close

विद्युतीय चेक क्लियरिङ समय परिवर्तन, ४ बजेसम्म पेश भएका चेक सोही दिन फर्छ्यौट हुने

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १८:३६

विद्युतीय चेक क्लियरिङ समय परिवर्तन, ४ बजेसम्म पेश भएका चेक सोही दिन फर्छ्यौट हुने

काठमाडौं । सरकारले जेठ १ गतेबाट शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक विदा  दिने निर्णय पछि नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल-ईसीसी), अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचल-आईपीएस) र रिटेल पेमेन्ट स्वीच प्रणालीको व्यवस्थामा परिवर्तन गरेको छ ।

साथै एनसीएचएलले विद्यमान सत्रहरू (सेसनहरू)लाई संसोधन तथा थप नयाँ सत्रहरूको व्यवस्था गरी सोमबारदेखि शुक्रबारसम्म सत्रहरू उपलब्ध हुने व्यवस्था मिलाएको छ । नयाँ व्यवस्था अनुसार दिउँसो ४ बजेसम्म पेश भएका चेकको भुक्तानी आदेश  ५ बजेसम्म भएमा सोही दिनमा फर्छ्यौट हुने छन् । 

विद्युतीय चेक क्लियरिङ प्रणाली तर्फ सात ओटा सत्रहरू राखिएको छ । जसमा एउटा नियमित सत्र, चार एक्सप्रेस सत्र छन् भने दुई ओटा हाई भ्यालु सत्रहरू रहेका छन् । रेगुल सत्रमा दिउँसो ३ बजेसम्म पेश भएको चेक सोही दिनको ५:१५ बजेपछि फर्छ्यौट हुनेछन् ।

त्यसैगरी बिहान १० देखि ४ बजे सम्मको एक्सप्रेस सत्रमा पेश भएका चेक सोही दिनको ११: ४५ बजे देखि ४:४५ बजेसम्म फर्छ्यौट हुनेछ । हाई भ्यालुको लागि भने बिहान १० बजेदेखि ३ बजेसम्म पेश भएका चेक सोही दिनको १:१५ बजे देखि ४:१५ बजेसम्म फर्छ्यौट हुने व्यवस्था मिलाइएको छ । हाई भ्यालुका सत्रमा २० करोड रुपैयाँदेखि ३० करोड रुपैयाँसम्मका चेकहरू पेश हुने गरेका छन् । 

एक्सप्रेस र हाई भ्यालु सत्रको फरक फरक समयको सत्रमा पेश भएका चेक फरक फरक समयमै फर्छ्यौट हुनेछन् । त्यसैगरी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली अन्तर्गत भने ५ बजेसम्म आएका भुक्तानी आदेशहरू सोही दिनको ६ बजेपछि फर्छ्यौट हुने व्यवस्था मिलाइएको छ । 

साथै रिटेल पेमेन्ट स्वीच अथवा कनेक्ट आईपीएसमा पेश भएको भुक्तानी आदेश भने बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म अधिकतम १० पटक फर्छ्यौट हुने एनसीएचएलले जनाएको छ । यो नयाँ व्यवस्था जेठ ३ गते देखि लागू हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२