close

टिकाउ ब्याट्री भएको रियलमीको बजेट स्मार्टफोन

हरिजङ्ग थापा हरिजङ्ग थापा

जेठ ६, २०७९ ८:२८

टिकाउ ब्याट्री भएको रियलमीको बजेट स्मार्टफोन

काठमाडाैं । रियलमीले नेपाली बजारमा ‘नार्जाे ५०’ सार्वजनिक गरेको छ । याे फोन हेर्दा ठ्याक्कै ‘रियलमी एट आई’ जस्तो देखिन्छ । लुक्स मात्रै होइन, फोनको चिपसेट, क्यामेरा, ब्याट्री लगायतका फिचर पनि उही छ ।

तर ‘एट आई’ काे तुलनामा यसको चार्जिङ क्षमता बढी छ भने मूल्य केही सस्तो पर्न आउँछ । ‘एट आई’ मा १८ वाटको चार्जिङ क्षमता थियो भने ‘नार्जाे ५०’ मा ३३ वाट दिइएको छ । तर मूल्यचाहिँ ‘एट आई’ भन्दा ७/८ सय रुपैँया सस्तोमा यो फोन अफर गरिएको छ ।

त्यसैले ‘एट आई’ को रिब्राण्ड भर्सन भएपनि नार्जाेलाई थोरै भएपनि अपडेटेड चाहिँ मान्न सकिन्छ । यसमा भएको १२० हर्जको रिफ्रेस रेटले फोन चलाउँदा एकदमै स्मुथ फिल हुन्छ ।

यो बजेटको फोनले हत्तपत्त यत्तिको रिफ्रेस रेट दिँदैनन्। त्यसैले २३ देखि साढे २६ हजार रेन्जको फोन किन्ने सोचमा हुनुहुन्छ भने यो फोन एउटा गतिलो विकल्प हुनसक्छ ।

लुक्सको कुरा गर्ने हो भने दाँया साइडमा साइड माउन्टेड फिङ्गरप्रिन्ट सेन्सरसहितको पावर बटन छ । बाँयापट्टि भोल्युम घटाउने-बढाउने बटन छ । त्यसको माथिपट्टि सिम ट्रे छ, जहाँ २ वटा सिमसँगै माइक्राे एसडी कार्डका लागि डेडिकेटेड स्लट छ । जसमा १ टीबीसम्मको कार्ड राख्नसक्छौं ।

बटम साइडमा ३.५ एमएम अडियाे ज्याक पाेर्ट, माइक, यूएसबी टाइप सी पाेर्टसँगै स्पिकर छ । पछाडीपट्टि हेर्दा क्वाड क्यामेरा सेटअप जस्तो देखिन्छ, तर यहाँ तीनवटा मात्रै क्यामेरा छन् ।

फ्ल्याशलाइट पनि यहीँ राखिएकाले झट्ट हेर्दा चारवटा क्यामेरा भएको फोन हो जस्तो लाग्छ ।

यो फोनको फ्रेम र ब्याकप्यानल दुवै प्लाष्टिकको हो । म्याटफिनिस ब्याकप्यानल भएपनि यसको बीचमा प्याटर्नहरु छन्, जसले गर्दा फोनको लुक्स एट आईभन्दा थोरै फरक देखिन्छ ।

साथमा प्याटर्न भएको ठाउँमा औंलाको डामहरु खासै देखिँदैन । तर कभर नलगाई फोन बोक्दा ‍‍साइड साइडमा दाग र धब्बाहरु भने देखिन्छन् ।

अब फोनको डिस्प्लेबारे कुरा गरौं । फोनको लेफ्ट साइडमा पन्च हाेलसहित १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यो फोनमा FHD+resolution सँगै 400ppi density भएको ips display छ । जसमा १२० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच Sampling Rate छ ।

त्यसको साथमा फोनमा 600 nits को brightness दिइएको छ, जसले गर्दा गेम खेल्दा होस् वा वेबसाइटहरु भिजिट गर्दा नै किन नहोस्, घाम लागेको ठाउँमा बसेर मोबाइल चलाउँदा पनि स्क्रिन मज्जाले देखिन्छ ।

अब कुरा गरौं Realme Narzo 50 को क्यामेराबारे ।

यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ, जसबाट खिचेको तस्वीरहरु हेरेर नै यहाँहरुले क्वालिटीबारे थाहा पाउन सक्नुहुन्छ ।

High Resolution को फोटो चाहिएको खण्डमा तपाईंले 50 Megapixel भन्ने डेडिकेटेड मोडबाट खिच्दा राम्रो रिजल्ट आउँछ ।

एउटै फोटो नर्मल फोटो मोड र 50M मोडबाट खिच्दा झट्ट हेर्दा उस्तै देखिए पनि जुम गर्दा फोटो मोडबाट खिचेको फोटोमा पिक्सेलहरु चाँडै फाट्छ ।

मेन क्यामेराको लेन्स 10X सम्म जुम गर्न सकिने भएकाले टाढाका वस्तु खिच्न पनि यसले सघाउँछ । तर धेरै जुम गरेर खिचेको फोटोको क्वालिटी भने राम्रो हुँदैन । पछाडि भएका अन्य दुई क्यामेराचाहिँ २, २ मेगापिक्सेलको म्याक्रो र डेप्थ सेन्सर हुन् ।

पोट्रेट फोटोलाई स्तरीय बनाउन यी लेन्सले गतिलै काम गर्ने भएपनि रियर क्यामेराको दाँजोमा यी एकदमै कमजोर लाग्छन् ।

