close

एपमा स्थानीय स्वाद

टेकपाना टेकपाना

जेठ ४, २०७९ १३:५७

एपमा स्थानीय स्वाद

काठमाडौं । नेपालमा स्मार्टफोन एपको विकास तथा प्रयोगको इतिहास धेरै पुरानो त छैन । तर १५/१६ वर्षको नेपाली एप उत्पादन तथा प्रयोग अनुभूति भने अद्भुत छ ।

नेपालमा फेसबुकको प्रयोग सन् २००७ मा व्यक्तिगत रुचि तथा स-साना विशेषतायुक्त केही एप बनाउने कार्य सुरु भएको देखिन्छ । त्यसपछि सन् २००७–०८ को समय नेपाली एप डेभलपरहरूले सिक्ने, प्रयोग गर्ने तथा गुगल तथा एप्पलका प्लेटफर्महरूमा स्मार्ट नेपाली एपको सपना बुन्न थालेको देखिन्छ ।

आजका दिनसम्म आइपुग्दा नेपाली डेभलपरहरूले नेपाली एप मात्र होइन, विश्वबजारका लागि एन्ड्रोइड तथा आईओएस प्लेटफर्ममा उपलब्ध कैंयौं ठूला तथा चुनौतीपूर्ण परियोजनामा आफ्नो कोडिङ स्तर तथा दक्षता आउटसोर्सिङमार्फत देखाइसकेका छन् ।

नेपाली एपमार्फत सुरुवाती दिनहरूमा विश्वभर छरिएर रहेका नेपालीहरूका लागि अत्यावश्यक जानकारीयुक्त विक्रम संवत् क्यालेन्डर, मिति कन्भर्टर, नेपाली रेडियो, राशिफल जस्ता सुविधा सार्वजनिक भइसकेका छन् ।

पछिल्लो समय मोबाइल प्रयोगकर्ताको दैनिकी, जीवनशैलीलाई थप सहज, थप स्मार्ट बनाउन नेपाली माटो सुहाउँदो नेपाली स्वादका सुविधा समेटिएका एप्लिकेसन एप्पलको एपस्टोर गुगलको प्लेस्टोरबाट प्रयोग गर्न सकिन्छ ।

तिनै एपमध्यको अग्रणी एउटा एप, जसले सन् २००७ मा विश्वभर छरिएर रहेका नेपालीहरूबीच पहिलो पटक कम्युनिटी एपका रूपमा विक्रम संवत् क्यालेन्डरको डिजिटल संस्करण ‘नेपाली पात्रो’का नामबाट नेपाली भाषामा सार्वजनिक गर्‍याे ।

यो एप्लिकेसन फेसबुकको मार्कअप ल्याङ्ग्वेज (एफबीएमएल) फ्रेमवर्कमार्फत तयार गरिएको थियो, जुन एचटीएमएल सरहकै भाषामा थियो । नेपालीद्वारा नेपालीका लागि नेपालमै उत्पादित यो एप्लिकेसनले पछिल्लो १६ वर्षको यात्रामा नेपालीपन समेटिएका थुप्रै सुविधा निरन्तर अपडेट/अद्यावधिक गर्दै आएको छ ।

नेपालीपन र गलोबल स्वाद
देशमा चर्किंदो द्वन्द्व र द्वन्द्वपछिको नयाँ नेपालको यात्राका क्रममा नेपालीहरू घरदेखि पर रोजगारीका लागि सहर पस्ने क्रम होस् या थप अवसरको खोजीमा वैदेशिक रोजगारीका लागि देशदेखि पर खाडी, मध्यपूर्वका देशहरूमा लाखौं नेपाली बाहिरिएका थिए । उच्च शिक्षा तथा अवसरका लागि थुप्रै नेपाली युवा युरोप तथा अमेरिका पुग्ने क्रम पनि उस्तै थियो ।

आफ्नो थातथलो छाडेर, सात समुद्रपार आफ्नो माटो, संस्कृति, उत्सव, पर्वको सुगन्धदेखि टाढा हुनुको पीडा विदेश बस्ने नेपालीहरूभन्दा बढी कसलाई होला र ? यही कारणले गर्दा नेपाली एपमा प्रयोगकर्ताहरूको पहुँच इन्टरनेट र महँगो स्मार्टफोनका कारण नेपालभित्रभन्दा नेपाल बाहिर अत्यधिक थियो ।

