२०७९, १७ असार शुक्रबार   |  
Friday 1st July 2022

कसरी सुरु भयो ‘क्याप्चा’ ?

काठमाडौं । तपाईंले कुनै पनि वेबसाइटमा अकाउन्ट बनाउँदा वा फाराम भर्दा क्याप्चा (captcha) अवश्य पनि देख्नुभएको छ होला । कतिपय अवस्थामा त्यही क्याप्चा राम्रोसँग नभर्दा हामी धेरै दिक्दार भएका हुन्छौँ । तपाईंलाई कहिल्यै लाग्यो, त्यस्ता वेबसाइटमा किन क्याप्चा राखिएको हुन्छ ?

आज हामी क्याप्चाको इतिहास, त्यसको परिमार्जित स्वरूप र कार्यशैलीका बारेमा चर्चा गर्दै छौँ । सबैभन्दा पहिले हामी एउटा उदाहरणबाट कुरा सुरु गरौँ ।

तपाईंले सवारीचालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को फाराम पक्कै पनि भर्नुभएको छ होला । यदि छैन भने अन्य त्यस्ता वेबसाइटमा फाराम भर्नुभएको छ होला, जहाँ फाराम भर्दा निश्चित प्रक्रिया लागू हुन्छन् । अन्य क्षेत्रजस्तै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को फाराम भर्दा निश्चित समय तोकिएको हुन्छ ।

त्याे अवधिमा सयाैं/हजाराैं मानिसहरूले फाराम भर्ने प्रयास गरिरहेका हुन्छन् । यदि तोकिएको समयभन्दा ढिलो फाराम भरियो वा जति सङ्ख्यामा लाइसेन्स खुलाइएको छ, फाराम भर्ने त्योभन्दा धेरै भए भने लिखित परीक्षा र ट्रायल दिने मिति पछि पर्नसक्छ ।

उदाहरणका लागि मानौं, भोलि बिहान १० बजेदेखि साझँ ५ बजेसम्म फाराम भरी सक्नुपर्ने छ । साधारण तरिकाले फाराम भर्दा सामान्य मान्छेलाई न्यूनतम पाँचदेखि १० मिनेट वा सोभन्दा बढी समय लाग्नसक्छ । तर, यदि कुनै एउटा कुनै प्रोग्रामरले स्क्रिप्ट (भर्चुअल रोबाेट) तयार पारेर त्यसैका माध्यमबाट फर्म भर्नुपर्‍यो भने पाँचदेखि १० सेकेन्डमै सम्पन्न गर्छ ।

त्यसरी कुनै व्यक्तिले एक दिनमा लाखौँ फाराम भरिदियो भने कोटा सकिन्छ र अन्य व्यक्तिले फाराम भर्नेदेखि लिखित र ट्रायल दिने समय धेरै पछि पर्छ । त्यसरी कसैले प्रोग्रामिङका माध्यमबाट फाराम भरिरहेको छ भने पूरै प्रणालीको काम गर्ने शैली नै बिग्रन्छ । यस्तै समस्या दुई दशकअघि वेबसाइटमा काम गर्ने कम्पनीहरूले सामना गर्नुपर्‍याे । 

त्यसबेला वेबसाइटमार्फत काम गर्ने व्यक्ति वा कम्पनीलाई एउटा त्यस्तो कुराको खाँचो थियो, जसले वेबसाइटमा गई त्यहाँ दिइएको निर्देशन पालना गर्ने मानिस नै हो भन्ने पहिचान गर्न सकोस् ।

त्यही समस्यालाई समाधान गर्न सन् २००० को सुरुवातमा कार्नेगी मेल्लन युनिभर्सिटीका इन्जिनियरले क्याप्चाको विकास गरे । सो टिमलाई लुइस भोन अन् (Luis von Ahn) ले नेतृत्व गरिरहेका थिए ।

क्याप्चा (CAPTCHA-Completely Automated Public Turing test to tell Computers and Human Apart) ल्याउनुका पछाडि थुप्रै कारण छन् । हरेक सेकेन्ड विभिन्न वेबसाइटमा लाखौँ रजिस्ट्रेसन प्रोग्रामिङ मार्फत हुने गर्थे । जसले गर्दा विभिन्न वेबसाइटको डेटाबेस पूर्ण भएर वेबसाइट डाउन हुने घटना धेरै बढ्न थाले ।

त्यस्तै प्रोग्रामिङबाटै हरेक सेकेन्ड याहूमा लाखौँ अकाउन्ट बनिरहेका हुन्थे । त्यसलाई नियन्त्रण गर्न अकाउन्ट बनाइरहेको चिज मानिस हो वा कुनै स्क्रिप्ट (प्रोग्रामिङ कोड) हो भन्ने पहिचान गर्न आवश्यक थियो ।

यी सबै समस्याबाट मुक्त हुने उपाय बन्यो ‘क्याप्चा’ । त्यसमा विशेषतः फरक-फरक अक्षर र अंक देखाइन्थ्यो । जसलाई विभिन्न कोणबाट घुमाएर राखिएको हुन्छ । त्यस्ता अक्षरलाई मानिसले ध्यान दिएर हरे भने सहजै पहिचान गर्न सक्छन् तर कम्प्युटर वा कुनै प्रोग्रामिङ कोडले त्यही कुरा पहिचान गर्न सक्दैन ।

