close

अब सरकारले ज्येष्ठ नागरिकलाई सूचना प्रविधिको सीप सिकाउने

टेकपाना टेकपाना

जेठ ३, २०७९ २२:१६

अब सरकारले ज्येष्ठ नागरिकलाई सूचना प्रविधिको सीप सिकाउने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्ष (आव) २०७९/०८० मा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै आफ्नो कार्यक्रम तय गर्ने भएको छ । मङ्गलबार ५३ औँ अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसको अवसरमा आयोजित कार्यक्रम मार्फत नियामकले यस्तो योजना अगाडि सारेको हो । 

यस वर्षको आईटीयू दिवसका लागि ‘डिजिटल टेक्नोलोजी फर वल्ड पर्सन एण्ड हेल्दी एजिङ्’ नारा तय गरिएको थियो । प्राधिकरणको जमल स्थित कार्यालयमा आयोजना भएको कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘हामीले चालु आव २०७८/०७९ मै ज्येष्ठ नागरिक लक्षित कार्यक्रम राखेका छौँ । जसको उद्देश्य प्रदेश अनुसार सात जिल्लामा ज्येष्ठ नागरिकलाई सूचना प्रविधिको सीप सिकाउनु रहेको छ ।’ 

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर पहिलो चरणमा पाइलट परियोजनाको रुपमा अघि बढाइएको यो कार्यक्रमलाई निरन्तरता दिनुका साथै ज्येष्ठ नागरिकलाई लक्षित गर्दै थप कार्यक्रमहरू तय गर्ने खनालले बताए । त्यस्तै कार्यक्रममा बोल्दै प्राधिकरणका निर्देशक दीपेश आचार्यले ज्येष्ठ नागरिकलाई प्रविधिसँग जोड्नका लागि आवश्यक कदम चाल्न प्राधिकरण सँधै तत्पर रहेको बताए ।

उनले आगामी आवको कार्यक्रम निर्धारण हुने क्रममा रहेकाले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको मान्यतालाई पूरा गर्ने गरी आगामी वर्षका कार्यक्रमहरू तय हुने उल्लेख गरे । त्यस्तै प्राधिकणका अर्का निर्देशक मीनप्रसाद अर्यालले नियामकको रुपमा प्राधिकरणले ज्येष्ठ नागरिकलाई लक्षित नितिगत व्यवस्था गर्नु पर्ने औँल्याए ।

साथै उनले ज्येष्ठ नागरिकलाई प्रविधिसँग जोड्न निःशुल्क इन्टरनेट, मोबाइलमा सहुलियत तथा निःशुल्क सिम प्रदान गर्ने कार्यक्रम समेत तय गर्न सकिने सुझाव दिए । त्यस्तै कार्यक्रममा निर्देशक अर्जुन घिमिरेले प्राधिकरणले कार्यक्रम तय गरेता पनि त्यसको कार्यान्व्यनको स्थितिमा ध्यान दिनु पर्ने बताए ।

‘प्राधिकरणले काम अघि बढाउने मात्रै भन्दा पनि त्यसको प्रगतिको मूल्याङ्कन गर्न आवश्यक छ,’ उनले भने, ‘यदि त्यसो नहुने हो भने प्राधिकरणले गरेको लगानीको कुनै प्रतिफल प्राप्त हुने छैन ।’ प्राधिकरणका निर्देशक अम्बर स्थापितले ज्येष्ठ नागरिक लक्षित नेपाली कन्टेन्टको आवश्यकता रहेको कुरामा जोड दिए ।

ज्येष्ठ नागरिकलाई लक्षित गर्दै वृद्धाश्रममा निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सकिने राय समेत कार्यक्रममा प्रस्तुत भएको छ । यसका साथै ज्येष्ठ नागरिकलाई लक्षित गर्दै बन्ने कतिपय प्रविधिको विकासमा समेत लगानी गरी वैज्ञानिकलाई यस तर्फ प्रोत्साहन गर्न समेत प्राधिकरण अग्रसर हुनुपर्ने विचार समेत व्यक्त भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२