विदेशमा अंग्रेजी क्यालेन्डरमा अल्झिएको नेपालीहरूको दैनिकीमा कहिले जनैपूर्णिमा आयो त कहिले आमाको मुख हेर्ने दिन भन्ने विषय प्रमुख खोजीका विषय हुँदै आएका छन् ।

सुरुवाती दिनहरूमा नेपालबाट जानेहरूले लगिदिएका केही नयाँ क्यालेन्डर र डेस्कटपका केही सफ्टवेयरबाहेक प्रविधिगत अन्य स्रोतहरूमा विक्रम संवत् क्यालेन्डरहरू उपलब्ध थिएनन् । हाम्रो पूर्वीय दर्शन र संस्कृति, परम्पराको जगमा हुर्किएर पश्चिमी परिवेशमा नेपाल खोज्नु साँच्चै अनौठो र भावनात्मक अनुभूति हुनुपर्छ ।

सोह्रश्राद्धमा मातापिता तथा पितृहरूको तिथि कहिले होला, भाइटीका, रक्षाबन्धन कहिले होला ? तिलको लड्डु खाने दिन, खीर खाने दिन, क्वाँटी खाने दिन, होली, विभिन्न जात्रा होस् या दसैंतिहारको पर्वीय उल्लास सम्झाउने माध्यम बनेको ‘नेपाली पात्रो ।’

आजको स्वरूपमा नेपालमा सर्वाधिक प्रयोग गरिने नेपाली कम्युनिटी एप हो यो, जसले निरन्तर १६ वर्षदेखि नेपाली मन र नेपाली पनको ख्याल राख्दै समयअनुकूल सुविधाहरू अपडेट गर्दै आएको छ ।

२०६८ मा नेपाली पात्रो एपको स्वरूप

एकातर्फ नेपाली प्रयोगकर्ताहरू विश्वका हरेक कुनामा हुनु र विभिन्न विश्वस्तरीय मोबाइल एपहरू प्रयोग गर्दै जानुले ‘नेपाली पात्रो’लाई विश्व प्रविधिको रफ्तारसंग क्रमशः जोड्दै लैजानु मुख्य उद्देश्य छ ।

हाम्रो गति र ऊर्जा यसै नेपालीपन, नेपालीमन समेट्दै उत्कृष्ट प्रविधिको ग्लोबल स्वाद र अनुभूति ‘नेपाली पात्रो’को विशेषता बनेको छ । स्मार्टफोनले हरेकको जीवनमा एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

प्रयोगकर्ताहरू आफ्नो दैनिक जीवनमा यति व्यस्त छन् कि छापिएका अथवा चाहिएका हरेक कुराहरू घर बसेरै एक क्लिकमा हेर्न, अनुभव गर्न र प्राप्त गर्न चाहन्छन् ।

यसका लागि प्रयोग हुने भनेकै स्मार्टफोनमा उपलब्ध मोबाइल एप हो, जुन प्रयोगका हिसाबमा उपयोगी होस्, प्रयोगकर्ताको व्यक्तिगत सूचना एपले आफूसँग सुरक्षित नराखोस्, प्रयोग गर्दा धेरै डाटा खर्च नहोस् र एपमा उपलब्ध हरेक सुविधाहरू अपडेटेड होस् ।

यही नै मुख्य कारण हो, जसले गर्दा ‘नेपाली पात्रो’ आज एक करोड प्रयोगकर्तासहितको यात्रातर्फ अग्रसर छ ।

सन् २००७ मा फेसबुकमा सार्वजनिक एप होस् या २०१० मा गुगल प्लेस्टोरमार्फत प्रथम पटक सार्वजनिक ‘नेपाली पात्रो’ प्रयोगका हिसाबले निरन्तर एउटा शिखरतर्फको यात्रामा अगाडि बढिरहेको छ ।