यसको साथमा वाइड लेन्स नहुनु यो फोनको अर्को दुखद पक्ष हो । ‍तर, सेल्फी क्यामेराको कुरा गर्ने हो भने यसमा १६ मेगापिक्सलको छ, जसले बजेट अनुसार स्तरीय नै रिजल्ट दिन्छ ।

फोनमा थुप्रै क्यामेरा मोड र फिचरहरु छन् । पोट्रेट मोडमा Dynamic Bokeh, AI Color, Bokeh Flare जस्ता अप्सनहरु पनि छन् ।

त्यस्तै AI Filter र सिन रिकग्निसन पनि छ । फोनमा Night, Ultra Macro, Text Scanner, Panorama लगायतका मोडहरु छुटेका छैनन् ।

भिडिओको कुरा गर्ने हो यसमा Dual View Video Option छ । त्यसैले यो फोन भ्लगिङ गर्नलाई उपयुक्त छ । भिडिओमा Super Steady Mode पनि भएकाले भिडिओ स्टेबिलिटी पनि राम्रो छ । एक्सपर्ट वा फिल्म मोडबाट हामीले क्यामेरालाई फुल कन्ट्रोल गरेर चलाउन सक्छौं ।

फोनको युजर इन्टरफेसको कुरा गर्दा Android 11 मा आधारित यो फोनमा Realme को UI Version 2.0 छ । Android 12 आएको महिनौं बितिसक्दा पनि Rebrand गरिएको यो फोनको अपरेटिङ सिस्टम Android 11 हुनु अपेक्षा विपरित नै हो

Apps अनि Widgets लाई आफू अनुकूल बनाउन यसमा थुप्रै अप्सनहरु छन् । सँगै Smart Sidebar ले रियलमी युजरलाई नयाँ अनुभव दिन सक्छ । साथै यसले एउटै स्क्रिनमा Multi Task गर्न पनि सजिलो बनाएको छ ।

रियलमीको हरेक फोनमा प्रि-इन्स्टल एप चाहिँ चाहिने भन्दा बढी नै हुन्छन् । यसमा फोन खोल्ने बित्तिकै ६२ वटा एप्लिकेसन देखापरेका थिए ।

8i मा त अझै ७० वटा थिए । सायद यीनै एपलाई प्रमोट गरेवापत स्तरीय फोन अलि सस्तो दाममा रियलमीले उपलब्ध गराइरहेको होला । त्यसैले एप्लिकेसनहरु हेरेर आफूलाई काम नलाग्ने जस्तो लाग्यो भने सजिलै हटाउन सकिन्छ ।

यो फोनमा गेमिङ चिपसेट प्रयोग भएको छ । त्यसैले बजेट फोन भएपनि नर्मल गेमिङका मजासँग गर्न सकिन्छ । यसमा गेमिङ मोड पनि उपलब्ध छ, जसले तपाईंको गेमिङ अनुभवलाई राम्रो बनाउन मद्धत गर्छ ।

Free Fire Max High Setting मा खेल्दा 45 FPS Average मा पाएको थिएँ भने PUBG HD Graphics मा खेल्दा Average 30 FPS पाएको थिएँ । High End Game त्यो पनि Max Setting मा खेल्दा थोरै ल्याग भइरहेको थियो, जसलाई स्वाभाविकै मान्न सकिन्छ ।

अब कुरा गरौं ब्याट्री लाइफको । फोनमा ५००० एमएएचको ब्याट्री छ । मैले चलाएको अनुभवका आधारमा भन्ने हो भने यो फोन ब्याट्री मज्जाले टिक्ने फोनमै पर्छ ।

Brightness Full गरेर गेम नै मात्र खेल्नुभयो भने पनि तीनदेखि चार घण्टा आनन्दले चल्छ । त्यसमाथि ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले फोन एक घण्टाको हाराहारीमा ९० प्रतिशतसम्म चार्ज हुन्छ । त्यसैले यो फोनमा ढुक्कले गेम खेल्न, मुभी हेर्न वा फोटो भिडिओ खिच्न सकिन्छ ।

यो फोन ४ जीबी र्‍याम र ६ जीबी र्‍याम गरी २ भेरियन्टमा आउँछ । ४ जीबीवाला किन्दा ६४ जीब स्टोरेज पाउनुहुन्छ भने ६ जीबी भेरियन्टमा १२८ जीबी स्टोरेज उपलब्ध छ, जसको बजार मूल्य क्रमशः २२ हजार ९९९ र २६ हजार ४९९ रुपैयाँ रहेको छ ।

मैले चलाएको यो फोन चाहिँ ६ जीब र्‍याम भएको फोन हो । फोन किन्दा Realme ले फोनसेटसँगै USB Type-C Cable, 33W को Charge Adapter, SIM Card Needle, Screen Protector Film, Protect Case र Quick Guide पाउनुहुन्छ ।

समग्रमा भन्दा यो प्राइसरेन्जमा १२० हर्जको रिफ्रेस रेट, G96 Chipset, 33 Watt Dart Charging भएको यत्तिको फोनलाई महंगो भन्न मिल्दैन ।

सामान्य गेम खेल्नेका लागि होस् वा क्यामेरा अथवा कन्टेन्ट कन्ज्युमिङका लागि नै किन नहोस्, यो फोन किन्नेहरुलाई यसले खासै निराश बनाउँछ जस्तो लाग्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२