close

‘स्टेबल क्वाइन’ : जसले उथलपुथल पारिदिएको छ क्रिप्टोकरेन्सीको विश्व बजार

टेकपाना टेकपाना

जेठ ३, २०७९ १७:८

‘स्टेबल क्वाइन’ : जसले उथलपुथल पारिदिएको छ क्रिप्टोकरेन्सीको विश्व बजार

काठमाडौं । पछिल्ला केही दिनमा क्रिप्टो बजारमा स्टेबल क्वाइनको चर्चा चलिरहेको छ । स्टेबल क्वाइनको मूल्य कम भएसँगै क्रिप्टोकरेन्सीको बजारमा पनि प्रभाव परेको थियो ।

सामाजिक सञ्जाल विशषगरी ट्वीटरमा विगत दुई-चार दिनदेखि ‘टेरायूएसडी’ (लुना) स्टेबल हुन नसकेको कुरामा ट्रेन्डिङमा छ । टेराले आफ्नो शतप्रतिशत मूल्य गुमाएको छ ।

विश्वमा अहिलेसम्मकै चर्चित स्टेबल क्वाइनको रुपमा टेरायूएसडी लाई लिइन्छ । हाल स्टेबल क्वाइनका धेरै लगानीकर्ताहरूको लगानी डुबेको छ । आजका दिनमा स्टेबल क्वाइन क्रिप्टो इकोसिस्टमको केन्द्रविन्दु बनेको छ ।

स्टेबल क्वाइन के हो र यसको मूल्य कसरी निर्धारण हुन्छ, अनि अहिले बजारमा यसको चर्चा किन छ भन्ने विषयमा यहाँ उल्लेख गरेका छाैं । 

के हो स्टेबल क्वाइन ?

स्टेबल क्वाइन पनि एक प्रकारको क्रिप्टोकरेन्सी नै हो । तर अन्य क्रिप्टोकरेन्सीको तुलनामा स्टेबल क्वाइनलाई तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । किनभने क्रिप्टोकरेन्सीको मूल्य एकदमै संवेदनशील हुन्छ ।

यसको मूल्य एकैछिनमा ह्वात्तै बढ्न सक्छ भने अर्को पलमा ह्वात्तै घटेर लगानीकर्ताको लगानी सबै डुब्न पनि सक्छ । यही उतारचढावलाई नियन्त्रण गर्न स्टेबल क्वाइनको सुरुवात भएको हो ।

स्टेबल क्वाइनको मूल्य अन्य क्रिप्टोकरेन्सीको जस्तो छोटो समयमा धेरै उतारचढाव हुँदैन । त्यसैले पनि यसले क्रिप्टोकरेन्सीको बजारमा निकै नै महत्त्वपूर्ण भूमिका खेल्छ । सामान्य भाषामा बुझ्दा स्टेबल क्वाइन भनेको निश्चित मूल्य भएको क्रिप्टोकरेन्सी हो जसको मूल्य वास्तविक मुद्रा अथवा सुनको आधारमा तय हुने गर्छ ।

उदाहरणका लागि एउटा स्टेबल क्वाइनको मूल्य एक अमेरिकी डलर बराबरको हुन्छ । बजारमा अहिले विभिन्न प्रकारका स्टेबल क्वाइनहरू छन्, जसको मूल्य फरक फरक मुद्रा अथवा वस्तुमा आधारित छ । 

स्टेबल क्वाइनका प्रकार 

अहिले प्रयोगमा भएका स्टेबल क्वाइनहरू भनेको मुद्रामा आधारित स्टेबल क्वाइन, क्रिप्टोमा आधारित स्टेबल क्वाइन, वस्तुमा आधारित स्टेबल क्वाइन र अल्गोरिदममा आधारित क्रिप्टोकोइन हुन् ।

मुद्रामा आधारित स्टेबल क्वाइनको मूल्य कुनै निश्चित मुद्रा जस्तो कि डलर, यूरो लगयातसँग सम्बन्धित हुन्छ । एउटा स्टेबल क्वाइन बराबर बैंकमा एक डलर जम्मा हुने गर्छ । यसको कारोबार निकै नै सहज हुने हुँदा धेरैजसो लगानीकर्ताहरू यसप्रति आकर्षित छन् ।

अर्को वस्तुमा आधारित स्टेबल क्वाइन कुनै वस्तु जस्तो कि सुन, घरजग्गा अथवा तेलसँग सम्बन्धित हुन्छ । बजारमा निकै चलेको वस्तुगत स्टेबल क्वाइनमा सुनसँग सम्बन्धित स्टेबल क्वाइन रहेको छ ।