सन् २०१५–०१६ बाट नेपालका दूरदराजका क्षेत्रमा भएको इन्टरनेटको क्षमता वृद्धि तथा सस्तिएको स्मार्टफोनमा आम नागरिकको पहुँचले गल्फ, मध्यपूर्व, युरोप तथा अमेरिकामा अत्यधिक प्रयोग हुने ‘नेपाली पात्रो’ क्रमशः नेपालमा बढ्दै गएको हो ।

सन् २०१५–२०१६ अघि ८० प्रतिशतभन्दा बढी प्रयोगकर्ताले नेपाली एप प्रयोग गर्दथे भने सन् २०१६ पछि ताजा अवस्थामा ७२–७५ प्रतिशत प्रयोगकर्ता नेपालभित्रबाटै छन् । भारत दोस्रो र संयुक्त राज्य अमेरिका सक्रिय प्रयोगकर्ताको तेस्रो पंक्तिमा छ ।

विश्वसनीय समाचार स्रोत छनोट गर्न सक्ने नेपाली प्रयोगकर्ता

नेपाली सूचना सामाग्री एपमा सार्वजनिक भएका सुरुवाती समय र वर्तमान समय आकाश–जमिनको अन्तर भेटिन्छ ।

सुरुवातका समयहरूमा अधिकांश प्रयोगकर्ता मनोरञ्जन, यौन सामग्रीहरू बढी खोज्ने भेटिए पनि समाचार विषयवस्तुको छनोटमा पछिल्लो ४–५ वर्षले फरक सामग्रीतर्फ प्रयोगकर्ताहरूलाई खिच्न थालेको छ । एउटै सामग्रीमा ५ मिनेटसम्म एक जना प्रयोगकर्ताको उपस्थिति नेपाली कम्युनिटी एपका लागि सकारात्मक उपलब्धि हो ।

नेपाली पात्रोमै यदि हाल प्रयोगकर्ताहरूको समाचार छनोटको अनुभव र रुचिलाई हेर्ने हो भने अधिकांश दैनिक राजनीतिक टालटुले गफबाट आजित भएका देखिन्छन् ।

सकारात्मक सोच र समाजमा प्रभाव पारेका समाचार, अभाव, रोग र शोकमा परेका नागरिकको समाचार, देशको विषम राजनीतिक घटनाक्रमहरूमा चासो राख्ने, अपडेट खोज्ने प्रयोगकर्ताहरूको वृद्धि भएको देखिन्छ । क्लिक बिट खाले समाचारका हेडिङहरूमा प्रयोगकर्ता केही समय नअल्झिएका भने होइनन् ।

तर विस्तारै त्यस्ता सामग्रीहरू आउन सक्ने सम्भावित मिडियाका स्रोतहरूलाई ठूला घटनाक्रम र महत्त्वपूर्ण ब्रेकिङका बखत भने वास्तै नगर्ने सजग र स्मार्ट प्रयोगकको संख्या पनि बढेको छ ।

मोबाइल एप डेभलपमेन्ट तथा विकासमा नेपाल कहाँ पुग्नेछ ?
देखासिकी होस् या बुझेर, नेपाली एपहरू विभिन्न उत्पादन अथवा सेवाहरू घरघरमा छिटोछरितो रूपमा पुग्न लागि अथवा सूचना प्रविधिमा नवीन प्रयोगहरूका लागि धमाधम उत्पादन भइरहेका छन् ।

कुनै पनि नवीन कुराहरूमा यस्तो हुनु स्वाभाविक हो । यसले गुगल प्लेस्टोर र एप्पलको एपस्टोरमा नेपाली एपहरूको उपस्थिति र संख्या त देखाएको छ । तर उपलब्ध सबै मोबाइल एपहरूले नेपाली प्रयोगकर्ताहरूको आवश्यकता तथा रुचि समेट्न भने अझै सकेको छैन । गर्नुपर्ने काम, प्रयोग प्रयोगकर्ताहरूले विश्वस्तरीय एपहरूप्रति गर्ने विश्वासमा पनि कुनै कमी आउन दिनु छैन ।

