close

ह्वावेको फोल्डेबल फोनसहित नयाँ स्मार्टवाच र फिटनेस ब्याण्ड विश्व बजारमा

टेकपाना टेकपाना

जेठ ५, २०७९ १९:३२

ह्वावेको फोल्डेबल फोनसहित नयाँ स्मार्टवाच र फिटनेस ब्याण्ड विश्व बजारमा

काठमाडौं । ह्वावेले नयाँ फोल्डेबल स्मार्टफोनका साथै स्मार्टवाच र फिटनेस ब्याण्ड सार्वजनिक गरेको छ । बुधबार आयोजित कम्पनीकाे ‘ग्लोबल लञ्च’ कार्यक्रममार्फत मेट एक्सएस टु फोल्डेबल फोन, जीटी थ्री प्रो स्मार्टवाच र वाचडी फिटनेस ब्याण्ड सार्वजनिक भएको हो ।

नयाँ फोल्डेबल स्मार्टफोनमा ७.८ इन्चको ओएलईडी डिस्प्ले छ । १२० हर्ज रिफ्रेसरेटयुक्त स्मार्टफोन फोल्ड गर्दा ६.५ इन्चको हुने जनाइएको छ ।

क्वालकम स्न्यापड्रयागन ८८८ फोरजी चिपसेटमा आधारित फोनमा एन्ड्रोइडको विकल्पका रुपमा कम्पनीको हार्मोनी ओएस २ प्रयोगमा ल्याइएको छ ।

८ जीबी र्‍याम र ५१२ जीबी रोम भेरियन्टमा उपलब्ध फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । त्यस्तै १३ मेगापिक्सेलको अल्ट्रावाइड स्न्यापर, ८ मेगापिक्सेलको टेलिफोटो लेन्स र १०.७ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

४६०० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा फास्ट चार्जिङका लागि फोनमा ६६ वाटको चार्जिङ सिस्टम उपलब्ध गराइएको छ । त्यस्तै फोनमा स्लाइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर पनि छ ।

स्मार्टवाच

कम्पनीले ‘वाच डी’ र ‘जीटी थ्री प्रो’ गरी दुई ओटा स्मार्टवाच माेडल सार्वजनिक गरेको छ । त्यसमध्ये वाच डीमा माइक्रो एयर पम्प, एयर ब्याग, ब्लड प्रेसर मापन गर्ने प्रविधि रहेको छ । यसका साथै मान्छेको तनावलाई कम गर्न वाचमा ‘टेन्सन रेसिस्टेन्ट’ प्रविधि उपलब्ध गराइएको छ ।

यसका साथै यसमा ईसीजी मनिटर समेत उपलब्ध रहेको छ । जसले ईसीजी रिपोर्टसमेत प्रदान गर्ने दावी गरिएको छ ।

१.६४ इन्च एचडी डिस्प्लेका साथ आएको यो वाचले ब्लुटुथ ५.१ सपोर्ट गर्नेछ । भने, यसले एन्ड्रोइड, हार्मोनी ओएस र आईओएस सपोर्ट गर्ने जनाइएको छ ।

आईपी६८ वाटर रेसिस्टेन्ट यो वाच एक पटकको फुल चार्जमा ७ दिनसम्म टिक्ने कम्पनीकाे दावी छ ।

त्यस्तै कम्पनीले सार्वजनिक गरेको अर्को स्मार्टवाच जीटी थ्री प्रोमा १.४३ इन्चको एमलोड डिस्प्ले रहेको छ । एआरएम कोर्टेक्स एम प्रोसेसरमा आधारित वाचमा ४ जीबी र्‍याम र ३२ जीबी रोम रहेको छ ।

यसले हार्मोनी ओएस, एन्ड्रोइड, आईओएस सबै डिभाइसमा सहजै काम गर्ने कम्पनीले जनाएको छ ।

स्मार्टवाचमा अप्टिकल हार्ट रेट सेन्सर, एआई प्रेसर सेन्सर, टेम्प्रेचर सेन्सरजस्ता सुविधा रहेका छन् । ब्लुटुथ कलिङ फिचर रहेको वाच वाटर र डस्ट रसिस्टेन्ट रहेको जनाइएको छ । स्मार्टवाचमा सयभन्दा बढी वर्क मोड रहेका छन् । जसले तपाईंको सुताईका साथै दैनिक क्रियाकलापको मापन गर्न सक्नेछ ।

कम्पनीका अनुसार यो वाच ४६ एमएम र ४२ एमएम गरी दुई फरक साइज भेरियन्टमा उपलब्ध भएको छ । त्यसमध्ये ४६ एमएममा ५३० एमएएच क्षमताको ब्याट्री र ४२ एमएममा २९२ एमएएच क्षमताको ब्याट्री रहेको छ । जुन एक पटकको चार्जमा ७ दिनसम्म चल्ने दावी कम्पनीको छ ।

फिटनेस ब्याण्ड 

फिटनेस ब्याण्ड अन्तर्गत कम्पनीले ह्वावे ब्याण्ड ७ सार्वजनिक गरेको छ । ब्लुटुथ ५.० सापेर्ट गर्ने ब्याण्डमा रनिङ, साइक्लिङ, रोप स्किपिङजस्ता ११ ओटा प्रोफेशनल वर्कआउट मोड रहेको छन् ।

एन्ड्रोइड र आईओएसमा कनेक्ट गर्न सकिने यो ब्याण्डमा १.४७ इन्चको एमलोड डिस्प्ले रहेको छ । यो ब्याण्ड एक पटकको चार्जमा १४ दिनसम्म टिक्ने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२