यस्तो प्रकारको स्टेबल क्वाइनको मूल्य भने वस्तुको आधारमा घटबढ हुने गर्छ । अर्थात् सुनको मूल्य घट्दा स्टेबल क्वाइनको पनि मूल्य घट्न जान्छ । यसमा एउटा टोकन बराबर एक ग्राम सुनको मूल्य हुन्छ ।

कहिलेकाहीँ विश्वसनीयताको स्टेबल क्वाइन बराबरको सुन बैंकमा मौज्दात गरेर पनि राख्ने गरिन्छ । वस्तुगत मूल्यमा धेरै ठूलो उतारचढाव नआउने कारण पनि वस्तुमा आधारित विशेषगरी सुनमा आधारित स्टेबल क्वाइन लोकप्रिय छ ।

यस्तै क्रिप्टोमा आधारित स्टेबल क्वाइन ब्लकचेनमा आधारित हुन्छ जसको कुनै केन्द्रिकित कारोबार हुँदैन । यसको कारोबार विकेन्द्रीकरणमा आधारित हुन्छ । क्रिप्टोकरेन्सीमा आधारित भएकोले यो अन्यभन्दा स्थिर भने हुँदैन ।

स्टेबल क्वाइनको अर्को प्रकार हो, अल्गोरिदममा आधारित स्टेबल क्वाइन । यो कुनै वस्तु वा सम्पत्तिमा आधारित नभएर स्टेबल क्वाइनको आपूर्तिलाई नियन्त्रण गर्ने एउटा प्रणाली हो । यसको कारोबार स्टेबल क्वाइनको आपूर्तिमा निर्भर हुन्छ ।    

बजारमा चर्चित स्टेबल क्वाइनहरू 

क्रिप्टो खरिद तथा बिक्री गर्नका लागि प्रयोगमा आउने स्टेबल क्वाइनहरू नै अहिले बजारमा धेरै चर्चित छन् । तीमध्ये निकै चर्चित र प्रयोगमा आएको स्टेबल क्वाइन टिथर, यूएसडीसी लगायतका रहेका छन् । 

स्टेबल क्वाइन किन आवश्यक छ ? 

स्टेबल क्वाइनको मुख्य काम भनेको क्रिप्टोको खरिद बिक्रीलाई सहज बनाउने हो । वास्तविक मुद्रा दिएर प्रत्यक्ष रुपमा क्रिप्टोकरेन्सी खरिद गर्नुभन्दा पनि लगानीकर्ताहरूले स्टेबल क्वाइन मौज्दात गरेर सो स्टेबल क्वाइनले बिट्क्वाइन अथवा क्रिप्टोको कारोबार गर्ने गर्छन् ।

यसको अर्थ क्रिप्टो कारोबारको लागि स्टेबल क्वाइन भनेको पोकर चिप्स (क्यासिनोमा जादाँ पैसाको सट्टा दिइने टोकन) जस्तै हो । केही देशमा रेमिट्यान्सको रुपमा पनि यसको प्रयोग गरिएको छ ।

अर्थात् एक देशबाट अर्को देशमा कारोबार गर्नको लागि वास्तविक मुद्रामा आधारित स्टेबल क्वाइनको प्रयोग गरिन्छ । यसले थर्ड पार्टीलाई दिनुपर्ने शुल्कको बचत गर्छ । यसको प्रयोगको लागि कुनै बैंक खाताको आवश्यकता पर्दैन तर क्रिप्टो वालेटको भने आवश्यकता हुन्छ ।

किन छ स्टेबल क्वाइन चर्चामा ?

पछिल्लो समयमा स्टेबल क्वाइन निकै नै चर्चामा आएको छ । विशेषगरी टेरायूएसडी स्टेबल क्वाइन क्रयाश भएपछि यसबारेमा धेरै चर्चा हुन थालेको हो । गत हप्ता टेरायूएसडीको मूल्य ९० प्रतिशतभन्दा बढिले घटेको थियो । यसले गर्दा अन्य क्रिप्टोकरेन्सीहरूको मूल्य पनि करिब ५० प्रतिशतले घटेको थियो ।

टेरायूएसडी ब्लकचेनमा आधारित स्टेबल क्वाइन हो । यहि कारणले केहि प्राविधिक समस्या आएपछि यसको मूल्य ह्वत्तै घट्न पुगेको चर्चा छ । यद्यपि यसको ठ्याक्कै कारण भने आइसकेको छैन ।

अहिले विभिन्न कम्पनीहरूले यसको कारोबारमा रोक लगाइसकेको छ भने टेरायूएसडी आफैले पनि यसको कारोबार रोकिएको बताएको छ ।

लगानीकर्ताहरूमा भने अब यसको कारोबार पुन: सुरु हुने वा होइन अथवा यसको मूल्य पुन बढ्नेछ वा छैन भन्ने विषयमा अन्यौलता बढेको छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२