close

नास्टले तयार पार्‍यो आईसीटी बस, के के होलान् सुविधा ?

टेकपाना टेकपाना

जेठ १, २०७९ २०:३४

नास्टले तयार पार्‍यो आईसीटी बस, के के होलान् सुविधा ?

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले देशमा विद्यमान प्रविधिको पहुँचमा भएको अन्तरलाई मेटाउने उद्देश्य सहित सूचना तथा सञ्जार प्रविधि (आईसीटी) बस तयार भएको छ । यो बस प्रविधियुक्त बस हो ।

यसमा वाई-फाई, ल्यापटप, प्रोजेक्टरदेखि लिएर एउटा आईटी ल्याबमा आवश्यक सम्पूर्ण उपकरणहरू उपलब्ध छन् । दक्षिण कोरियाली सरकारको सहयोगमा इन्फरमेसन एक्सेस सेन्टर अन्तर्गत आईसीटी मोबाइल ल्याबोरेटोरीको रुपमा नास्टले यो बस तयार पारेको हो ।

हाल यो बसको निर्माण र परीक्षण सकेर पनि यसको सार्वजनिक सञ्चालनको लागि प्रदेश तथा स्थानीय सरकारहरूलाई प्रस्ताव राखेको नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालल‍े बताए ।

‘अहिले हामी विभिन्न तालिमहरूमा यसको डेमाेन्स्ट्रेसन (प्रदर्शन) गरिरहेका छौं । क्यान इन्फोटेकमा पनि हामीले यसको प्रदर्शन गरेका थियौं,’ उनले भने, ‘अब पूर्वका केही जिल्ला र गण्डकी प्रदेशका केही जिल्लामा प्राविधिक तालिम दिन प्रयोग गर्न लाने तयारी भइरहेकाे छ ।’

यसका साथै केही प्रदेश र स्थानीय सरकारसँग यो बसको प्रयोगबारे प्रस्ताव गरेको उनले बताए । दुर्गम ठाउँमा प्रविधिको पहुँचमा नपुगेका मान्छेहरूलाई यो बसमार्फत प्रविधिको बारेमा ज्ञान दिएर उनीहरूलाई प्रविधि आफ्नो अधिकार हो भन्ने महसुस गराउन यो बस प्रयोग गरिने उनले बताए ।

याेसँगै विद्यालयहरू, जहाँ विद्यार्थीले प्रविधि पढेका त हुन्छन्, तर प्रयोग गरेका हुँदैनन् त्यस्त विद्यार्थीलाई पनि आईटी ल्याबको महत्त्व बुझाउने उद्देश्य सहित यसको निर्माण गरिएको उनले बताए ।

‘प्रविधिको पहुँच नपुगेको ठाउँमा र विद्यार्थीहरूलाई प्रविधि सम्बन्धि ज्ञान र सिप सिकाउनको लागि यो बसलाई सम्बन्धित ठाउँमा नै लगेर तालिम दिइनेछ,’ उनले भने, ‘यसको मूख्य उद्देश्य भनेको मानिसहरूमा प्रविधि सम्बन्धि सचेतना फैलाएर प्रविधिमा रुचि बढाउनु हो ।’

प्रविधिको पहुँचमा भएको अन्तरलाई हटाउने कार्य नास्ट एक्लैले गर्न नसक्ने बताउदै यसमा सरकार स्तरिय पहल हुनेमा ढकालले जोड गरे । २५ भन्दा बढी सहभागी बसेर प्रशिक्षण लिन सकिने यो बस तयार गर्नको लागि करिब १ करोडदेखि डेढ करोड रुपैयाँसम्मकाे लागत लाग्ने उनको भनाइ छ ।

स्थानीय तहले चाहेको खण्डमा आफ्नो क्षेत्रमा प्रविधिसम्बन्धी तालिमका लागि यो बस प्रयोग गर्न अथवा आफैंले यस्तो बसको निर्माण गरेर सञ्चालन गर्नसक्ने उनले बताए । यस विषयमा अहिले नै कुनै स्थानीय निकायसँग कुनै ठोस सम्झौता भने भइनसकेको उनले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२