close

हामी विभिन्न ठाउँ गएको कुरा गुगलले कसरी थाहा पाउँछ ?

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ १२:१४

हामी विभिन्न ठाउँ गएको कुरा गुगलले कसरी थाहा पाउँछ ?

काठमाडौं । तपाईंलाई याद छ, आजभन्दा एक वर्षअघि तपाईं कहाँ जानुभएको थियो ? यदि कसैले कुन मितिमा कहाँ गइएको थियो भनेर प्रश्न गर्‍यो भने तपाईंलाई आफू गएको ठाउँ ठ्याक्कै याद गर्न केही समय लाग्छ ।

तर, गुगल म्याप्सले तपाईंले फोन कहिलेबाट प्रयोग गर्न थाल्नुभएको थियो, त्यही दिनदेखि तपाईं कहाँ कहाँ जानुभयो भन्ने कुराको डेटा राखेको हुन्छ ।

हामीमध्ये धेरैले गुगलले निर्माण गरेको एन्ड्रोइड अपरेटिङ सिस्टमद्वारा सञ्चालित फोन प्रयोग गर्छौँ । यस अर्थमा फोनको सम्पूर्ण सिस्टम गुगलको हातमा छ । जति हामीलाई हाम्राबारे थाहा नभएका धेरै कुरा गुगललाई थाहा छ ।

आज हामी तपाईं कुन दिन कहाँ कहाँ जानुभएको थियो भनेर जानकारी दिने गुगल म्यापमा भएको टाइमलाइन फिचरका बारेमा चर्चा गर्छौँ ।

यसो त प्रविधिका पनि फाइदा पनि छन्, अनि बेफाइदा पनि । फाइदा र बेफाइदा त्यसलाई कसरी प्रयोग गरिएको छ भन्ने कुरामा निर्भर रहन्छ । त्यस्तै गुगल म्याप्सको ‘टाइमलाइन’ फिचरका पनि सकारात्मक र नकारात्मक पक्षहरू छन् ।

गुगल म्याप्सको टाइमलाइन फिचरका माध्यमबाट आफू कहिले कुन ठाउँ, कुन बाटो केमा गएको थियो सबै कुराको जानकारी पाउन सकिन्छ ।

तपाईंका हरेक गतिविधिमा गुगलले विभिन्न माध्यमबाट नजर लगाइरहेको हुन्छ । यसबाट के बुझ्न सकिन्छ भने हामीलाई हाम्रा बारेमा जति थाहा छ, त्यो भन्दा कैयौँ कुरा गुगललाई थाहा छ ।

गुगल टाइमलाइनले विशेषगरी तपाईं कुन मितिमा कहाँ-कहाँ जानुभयो भन्ने कुराको जानकारी राख्छ । यात्रा गर्दा तपाईं कुन कुन ठाउँमा बास बस्नुभयो वा कुन ठाउँमा खाना खाना खानुभयो त्यो सबै टाइमलाइनको माध्यमबाट जानकारी पाउन सकिन्छ ।

तपाईंले टाइमलाइन हेर्न सबैभन्दा पहिले गुगल म्याप्स एपमा जानुहोस् । त्यसपछि माथि बायाँतर्फ देखिएको आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस् ।

त्यसपछि त्यहाँ योर टाइमलाइन (Your Timeline) भन्ने अप्सन देखिन्छ । त्यसमा गएर तपाईंले हरेक दिनका कहाँ यात्रा गरियो भन्ने कुराको जानकारी पाउनु हुन्छ ।

त्यसका लागि तपाईंले म्याप्समा कुन अकाउन्ट कहिलेबाट प्रयोग गरिरहनु भएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

तपाईंले जति पहिले सो गुगल अकाउन्ट प्रयोग गर्नुभएको छ, त्यही दिनदेखिको जानकारी त्यहाँ पाउन सक्नुहुन्छ । योर टाइमलाइन भन्ने अप्सनमा गइसकेपछि तपाईंले त्यहाँ बीचमा टुडे (Today) लेखिएको अप्सन देख्न सक्नुहुन्छ ।

त्यहाँ आफूलाई आवश्यक परेको मिति छानेर यात्रा विवरण हेर्न सक्नुहुन्छ । यसले कुन बाटो यात्रा गर्नुभयो भन्ने कुरा हाइलाइट गरिदिने गर्छ । त्यस्तै सोही पेजको माथि डे, ट्रिप्स, इन्साइट्स, प्लेसेस, सिटी, वर्ल्ड भन्ने अप्सन देख्नुहुन्छ ।

तिनै विविध अप्सनका माध्यमबाट विश्वभर कुन-कुन देशमा यात्रा गर्नुभयो, कुन कुन सहरमा जानुभयो, कुन-कुन ठाउँमा जानुभयो भन्ने कुराको जानकारी पाउन सक्नुहुन्छ ।

यदि तपाईंको अकाउन्टमा हिस्ट्री लोकेसन अफ छ भने तपाईंको टाइमलाइनमा केही देखाउँदैन । लोकेसन हिस्ट्री अन गर्नका लागि तल दिइएका प्रक्रिया पूरा गर्नुहोस् ।

  • सबैभन्दा पहिले म्याप्समा गएर आफ्नो प्रोफाइट फोटोमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ म्यानेज योर गुगल अकाउन्ट (Manage Your  Google Account) भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि माथि दायाँ छेउमा सर्चको आइकन देख्न सक्नुहुन्छ । त्यहाँ गएर लोकेसन हिस्ट्री सर्च (Location History) गर्नुहोस् ।
  • त्यहाँ तल टुर्न अन (Turn On) भन्ने अप्सन देखिन्छ । त्यसमा ट्याप गरेर अन गर्नुभयो भने तपाईंले यात्रा गरेका बाटोको डेटा स्टोर हुन सुरु हुन्छ ।

यदि तपाईं गुगल म्याप्सको टाइमलाइनमा तपाईंले गरेको यात्राको डेटा नदेखियो भन्ने लागेको छ भने माथि उल्लेख गरिएकै प्रक्रियाबाट अफ गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२