close

विद्युतीय कार नेपाल ल्याउदै चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स

टेकपाना टेकपाना

जेठ ३, २०७९ १४:३७

विद्युतीय कार नेपाल ल्याउदै चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले ‘नेटा भी’ नामक विद्युतीय कार नेपाल भित्र्याउने भएको छ । चीनको जिजियाङ प्रान्तमा रहेको ‘होजन अटो न्यु इनर्जी भेइकल कम्पनी’बाट सीजीले उक्त कार  यसै शुक्रबारसम्म नेपाल ल्याउने भएको हो ।

विद्युतीय कार ‘नेटा भी’ पहिलो पटक नेपाल भित्र्याउन लागिएको कम्पनीले जनाएको छ । चार हजार ७० एमएम लम्बाई, एक हजार ६९० एमएम चौडाइ र उचाई एक हजार ५४० एमएम रहेको यो कारको ह्वीलवेस दुई हजार ४२० एमएम रहेको छ । त्यस्तै, यसको ग्राउण्ड क्लियरेन्स १६० एमएम रहेको छ ।

टेस्लाको जस्तै डिजाइन भएको यो कार आकर्षक र बोल्ड देखिन्छ । यो कारमा की-लेस इन्ट्री सिस्टम, रियर भ्यु क्यामेरा, ‘टीपीएमएस’ (टायर प्रेसर मनिटरिङ सिस्टम), ‘एबीएस’ (एन्टी-लक ब्रेकिङ सिस्टम), हिल स्टार्ट असिस्ट, ड्राइभर/ प्यासेन्जर एयरब्याग आदि जस्ता अत्याधुनिक सुरक्षाका फिचर उपलब्ध छन् ।

कारको दुवै छेउमा चार्जिङ पोर्ट राखिएको छ भने त्यसको एक भागमा स्लो चार्जिङ पोर्ट र अर्को भागमा फास्ट चार्जिङ पोर्ट दिइएको छ । यो कारलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टा लाग्छ । फास्ट चार्जरबाट भने ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

नेपाल आउने कारमा दुई ओटा फरक मोटर र ब्याट्री प्याकको विकल्प दिइएको छ । स्टान्डर्ड भेरियन्टमा ३१.१८ किलोवाट आवरको ब्याट्रीसँगै ४० किलोवाटको मोटर जडान गरिएको छ ।

यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ । त्यसैगरी, यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर जडान गरिएको छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज प्रदान गर्दछ । नेटा भीको मूल्य करिब ३८ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।


पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२