close

एन्ड्रोइड फोनका लागि यस्ता छन् उपयुक्त निःशुल्क एन्टीभाइरस एप

टेकपाना टेकपाना

जेठ १, २०७९ १०:१६

एन्ड्रोइड फोनका लागि यस्ता छन् उपयुक्त निःशुल्क एन्टीभाइरस एप

काठमाडौं । मोबाइलमा एन्टीभाइरस कति आवश्यक हो भन्ने कुरा सधैंको चर्चाको विषय हो । तर, पनि धेरैले सुरक्षाको हिसाबले एन्टीभाइरस राख्नुलाई नै राम्रो भएका बताउँदै आएका छन् । त्यसमा पनि अझ तपाईंको फोन लामो समयदेखि अपडेट भएको छैन भने त एन्टीभाइरस एप प्रयोगमा ल्याउन उचित हुनेछ ।

किनभने तपाईंले आफ्नो स्मार्टफोनबाट धेरै काम गरिरहनु भएको हुन्छ । मोबाइल बैंकिङदेखि अनलाइन शपिङ यही एउटै फोनबाट गरिरहनु भएको हुन्छ । यस्तो बेला तपाईंको फोनमा माल्वेयर इन्जेक्ट भयो भने निकै घातक परिणाम ल्याउनसक्छ ।

त्यसैले कुन एन्टीभाइरस प्रयोग गर्ने त ? प्ले स्टोरमा उपलब्ध सबै एन्टीभाइरस, एन्टीभाइरस हुँदैनन् । त्यसमा कतिपय फेक पनि हुनसक्छन्, जसले तपाईंको डेटा संकलन गर्ने काममात्रै गरिरहेका हुन्छन् ।

मोबाइलका लागि कुन एन्टीभाइरस उपयुक्त हुन्छ भन्ने विषयमा यहाँ हामी तपाईंहरुलाई केही छनोटका विकल्प प्रस्तुत गर्दै छौं, जुन पूर्णरुपमा निःशुल्क छन् ।

१. अभिरा सेक्युरिटी फर एन्ड्रोइड 

अभिराको सेक्युरिटी फर एन्ड्रोइड धेरै हिसाबले उपयुक्त एन्टिभाइरसको रुपमा लिइन्छ । सन् २०२२ मै एभी–टेस्ट र एभी- कम्प्यारिटिभमा यसले ९९.९ प्रतिशत अंक हासिल गर्न सफल भएको थियो ।

त्यतिमात्रै नभएर एन्टीभाइरस इन्जिनको मामलामा यसले स्वतन्त्र ल्याब टेस्टबाट एकदमै राम्रो प्रतिक्रिया पाएको छ ।

यो एप निःशुल्क भएपनि प्रयोगकर्ताले विज्ञापनको झमेला भने भोग्नुपर्छ । तर यसमा धेरै फिचर छन् । यसको पर्मिसन म्यानेजर एकदमै उपयोगी फिचर हो । यसले गोपनीयताको मामलामा एप्लिकेसनहरुलाई रेटिङ गर्दछ ।

यसमा भएको आइडेन्टिटी सेफगार्ड फिचरले तपाईंको ईमेल एड्रेस डेटा ब्रिचमा लिक भएको छ वा छैन भनेर चेक गर्दछ । यसले कुनै लिकको विवरणबारे जानकारी दिन्छ । यसमा एन्टी थेप्ट, टाढाबाट ट्रिगर गर्न सकिने अलार्मजस्ता फिचर छन् । 

यसमा भएको एप लक फिचरले कुनै पनि एप्लिकेसनबाट संवेदनशील जानकारी बाहिरिन सहयोग गर्दछ । यसमा एउटा भीपीएन पनि इन्टिग्रेट गरिएको छ । 

२. बिटडिफेन्डर एन्टीभाइरस 

यदि तपाईं मोबाइलका लागि सहज र निःशुल्क एन्टीभाइरसको खोजिमा हुनुहुन्छ भने बिटडिफेन्डर मोबाइल सेक्युरिटी राम्रो विकल्प हो ।

रोमानियन कम्पनी बिटडिफेन्डरको प्ले स्टोरमा दुईओटा एप उपलब्ध छन् । त्यसमा बिटडिफेन्डर एन्टीभाइरस निःशुल्क छ भने बिटडिफेन्डर मोबाइल सेक्युरिटीका लागि भने शुल्क बुझाउनुपर्छ ।

