close

रूसले बैंक खाता रोक्का गरेपछि मुद्दा हाल्ने तयारीमा गुगल

टेकपाना टेकपाना

जेठ ५, २०७९ १५:१२

रूसले बैंक खाता रोक्का गरेपछि मुद्दा हाल्ने तयारीमा गुगल

काठमाडौं । रुसी सरकारले कम्पनीको बैंक खाता रोक्का गरेपछि गुगलले मुद्दा दर्ता गर्ने तयारी गरेकाे छ । सरकारले बैंक खाता रोक्का गरेसँगै रुसमा रहेको गुगलको कार्यालय सञ्चालन गर्न कठिनाइ भएको भन्दै कम्पनीले मुद्दा दायर गर्न लागेकाे राेयटर्सले जनाएकाे छ ।

‘रूसी अधिकारीले बैंक खाता रोक्का गरेपछि देशमा रहेको कार्यालय चलाउन कठिन भएको छ । कर्मचारीलाई तलब खुवाउन, सप्लायर्स र भेन्डरको भुक्तानी तथा अन्य वित्तीय दायित्व पूरा गर्न असमर्थ भएका छौं,’ गुगलका प्रवक्ताले भनेका छन् ।

यस्ताेमा गुगलले ‘ब्याकंरप्सी’ मुद्दा दायर गर्ने विषयमा सार्वजनिक सूचना जारी गरेको छ । साथै कम्पनीले रूसमा कम्पनीको सेवा भने निरन्तर रुपमा चलिरहने जानकारी पनि दिएको छ ।

‘रुसका मानिस गुणस्तरीय जानकारीका लागि हाम्रो सेवामा भर पर्छन्,’ कम्पनीले भनेको छ, ‘कठिनाइका बावजुद हामीले गुगल सर्च, युट्युब, जिमेल, म्याप, एन्ड्रोइड र प्ले स्टाेर लगायतका सेवा निःशुल्क रुपमा निरन्तर उपलब्ध गराइरहने छौं ।’

यसअघि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै गुगलले रुसका सरकारी मिडियाकाे रिच, रेकमेन्डेसन लगायतका विषयमा लिमिट गरिदिएको थियो । त्यसैलाई लिएर रुस सरकारले यतिबेला गुगलकाे बैंक खाता राेकिदिएकाे हुनसक्ने आँकलन गरिएको छ ।

गुगलले रुसको कार्यालय बन्द गर्नुपर्ने अवस्था आएकाे खण्डमा पनि आफ्नो सेवा निरन्तर रुपमा उपलब्ध गराइरहने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२