र सार्वजनिक गरेपछि बाबुराम भट्टराईलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो मतपत्रसहित सामाजिक सञ्जालमा शेयर गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईलाई उक्त विषयमा स्पष्ट जवाफ पेस गर्न पत्राचार  गरेको  जानकारी दिएको हो ।

“जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान गर्ने क्रममा मत सङ्केत गरेको मतपत्र सार्वजनिक गर्नु भएको विषय प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,” आयोगको विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा ९ को उपदफा २ बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरिएको छ ।” भट्टराईले गोरखा पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माविको बुथमा बिहान ८:२५ बजे मतदान गरेका थिए ।

मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दा उनले आफूले मत दिएको मतपत्रको तस्वीर पनि शेयर गरेका थिए । जसमा जनता समाजवादी पार्टीको चुनाव चिन्ह ‘छाता’ मा छाप हानेको सहजै देख्न सकिन्छ ।

उनले तस्वीर राखेको केही समयपछि नै निर्वाचनको आचारसंहिताको उल्लङ्घन भएको भनेर उनकै पोस्टमा धेरैले आलोचना गरेका छन् । हाल उनले अन्य फोटोहरू जस्ताको तस्तै राखे पनि मतपत्र देखिएको फोटो भने फेसबुक र ट्वीटर दुवैतिरबाट हटाइसकेका छन् ।

फोटो हटाएपछि उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’

यद्यपि निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा भने मत सङ्केत सार्वजनिक गर्न नहुने भनेर उल्लेख गरिएको छ । ऐन अनुसार कसूर प्रमाणित भएको खण्डमा उनीमाथि मतदान अधिकृतले १५ हजार रुपैयाँ जरिवाना हुन सक्नेछ  ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२