close

नयाँ आईफोनमा टाइप-सी पोर्ट आउँदै, सुरु भयो परीक्षण

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ १३:२१

नयाँ आईफोनमा टाइप-सी पोर्ट आउँदै, सुरु भयो परीक्षण

काठमाडौं । एप्पलले आफ्नो लाइटनिङ पोर्टलाई यूएसबी-सी पोर्टसँग परिवर्तन गर्न परीक्षण गरिरहेको छ । एप्पलका आन्तरिक सूचना बाहिर ल्याउने मार्क गुर्मानका अनुसार एप्पलले यूएसबी-सी पोर्टसहितको आईफोन परीक्षण गरिरहेको छ ।

यद्यपि यो परिवर्तन हाल सार्वजनिक हुने भनिएका आईफोनहरूमा नहुने उनको भनाइ छ । उनका अनुसार यूएसबी-सी पोर्ट भएको आईफोन सन् २०२३ भन्दा अगाडि आउने छाटँकाँट भने छैन ।

२०२३ मा भने यूएसबी-सी पोर्ट सहितको आईफोन सार्वजनिक हुने अनुमान गरिएको छ । हुन त यो कुनै धेरै ठूलो कुरा हुनेछैन, किनभने एप्पलले पहिले नै आईप्याड प्रो, आईप्याड एयर र आईप्याड मिनीमा यूएसबी-सी पोर्ट उपलब्ध गराउन सुरु गरिसकेको छ ।

यद्यपि आईफोनका लागि भने यो धेरै ठूलो कुरा हुनेछ । लामो समयसम्म यस विषयमा धेरै विवाद पनि भइरहेका छन् ।

अन्तर्राष्ट्रिय नियामक सस्थाहरूले पनि एप्पललाई यूएसबी-सी पोर्ट प्रयोग गर्न बारम्बार निर्देशन दिँदै आइरहेको छ । यही कारण एप्पलले आईफोनमा यूएसबी-सी पोर्टको परीक्षण गरिरहेको पनि अनुमान गरिएको छ ।

यसबीच गुर्मानले एप्पलले पोर्टबिनाको आईफोनको पनि परीक्षण गरिरहेको बताएका छन् । यस विषयमा एप्पलले भने कुनै आधिकारिक धारणा दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२