close

१५ प्रकारका सेन्सर, जसले फोनलाई स्मार्ट बनाउँछन्

टेकपाना टेकपाना

जेठ ६, २०७९ ९:५१

१५ प्रकारका सेन्सर, जसले फोनलाई स्मार्ट बनाउँछन्

काठमाडौं । अहिलेको समयमा तपाईँ हामीमध्ये प्रायः धेरैसँग स्मार्टफोन छ । स्मार्टफोन प्रयोग गरिरहँदा त्यसमा उपलब्ध फिचरहरूले कसरी काम गर्छन् होला बन्ने जिज्ञासा स्वभाविकै हो ।

आज हामी स्मार्टफोनमा प्रयोग हुने विभिन्न सेन्सर र तीनका कामको  बारेमा चर्चा गर्दै छौँ । मानव शरीरलाई पूर्ण रूपमा काम गर्न जसरी ज्ञानेन्द्रिय (नाक, कान, जिब्रो, आँखा र छाला) र अन्य थप अङ्गको आवश्यकता पर्छ, त्यसैगरी स्मार्टफोनलाई पनि विभिन्न सेन्सरको आवश्यकता हुने गर्छ ।

तिनै सेन्सरको सहयोगमा स्मार्टफोनले स्मार्ट तरिकाबाट काम गरिरहेको हुन्छ । यदि कुनै सेन्सरमा केही समस्या आयो भने फोनले राम्रोसँग काम गर्न सक्दैन । 

१. फिङ्गरप्रिन्ट सेन्सर

अहिलेका हरेक जसो स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सर रहेको हुन्छ । कुनै फोनमा फिङ्गरप्रिन्ट सेन्सर छैन भने अहिले त्यसलाई मानिसहरू कम भरपर्दो मान्न थालिसकेका छन् ।

फोन अनलक गर्नेदेखि ठूला-ठूला वित्तीय कारोबार गर्न समेत फोनमा उपलब्ध फिङ्गरप्रिन्ट सेन्सर प्रयोग हुन थालेको छ । दुई मानिसबीच सबै कुरा एउटै हुन सक्छ । तर, फिङ्गरप्रिन्ट कहिल्यै उस्तै हुन सक्दैन ।

त्यसैले यसलाई निकै भरपर्दो मानिन्छ । अहिले कसैलाई फोन किन्नु पर्‍यो भने उनीहरूको रोजाइमा फिङ्गरप्रिन्ट सेन्सर भएका फोन पर्ने गर्छ । यसमा सुरुमा जुन प्रयोगकर्ताले फिङ्गरप्रिन्ट दर्ता गर्‍यो, उसैको उही औंलाले सेन्सर छोएमा मात्र लक खुल्ने गर्छ । यो एक किसिमको बायोमेट्रिक भेरिफिकेसन पद्दति हो ।  

२. आइरिस स्क्यानर

फोनलाई अनलक गर्ने विभिन्न विकल्प मध्ये आइरिस स्क्यानर पनि एक हो । यसले फोन अनलक गर्दा मानिसको आँखालाई स्क्यान गर्दछ । त्यही आँखालाई स्क्यान गर्ने स्क्यानरलाई आइरिस स्क्यानर भनिएको हो ।

यसले फोन लक भएको अवस्थामा वेकअप गरी सकेपछि आँखामा असर नगर्ने इन्फ्रारेड लाइट पठाउने गर्छ । जसले आँखाको प्याटर्नलाई स्क्यान गर्छ । त्यसपछि पहिले रजिस्टर भएको प्याटर्नसँग म्याच गरी फोन अनलक हुन्छ ।

यो मिली सेकेन्डमा सम्पन्न हुने प्रक्रिया हो । जसरी मानिसहरूको फिङ्गरप्रिन्ट फरक फरक हुन्छ, त्यसरी नै आँखाको प्याटर्न पनि भिन्नै हुने गर्दछ ।

