close

आधुनिक सुविधासहित साझाका बिजुली बस नेपाली बजारमा, सिङ्गल चार्जमा २०० किलोमिटर गुड्ने

टेकपाना टेकपाना

जेठ ३, २०७९ ७:३९

आधुनिक सुविधासहित साझाका बिजुली बस नेपाली बजारमा, सिङ्गल चार्जमा २०० किलोमिटर गुड्ने

काठमाडौँ । सरकारी स्वामित्वको सार्वजनिक कम्पनी साझा यातायातले तीनवटा विद्युतीय बस नेपाल भित्र्याएको छ । चीनको नान्जिङ सहरमा निर्माण भएको “सीएचटीसी” कम्पनीको विद्युतीय बस साझाले तातोपानी नाका हुँदै नेपाल ल्याएको हो ।

गत वर्ष वैशाखमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउन आह्वान गरेको थियो । यो प्रक्रियासँगै पहिलो चरणमा ४० वटा बस खरिदका लागि साझाले सार्वजनिक टेन्डर गरेको थियो ।

सोही टेन्डर अनुसार माग गरिएको मापदण्डको आधारमा साझाले बस खरिद गरेको हो । साझा यातायातले खरिद गरेको ४० वटा विद्युतीय बसमध्ये पहिलो चरणमा तीनवटा बस आएको हो ।

थप ३७ ओटा बस “एलसी” तथा  कम्पनीसँग भएको सम्झौता अवधि अनुसार साउन महिना भित्र आउने कम्पनीले जनाएको छ ।

कम्पनीले चार्जर बाहेक एक करोड २९ लाख रुपैयाँ बराबरको लागतमा पहिलो चरणमा ल्याइएको बस काठमाडौँको बाटोमा परीक्षण गर्नका लागि भएको साझा यातायातका प्रोजेक्ट म्यानेजर ई. गौरवराज पाण्डेले जानकारी दिए ।

त्यस्तै, गाडीको क्षमता, स्पेसिफिकेशन काठमाडौँको क्षेत्रलाई लक्षित गर्दै आवश्यकता बमोजिम खरिद गरिएको छ । १६१ किलोवाट क्षमताको लिथियम आयन फोस्पेट ब्याट्री जडान भएको यो बसमा १६५ किलोवाट क्षमताको मोटर राखिएको छ ।

९० किलोवाटको चार्जरबाट २.५ घण्टामा पूर्णरुपमा चार्ज गर्न सकिन्छ । यो बसले डिसी फास्ट चार्जिङ सपोर्ट गर्दछ र एकपटकको पूर्ण चार्जमा ४२ बढी यात्रु लिएर २०० किलोमिटर यात्रा गर्नसक्ने कम्पनीको दाबी छ ।

चालक सहित २६ सिट क्षमता भएको बस अपाङ्गमैत्री रहेको छ । नौ मिटर लम्बाइ रहेको यो गाडीमा दुईवटा ढोका रहेका छन्, जसमध्ये पछाडिको ढोकाबाट अपाङ्गता भएका व्यक्तिले सहजै आवतजावत गर्नसक्ने छन् ।

अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै ठाउँ छुट्याइएको छ भने वाईफाई, टिभी डिस्प्ले, सिट बेल्ट, सिसीटिभी क्यामेरा लगायतका अत्याधुनिक सुविधा समेत उपलब्ध छन् । रेग्जिनको सिट कभर राखिएको छ भने उच्च स्तरीय प्लास्टिकको सिट राखिएको छ ।

सहरी क्षेत्रमा चल्ने बसका यात्रुका लागि यात्रा गर्न सहज हुने कम्पनीको विश्वास छ । आयात भएका यी बसहरूको विभिन्न तहमा परीक्षण हुने कम्पनीले जनाएको छ ।

पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको टेकुस्थित सवारीसाधन जाँच केन्द्रमा साझाको विद्युतीय बस सडकका लागि कतिको उपयुक्त छ परीक्षण गरिनेछ ।

साथै यसमा ब्रेक लगाउने क्षमता, बेलुकाको समयमा यात्रा गर्नका लागि उपयुक्त छ कि छैन भनी लाइटको जाँच, ‘ग्रेडीबिलिटी टेस्ट’ (उकालो तान्नसक्ने क्षमता), अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ११५ डेसिबल भन्दा अधिक राख्न नमिल्ने भएकाले हर्न टेस्ट, लगायत अन्य भागको जाँच हुन्छ ।

त्यसपछि, दोस्रो चरणमा साझा यातायातको प्राविधिक समूहले परीक्षण गर्नेछ । ‘वातावरणमैत्री, आवाज नआउने, कम्पन नहुने भएकाले काठमाडौँमा यात्रा गर्न यात्रुलाई सहज र आरामदायी हुने विश्वास छ,’ उनले भने ।

कम्पनीको आगामी योजना उपत्यकाबाहिर लामो दूरीको यात्राका लागि पनि विद्युतीय बस सञ्चालन गर्ने रहेको पाण्डेले जानकारी दिए  ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२