‘नेपाली पात्रो’को अबको यात्रा केवल प्रयोगकर्ताको दैनिकीलाई सजिलो मात्र बनाउनु रहेको छैन, विश्व डिजिटल बजारमा उपलब्ध कम्युनिटी एपको अवधारणामा नेपाली स्वादको प्रयोग र सफलताका सूचकलाई छर्नु पनि छ ।

जाभा, पीएचपी, कोटलिन, पायथन फ्रेमवर्क जुनसुकैमा काम गरे पनि भोलिको समय नेपाल र नेपालीले ग्लोबल प्रयोगकर्ता लक्षित गतिविधि गर्न ढिला भइसकेको छ । हामी चाँडै नै यस विषयमा केही नवीन गतिविधिहरू घोषणा गर्ने तयारीमा छौं ।

मोबाइल ऐप डेभलपमेन्ट कता गइरहेको छ ?
वैश्विक स्वास्थ्य संकटले अनेक चुनौती र सम्भावनाहरूलाई एकसाथ उजागर गरेको वर्ष हो सन् २०२०–२०२१ । जसले व्यापार, भावना र कनेक्टिभिटीको लजिकलाई एउटा नयाँ बाटो देखायो ।

त्यो बाटो हो, डिजिटल इकोसिस्टमसहितको कम्युनिटी एपको । एउटा यस्तो व्यवस्थित कम्युनिटी एप, जसले सोचाइ, भोगाइ, आवश्यकता तथा अभिरुचिका हरेक आयाममा प्रयोगकर्ताहरूको दैनिकी र व्यापारलाई चलायमान बनाइरहन सघाओस् ।

अहिले कैंयौं कम्पनीहरूले आफ्नो व्यवसाय विस्तार तथा बजारमा आफ्नो उपस्थितिलाई अनलक गर्न हामीसँग साझेदारी गर्न खोजिरहनुभएको छ । तर समस्या के छ भने अधिकांश ई–कमर्स र डिजिटल वालेटहरू यस्तो प्रस्ताव गर्नुहुन्छ ।

प्रयोगकर्ताको रुचि र बजारको अन्य साधारण आवश्यकताहरूमा हामी पुग्न चाहन्छौं । हामी वास्तवमै एउटा यस्तो चलायमान डिजिटल युगमा छौं, जसले मानिसहरूलाई तीव्र गतिमा नयाँ प्रविधिअनुकूल हुन सहयोग गरिरहेको छ ।

अब प्रश्न यो छ— नेपाली डेभलपरहरूले आफूलाई त्यो गतिमा लान कुन गियर रोज्नेहुन्छ ? या त आउटसोर्सिङ र फ्रिल्यान्सिङमै गति बढ्नेछ या त विदेशतिर सुरक्षित भविष्यको खोजीमा सम्भावनाहरू बाहिरिनेछन् !

तर फेरि यो भनेको नेपाली एप डेभलपमेन्टमा कुनै नवीन कार्य नै हुनेछैन भन्न खोजेको होइन, नवीन कार्य र उपलब्धि राज्यको नीति र सूचना प्रविधिमा राज्यको लगानीले पनि भोलिको यात्रा तय गर्नेछ ।

आफ्नो रहर पूरा गर्न र आफूलाई गजबको आइडिया लाग्ने धेरै ठूला लगानीका असफल प्रयास यहाँ धेरै भइसके । आगामी दिनमा पनि यो रोकिएला भन्न गाह्रो छ ।

प्रयोगकर्ताको स्वीकारोक्ति र बजारको आवश्यकताका विषयमा एप निर्माता कम्पनी, सेवा तथा वस्तु उत्पादकहरू बसेर काम गर्ने संस्कृति थोरै भए पनि देखिन त थालेको छ ।

तर यो संस्कृतिलाई मलजल नगर्ने हो भने आगामी दिनमा नेपाली मोबाइल एपहरूको यात्राले ग्लोबल स्वादमा नवीन कुरा देला र त्यो विश्व डिजिटल बजारमा नोटिस होला भन्न सकिन्न ।

(प्रविधि पत्रकार मञ्च (टीजेएफ) को 'प्रविधि' जर्नल २०७९ मा प्रकाशित नेपाली पात्रोका सीईओ सन्तोष देवकोटाको विचार ।)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२