यसमा एन्टी थेप्ट र टप नच एन्टीभाइरस क्षमता छ । यो एपले हालैको एभी टेस्ट राउण्डअपमा पूर्णाकं प्राप्त गरेको थियो । अन्य महत्वपूर्ण एन्टीभाइरसको तुलनामा यसले ९९.९ प्रतिशत प्रोटेक्सन रेट प्रदान गर्दछ । गुगलको क्रोम ब्राउजरमा यसले रियल टाइम प्रोटेक्सन दिन्छ ।

यसका साथै अटोपाइलट फिचरले तपाईंको डिभाइसको सिस्टम र युसेज प्याटर्न अनुसार सेक्युरिटी एक्सनको लागि इन्टेलिजेन्ट रेकमेन्डेसन गर्दछ ।

यसमा रहेको प्राइभेसी एडभाइजर टुल एकदमै आकर्षक छ, जसले तपाईंको स्मार्टवाचलाई पनि वयरअन प्रविधिको माध्यमबाट सेक्युरिटी लेयर प्रदान गर्दछ । यदि तपाईंले आफ्नो फोनलाई बिर्सिएर कतै छोड्नुभयो भने यसलाई तपाईंलाई अलर्ट दिने काम पनि गर्छ ।

३. एभीजी एन्टीभाइरस

एन्ड्रोइड फोनका लागि अर्को निःशुल्क र उपयोगी एन्टीभाइरसमा एभीजी पनि हो । गुगल प्ले स्टोरमा ‘एभीजी एन्डीभाइरस एण्ड सेक्युरिटी’ भनेर याे एप उपलब्ध रहेको छ ।

यसले एभी–टेस्टमा शतप्रतिशत अंक हासिल गर्दा एभी–कम्प्यारेटिभमा ९९.६ प्रतिशत अंक हासिल गर्न सफल भएको छ ।

एभीजीको स्वामित्व सन् २०१६ मा अभास्टले खरिद गरेकाले यसको एन्टीभाइरस इन्जिन पनि अभास्टको जस्तै नै छ । तर यो अभास्टकै एन्टीभाइरस जस्तो भने छैन । यसले एपको फाइल स्क्यान गर्ने तथा जंक फाइल क्लिन गर्नेसम्मको काम गर्छ ।

एपमा एकदमै बलियो कोर एन्टीभाइरस प्रोटेक्सन रहेको छ भने एन्टी थेप्ट फिचर पनि समावेश छ । यो पूर्ण निःशुल्क भएकाले यसमा विज्ञापनको झन्झट भने प्रयोगकर्ताले भोग्नुपर्छ । हुन त यसको पेड भर्सन पनि उपलब्ध छ ।

यसको पेड प्रो भर्सनमा अतिरिक्त फिचरहरु पाउन सकिन्छ । यो एन्टीभाइरसमा फोटो सुरक्षित राख्नका लागि फोटो भल्ट समेत उपलब्ध रहेको छ ।

४. सोफोस इन्टरसेप्ट एक्स 

सोफोसको एन्टीभाइरस एप पूर्णरुपमा निःशुल्क छ र यसमा कुनै विज्ञापन पनि छैन । यस आधारमा यो एकदमै आकर्षक छ ।

स्वतन्त्र ल्याब टेस्टको रिपोर्ट अनुसार यो एप एन्टीभाइरस प्रोटेक्सनको मामिलामा शतप्रतिशत राम्रो र बलियो देखिएकाे छ । यसले एभी–टेस्टमा ९९.८ प्रतिशत अंक हासिल गर्न सफल भएको छ ।

यसले एपमा माल्वेयर भए/नभएको पनि स्क्यान गर्दछ । माल्वेयर परीक्षणमा यो एपले शतप्रतिशत अंक हासिल गर्न सफल भएको छ ।

यसरी माल्वेयर स्क्यान गर्दा एपहरुमा घातक सामग्री, संवेदनशील जानकारी लिक गर्ने क्षमता छ कि छैन त्यसका लागि अलर्ट गर्ने काम पनि यो एपले गर्छ ।

साथै यो एन्टीभाइरसलाई फाइल तथा फोल्डरलाई नियमित रुपमा स्क्यान गर्न सेड्युल पनि मिलाउन सकिन्छ ।

