close

टाइप नगरी यसरी उतार्नुहोस् फोटो, प्रिन्ट वा पीडीएफका अक्षर

टेकपाना टेकपाना

जेठ १, २०७९ ११:९

टाइप नगरी यसरी उतार्नुहोस् फोटो, प्रिन्ट वा पीडीएफका अक्षर

काठमाडौं । पुस्तक, पत्रपत्रिका, तस्वीरको रुपमा रहेको स्क्यान कपी, जेपीजी फाइल, पीडीएफ वा अन्य वस्तु तथा सामग्रीमा लेखिएका अक्षरहरुलाई कहिले काहिँ कम्प्युटर वा मोबाइलमा टाइप गर्नुपरिरहेको हुन्छ । यसरी टाइप गर्दा तपाईंको समय निकै खर्च भइरहेको हुन्छ । 

गुगलले यसका लागि सजिलो विकल्प दिएको छ, जसबाट तपाईं टाइप नगरिकनै सजिलै अक्षरलाई मोबाइल वा कम्प्युटरमा उतार्न सकिन्छ । यसका लागि तपाईंले कम्प्युटरमा गुगल ड्राइभको सहयोग लिन सक्नुहुन्छ । 

गुगल ड्राइभमा इनबिल्ट रुपमा अप्टिकल क्यारेक्टर रिकग्निसन (ओसीआर) टुल दिइएको छ ।  जसको सहयोगमा तपाईंले नेपाली, अंग्रेजी वा अन्य भाषामा लेखिएको टेक्स्ट अर्थात प्रिन्ट गरिएको सामग्रीबाट टेक्स्टलाई एडिट गर्न सकिनेगरी गुगल डक्समा कन्भर्ट गर्न सक्नुहुन्छ ।

त्यस्तै मोबाइलमा गुगल लेन्स प्रयोग गरी कुनै पनि लेखिएका अक्षरहरुलाई स्क्यान गरी कपी गर्ने सुविधा पाउन सक्नुहुनेछ । 

कम्प्युटरबाट यसरी प्रयोग गर्नुहोस् गुगल ड्राइभको ओसीआर टूल ?

१. कम्प्युटरमा गुगल डक्सको यो फिचर प्रयोग गर्न सुरुमा गुगल क्रोम ब्राउजरमा जानुहोस् र गुगल ड्राइभ खोल्नुहोस् । 

२. अब अक्षरहरु भएको कुनै पनि तस्वीर, स्क्यान कपी वा पीडीएफ फाइल अपलोड गर्नुहोस् । 

३. फाइल अपलोड भइसकेपछि माउसमा राइट क्लिक (दायाँ क्लिक) गर्नुहोस् र ओपन विथ गुगल डक्स अप्सनमा जानुहोस् । 

४. अब नयाँ ट्याबमा गुगल डक्स खुल्नेछ र भर्खरै तपाईंले अपलोड गरेको फाइलमा भएका अक्षरहरु स्वतः टाइप भएर आउनेछन् । जसलाई तपाईंले सहजै एडिट गर्न सक्नुहुन्छ । यसरी कन्भर्ट भएर तयार भएको गुगल डक्स ओरिजिनल फाइल रहेकै फोल्डरमा सेभ भएर बस्नेछ । 

मोबाइलमा यसो गर्नुहोस् 

१. गुगलको यो फिचर तपाईंले गुगल एप, गुगल फोटोज वा गुगल लेन्स मध्ये जुनसुकै एपमा पाउन सक्नुहुनेछ । 

२. अब आफ्नो मोबाइलको ग्यालरीमा भएको स्क्यान वा तस्वीरमा रहेका अक्षर कपी गर्न गुगल फोटोजमा त्यसलाई अन गर्नुहोस् । 

३. अब तल पुछारमा तेस्रो अप्सनको रुपमा रहेको लेन्समा थिच्नुहोस् । यति गरेसँगै तस्वीरमा देखिएका सबै अक्षरहरु हाइलाइट हुनेछन् । 

४. तस्वीरको कुनै एक भागमा थिच्नुहोस् र त्यहाँ रहेका अक्षरहरुलाई सेलेक्ट गर्नुहोस् र तल सुरुमा रहेको कपी टेक्स्ट अप्सनमा थिच्नुहोस् । अब त्यसलाई आफूले चाहेको ठाउँमा गएर पेस्ट गर्न सक्नुहुन्छ । 

५. यदि तपाईंले मोबाइलमा भएको जीमेल आईडी नै सँगसँगै कम्प्युटरमा समेत खोल्नु भएको छ भने अघि कपीको अप्सनभन्दा केही पछाडि कपी टु कम्प्युटरको अप्सन देख्न सक्नुहुनेछ । त्यसमा क्लिक गर्दा ती अक्षरहरु स्वतः तपाईंको कम्प्युटरको क्लिपबोर्डमा कपी भएर बस्नेछन् । कम्प्युटरमा टाइप गर्न सकिने कुनै पनि स्थानमा गएर त्यसलाई सजिलै पेस्ट गर्न सक्नुहुनेछ । 

६. यस अलावा गुगल एपमा गएर सर्च बक्सको अन्तिममा रहेको क्यामेरा आइकन वा गुगल लेन्स एपको तल रहेको टेक्स्ट अप्सनमा जानुहोस् ।

अब जुन अक्षरहरु तपाईं मोबाइल वा कम्प्युटरमा उतार्न चाहनुहुन्छ, त्यसलाई आफ्नो मोबाइलको क्यामेरामा पार्नुहोस् र तस्वीर लिनुहोस् । त्यसपछि यहाँबाट अघि गुगल फोटोजमा जस्तै गरी बाँकी प्रक्रिया पुरा गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२