३. फेसियल रिकग्निसन सेन्सर 

तपाईंले प्रयोग गर्ने फोन तपाईंका लागि निकै महत्त्वपूर्ण हुने गर्छ । त्यसमा भएका हरेक कुराहरूको उत्तिकै आवश्यकता हुन सक्छ । त्यसैले ती सबै कुरालाई सुरक्षित राख्न फोन लक अनलक गर्ने विविध फिचर आएका ल्याइएका हुन् ।

त्यस्तै फेसियल रिकग्निसन सेन्सर सफ्टवेयरले फोनको क्यामेराको सहयोगमा अनुहारको बनोट र संरचना पहिचान गरेर भरिफाई गरी फोन अनलक गर्छ । यसलाई अन्य बायोमेट्रिक सेन्सरको तुलनमा कम भरपर्दो सेन्सर मानिन्छ ।

४. एम्बियन्ट लाइट सेन्सर

यो सेन्सर हरेकजसो स्मार्टफोनमा उपलब्ध हुन्छ । यसले विशेषगरी वातावरणको प्रकाश हेरी फोनमा त्यही अनुसारको ब्राइटनेस अर्थात उज्यालोपन स्वतः निर्धारण गर्ने गर्छ ।

यदि तपाईंले दिउँसो वा घाम लागेको समयमा फोन प्रयोग गर्नु भएको छ बने एम्बियन्ट लाइट सेन्सरले ब्राइटनेस बढाउने गर्छ भने अन्धकार वा रातमा फोन प्रयोग गर्दा त्यसको उज्यालोपन घटाउने गर्छ ।

त्यस्तै यही सेन्सरको माध्यमबाट फोटो खिच्दा स्वतः ह्वाइट ब्यालेन्स एक्टिभेट हुन्छ, जसले गर्दा फोटोको गुणस्तर राम्रो आउने गर्छ ।

५. प्रोक्सिमेटी सेन्सर

जब तपाईं कसैलाई कल गर्दा फोन कानको सामुन्ने राख्नु हुन्छ, त्यो बेला फोनको डिस्प्लेको लाइट बन्द हुने गर्छ । त्यस्तै कानबाट पर लैजाँदा डिस्प्लेको लाइट अन हुन्छ ।

यो सबैका पछाडि प्रोक्सिमेटी सेन्सरको भूमिका हुने गर्छ । यसले गर्दा फोनलाई कानले छोएका कारण अनावश्यक ठाउँमा दब्ने समस्या हुँदैन ।

६. एक्सेलेरोमिटर

फोनको चाललाई पत्ता लगाउने सेन्सर हो, एक्सेलेरोमिटर । यसले फोनको भाइब्रेसन, प्रवेग आदि विश्लेषण गरी फोन कस्तो पोजिसनमा छ भन्ने कुरा पत्ता लगाउँछ ।

७. जाइरोस्कोप

एक्सेलेरोमिटरको परिस्कृत रूप हो जाइरोस्कोप सेन्सर । यो कत्तिको महत्त्वपूर्ण हुन्छ भन्ने कुरा त मोबाइल गेम खेल्नेहरूले बुझेका हुन्छन् । जाइरोस्कोप सेन्सरले फोन कति डिग्रीमा छ भन्ने  कुरा यकिन गर्छ ।

यसले तल, माथि, दायाँ, बायाँ मात्र नघुमाई र पिच मोसन समेत पत्ता लगाउने गर्छ । यो विशेषगरी कार रेसिङ गेम वा पब्जी जस्ता गेमका लागि उपयोगी हुने गर्छ । त्यस्तो मोबाइलका माध्यमबाट पानोरमा शट लिनका लागि पनि प्रयोग गर्ने गरिन्छ ।

८. म्याग्नेटोमिटर

अहिलेका फोनका लागि सबैभन्दा बढी उपयोगी हुने मध्येको अर्को सेन्सर हो, म्याग्नेटोमिटर । जब तपाईं गुगल म्याप्स जस्ता नेभिगेसन एप प्रयोग गर्नु हुन्छ, तब तपाईंलाई कुन दिशा कता पर्छ बनेर देखाउने काम यही म्याग्नेटोमिटरले गरेको हुन्छ । यसले फोनका अन्य सेन्सर जस्तै एक्सेलेरोमिटर र जीपीएससँग मिलेर काम गर्दछ । . 