यसका साथै यसमा वाई-फाई नेटवर्क स्क्यानिङ, प्राइभेसी एड्भाइजरजस्ता फिचर पनि उपलब्ध छन् ।  

५. अभास्ट मोबाइल सेक्युरिटी 

अभास्ट मोबाइल सेक्युरिटी एन्ड्रोइड डिभाइसका लागि अर्को उपयुक्त एप हो । यसलाई पनि स्वतन्त्र परीक्षण ल्याबले राम्रो रेटिङ दिएको छ ।

यसमा आकर्षक एन्टी थेप्ट सिस्टम छ, जसले तपाईंको हराएको वा चोरी भएको मोबाइललाई टाढैबाट लोकेट र लक गर्न अनि डेटा पनि हटाउन सकिन्छ ।

यसमा स्टोरेज स्पेसलाई खाली गर्न जङ्क क्लिनर पनि रहेको छ भने तपाईंको डिभाइसको गति बढाउनलाई ‘RAM Boost’ पनि छ ।

यो एप कुनै बेला पैसा तिरेर प्रयोग गर्नुपर्ने बाध्यता थियो । तर, अहिले भने निःशुल्क छ । निःशुल्क सेवा सुरु भएसँगै प्रयोकगर्ताले यसमा पनि विज्ञापनको झमेला भने भोग्नु पर्छ ।

यसमा भएको अर्को उपयोगी प्रिमियम फिचर भनेको ईन-एप लकिङ हो । यसबाट कुनै पनि एप खोल्नुअघि तपाईंको डिभाइसले पिन कोड माग्नेछ । यसले इन्टरनेट बैंकिङजस्ता लन्चिङ एपबाट हुने माल्वेयरबाट बचाउँछ । 

६. कास्परस्काई इन्टरनेट सेक्युरिटी 

कास्परस्काई बिटडिफेन्डर जस्तै एउटा प्रतिष्ठित एन्टीभाइरस उत्पादक कम्पनी हो । यसमा सेक्युरिटी एपमा टप नच माल्वेयर डिटेक्सन जस्ता केही स्मार्ट फिचर पनि छन् ।

टाइट कोर एन्टीभाइरस सेक्युरिटी मात्र होइन, यसमा केही ह्याभ्भी वेट एन्टी थेप्ट क्षमता पनि रहेको छ । यसबाट तपाईंले हराएको फोन वा चोरी भएको फोन अहिले कसले चलाइरहेको छ भनेर थाहा पाउन टाढै बाट फोटो लिन पनि सक्नुहुन्छ । यसमा टाढैबाट अलार्म अन अफ सेट गर्न समेत मिल्छ ।

सेक्युरिटी व्यवस्थापनलाई सरलीकरण गर्ने एन्ड्रोइड वेयरलाई पनि सपोर्ट गर्ने यसमा आकर्षक फिचर रहेको छ । यो एप निःशुल्क उपलब्ध छ ।

तर यसको पेड भर्सनमा अझ राम्रो उपयोगी फिचरहरु पाउन सकिन्छ । यसको प्रिमियम भर्सनमा एन्टी फिसिङ प्रोटेक्सन पनि पाउन सकिन्छ । 

७. म्याकफी मोबाइल सेक्युरिटी 

एन्टीभाइरस सफ्टवेयरको कुरा गर्दा म्याकफी अर्को लोकप्रिय नाम हो । एन्टीभाइरस स्क्यानर बाहेक यसको अन्य कामहरु पनि छन् । यसमा पनि एन्टी थेप्ट क्षमता रहेको छ ।

यसबाहेक कुनै पनि एपले संवेदनशील जानकारी लिक गर्छ कि गर्दैन त्यो कुरालाई पनि यो एपले स्क्यान गर्न सक्छ । यसले तपाईं कनेक्ट रहेको वाई-फाईको सुरक्षालाई पनि मूल्यांकन गर्दछ ।

यसबाहेक तपाईंको फोनलाई राम्रोसँग रन गराउन, स्टोरेज क्लियर गर्न र मेमोरी र ब्याट्री बुस्ट गर्न पनि सहयोग गर्ने थप फिचर यसमा छन् ।

यसको निःशुल्क भर्सन विज्ञापनबाट चल्दछ । विज्ञापनरहित प्रिमियम भर्सन प्रयोग गर्न भने शुल्क तिर्नुपर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२