त्यसबाट वेबसाइटमा फारfम भर्ने वा अकाउन्ट खोल्ने मानिस नै हो भन्ने निश्चित गर्न सकिन्थ्यो । त्यस्तै क्याप्चालाई अझ परिस्कृत स्वरुप दिनका लागि रिक्याप्चाको डिजाइन गरियो । क्याप्चामा देखाइने अनावश्यक कुराभन्दा केही अर्थ लाग्ने कुरा देखाउँदा उपयुक्त हुने आशयले क्याप्चा विकासकर्ताले उपलब्ध विभिन्न पुस्तकलाई स्क्यानिङ गर्न थाले ।

यसकाे माध्यमबाट कम्प्युटरले पुस्तकमा भएका जति कुरालाई स्क्यान गरेर टेक्स्ट बनाउन सक्यो, त्यसलाई छोडेर स्क्यान गर्न नसकेका बाँकी शब्दलाई रिक्याप्चामा राखियो । यसले गर्दा जुन कुरा कम्प्युटरले पढ्न सकेन, त्यो कुनै प्रोग्रामले पहिचान गर्न सकेन ।

त्यसपछि रिक्याप्चामा तिनै स्क्यान नहुने शब्दहरूलाई घुमाउरो बनाएर राख्न थालियो । गुगल सर्च इन्जिनदेखि जिमेलसम्म त्यस्तै समस्याहरू देखिन थालेपछि गुगलले सन् २००९ मा रिक्याप्चा किनेर आफ्नो स्वामित्वमा लियो । त्यसपछि गुगलले रिक्याप्चालाई पहिलेकोभन्दा कसरी अझ उत्कृष्ट बनाउने भन्नेबारे विभिन्न सोचहरू ल्याइरह्यो ।

पटक-पटक मानिसहरूलाई गाह्रो लाग्ने कोडहरू लेखाउन उपयुक्त नठानेपछि गुगलले रिक्याप्चालाई नयाँ स्वरूप दिने योजना बनायो ।

तर, त्यसभन्दा पहिले नै विभिन्न कम्पनीले आफूसँग रिक्याप्चा टाइप गरिदिने मानिसहरू राख्न थाले । यसले गर्दा कसैलाई रिक्याप्चा टाइप गर्नुपर्‍यो भने उनीहरूले कम्पनीले केही शुल्क तिरेर उनीहरूका माध्यमबाट रिक्याप्चा टाइप गराउन थालेका थिए । यसले गर्दा मानिसहरूलाई रिक्याप्चा टाइप गर्ने झन्झट हुँदैनथ्यो ।

त्यसपछि गुगलले रिक्याप्चाको परिस्कृत रूप ‘नो क्याप्चा रिक्याप्चा’ सार्वजनिक गर्‍यो । त्यसको मतलब अहिले देखिने ‘आई एम नट रोबर्ट’ ‘नो क्याप्चा रिक्याप्चा’को प्रस्कृत स्वरूप हो । यस्ता क्याप्चाहरू गुगलका वेबसाइटमा देख्न सकिन्छ । यसमा त्यहाँ देखाइएको बक्समा ठीक लाउनेबाहेक अरू केही गर्नुपर्दैन ।

प्रक्रिया सामान्य देखिए पनि यसको भित्र प्रणाली जटिल छ । यसले हरेक मिलिसेकेन्डमा भइरहेका गतिविधि नियाली रहेको हुन्छ । यदि गुगलले ठीक लगाउने तत्व रोबर्ट हो भन्ने पहिचान गरे अर्को प्रक्रियामा लिएर जान्छ । जहाँ तपाईंले त्यहाँ भनिएको वस्तुको नाम त्यहाँ दिइएको बक्सबाट छान्न पर्ने हुन्छ ।

गुगलले ‘आई एम नट रोबर्ट’ क्याप्चामा ठीक लगाउँदा क्रसर कसरी आएको छ, बक्ससम्म आउँदा कति समय लगायो, सो पेजमा कति समयसम्म रह्यो भन्ने कुरा पहिचान गरी सिस्टमबाट उपलब्ध आईपी एड्रेस, कहाँबाट आएको भन्ने ठाउँको ठेगाना ट्रयाक गरी त्यो ठीक लगाउने मानिस नै हो भन्ने पुष्टि गरी हरियो रंगको ठीक मार्क लगाउँछ ।

त्यसपछि तपाईं अर्को पेजमा पुग्न सक्नुहुन्छ । रिक्याप्चाको प्रयोग गर्दा वेबसाइटमार्फत फैलिने स्प्याम रोक्न सकिन्छ । यदि तपाईं आफ्नो वेबसाइटका माध्यमबाट कसैलाई फाराम भर्न लगाउँदै हुनुहुन्छ भने रिक्याप्चा प्रयोग गर्न आवश्यक हुन्छ । यसले गर्दा तपाईंको डेटाबेस फुल हुनबाट रोकिनुका साथसाथै वेबसाइट डाउन हुनबाट बच्छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team