close

वर्ल्डलिङ्कको न्यूनतम प्याकेज २०० एमबीपीएस, अवरुद्ध हुँदा तुरुन्तै समाधान नभए २ दिनको सेवा निःशुल्क 

टेकपाना टेकपाना

जेठ १, २०७९ १८:०

वर्ल्डलिङ्कको न्यूनतम प्याकेज २०० एमबीपीएस, अवरुद्ध हुँदा तुरुन्तै समाधान नभए २ दिनको सेवा निःशुल्क 

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो इन्टरनेट सेवाको न्यूनतम स्पिड २०० एमबीपीएस पुर्‍याएको छ । हालै मात्रै न्यूनतम १५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएको कम्पनीले त्यसको केही समयपछि सोही प्याकेजलाई २०० एमबीपीएस कायम गरेको हो । 

यसअघि १५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज लिइरहेका ग्राहकलाई समेत २०० एमबीपीएसको प्याकेजमा सिफ्ट गरेको कम्पनीले नयाँ प्याकेजसँगै आकर्षक अफर ल्याएको हो । कम्पनीले २०० एमबीपीएस प्याकेजको मूल्य वार्षिक १४ हजार ४०० रुपैयाँ तोकेको छ । जुन मासिक १२ सय रुपैयाँ हुन आउँछ ।

यो प्याकेजमा ग्राहकले एउटा नेटटिभी कनेक्सन निःशुल्क रूपमा पाउने कम्पनीका मार्केटिङ म्यानेजर तेञ्जिङ चोग्यालले जानकारी दिए । यति मात्र होइन, यस अघि एउटा इन्टरनेट कनेक्सनमा एक जना प्रयोगकर्तालाई मात्रै वाईफाई मोबिलिटी सेवा उपलब्ध हुने गरेकोमा अब भने पाँच जनासम्मले यो सुविधा पाउनेछन् ।

यसको अर्थ नेटफ्लिक्समा एउटै युजरनेम तथा पासवर्डबाट विभिन्न प्रयोगकर्ताले भिडिओ हेरे जस्तै वर्ल्डलिङ्कका ग्राहकले त्यसैगरी आफ्नो वाईफाई मोबिलिटीको युजरनेम र पासवर्ड पाँच जनासम्ममा शेयर गर्न सक्नेछन् । देशभर १४ हजारभन्दा बढी स्थानमा रहेका कम्पनीका फ्रि वाईफाई हटस्पटमा त्यस्ता प्रयोगकर्ताले अनलिमिटेड इन्टरनेट पहुँच पाउनेछन् ।

यस्ता हटस्पटमा कम्पनीका ग्राहक बाहेकका अन्य प्रयोगकर्ताले भने दैनिक ५०० एमबीपीएस डेटा मात्रै चलाउन पाउने व्यवस्था छ । यससँगै  कम्पनीले तुरुन्तै नामक  अर्को अफर समेत ल्याएको छ ।

जसअन्तर्गत इन्टरनेट सेवा अवरुद्ध भएको दुई घण्टाभित्र समाधान नभएमा ग्राहकले कम्पनीको तर्फबाट क्षतिपूर्ति स्वरूप दुई दिनको सेवा निःशुल्क रुपमा पाउने मार्केटिङ म्यानेजर चोग्यालको भनाई छ । 

यसा साथै वर्ल्डलिङ्कले दुई नेटटिभी सहितको मासिक १३०० रुपैयाँको प्याकेजमा अब २५० एमबीपीएसको इन्टरनेट दिनेछ भने मासिक १६५० रुपैयाँमा उपलब्ध तीन नेटटिभी सहितको ३०० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्य घटाएर १५०० रुपैयाँ कायम गरिएको छ । ​​​​​​​ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२