९. एल्टिमिटर

धेरै घुमघाम गर्ने वा कतै अग्ला ठाउँहरूमा घुम्ने मानिसहरूका लागि एल्टिमिटर निकै नै उपयोगी सेन्सर हो । तपाईं कतै घुम्न जानुभएको छ वा आफू भएको ठाउँ समुन्द्र सतहदेखि कति मिटर माथि छ भन्ने कुरा जान्न मन लाग्यो भने यसको सहायता लिन सक्नुहुन्छ । 

१०. ब्यारो मिटर

फोनमा हुने ब्यारोमिटर सेन्सरले विशेषगरी तपाईंको वरिपरीको वायूमण्डलीय चापको बारेमा जानकारी दिने गर्छ ।

११. डेप्थ सेन्सर

डेफ्थ सेन्सरले वातावरणको त्री आयामिक नक्सा अर्थात थ्रीडी म्याप बनाउने काम गर्छ ।

१२. साउण्ड सेन्सर

हरेक स्मार्टफोनमा जुन माइक्रोफोन हुन्छ, त्यो नै साउण्ड सेन्सर हो । यदि त्यहाँ कतैबाट आवाज आयो वा हामीले बोलेका छौं भने त्यसको वरिपरि भएको हावा खुम्चिने र बढ्ने गर्छ ।

जसले तरङ्ग सिर्जना गर्दछ । त्यही तरङ्गलाई माइक्रोफोनले पत्ता लगाएर त्यसलाई आवाजमा परिवर्तन गरी सिस्टममा पठाउने काम गर्छ । जसलाई हामी स्पिकरका माध्यमबाट सुन्ने गर्छौं ।
  

१३. इमेज सेन्सर

इमेज सेन्सर मोबाइल क्यामेराका लागि निकै नै महत्त्वपूर्ण मानिन्छ । त्यसैले स्मार्टफोनमा यसको उपस्थिति हुनु एकदमै आवश्यक हुने गर्छ ।

यो सेन्सरले प्रकाशलाई नियन्त्रण गरी तस्वीरमा परिणत गर्ने काम गर्छ । यो हजारौं, लाखौं पिक्सेलले बनेको हुन्छ ।

१४. जीपीएस सेन्सर

तपाईं जीपीएस भएको फोन लिएर विश्वको कुनै पनि कुनामा जानुभयो भने पनि हराउने सम्भावना निकै कम हुन्छ । जीपीएस अर्थात ग्लोबल पोजिसिनिङ सिस्टम स्याटलाइट सिग्नल लिएर तपाईं कहाँ हुनुहुन्छ बन्ने कुराको जानकारी दिन्छ ।

वा तपाईं कहाँ यात्रा गरिरहनु भएको छ भन्ने कुराको जानकारी जीपीएसले दिने गर्छ । जीपीएसले फोनको डेटा प्रयोग नगरे तापनि फोनको ब्याट्री भने निकै खपत गर्दछ ।

१५. टच स्क्रिन सेन्सर

टच स्क्रिन सेन्सर अहिलेका स्मार्टफोनका लागि निकै महत्त्वपूर्ण सेन्सर हो । अहिलेका फोनमा क्यापासिटिभ टच स्क्रिन प्रयोग गरिएको हुन्छ । जो मानिसको रौँभन्दा पनि पातला तारबाट बनेको हुन्छ ।

यदि मानिसको औंलाले स्क्रिनमा छोएको खण्डमा त्यहाँ सर्किट पूर्ण हुन्छ र फोनले निर्देशन दिए अनुसारको काम गर्दछ । त्यस्तै यदि तपाईंले पन्जा लगाएर स्क्रिन छुनु भयो भने त्यसले काम गर्दैन ।

किनभने यो प्रक्रियामा तपाईँको औँलाबाट आउने इलेक्ट्रिक करेन्ट डिस्प्लेसम्म पुग्न सक्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२