close

फेसबुक पेजमा आउने गालीगलौच तथा अश्लील शब्दसहितका कमेन्ट ब्लक गर्ने तरिका

टेकपाना टेकपाना

जेठ ६, २०७९ १६:८

फेसबुक पेजमा आउने गालीगलौच तथा अश्लील शब्दसहितका कमेन्ट ब्लक गर्ने तरिका

काठमाडौं । स्थापना कालदेखि नै फेसबुकमा हरेक वर्ग तथा भूगोलका प्रयोगकर्ताको पहुँच हुन्छ । हरेक क्षेत्रका प्रयोगकर्ताले कुनै पनि फेसबुक पेजमा आएका पोस्ट हेर्न, पढ्न, रियाक्ट गर्न, शेयर गर्न वा कमेन्ट गर्न सक्छन् ।

फेसबुकमा विशेषगरी दुई प्रकारका अकाउन्ट हुने गर्छन् । एउटा साधारण अकाउन्ट र अर्को फेसबुक पेज । आफ्नो निजी अकाउन्टमा प्रयोगकर्ताले साथी नभएका व्यक्तिहरूले आफ्नो पोस्ट हेर्नै नमिल्ने बनाउन सक्छन् । 

तर, फेसबुक पेजहरू पब्लिक हुने गर्छन् । त्यसमा साथी भएका व्यक्तिको मात्र संलग्न होऊन् भन्ने हुँदैन । फेसबुक पेजबाट गरिएका पोस्टमा जुनसुकै फेसबुक प्रयोगकर्ताले रियाक्ट, शेयर वा कमेन्ट गर्न सक्छन् ।

बेलाबखत विश्वभर नै त्यस्ता सेलिब्रेटी वा साना-ठूला फेसबुक पेजमा नकारात्मक कमेन्टको वर्षात् हुने गर्छ । नेपालको सन्दर्भमा पनि यदि कुनै व्यक्ति वा संस्था विवादमा परेको छ भने उनीहरूको फेसबुक पेज सञ्चालक आम प्रयोगकर्ताको निशानामा पर्छन् ।

यस्तोमा उनीहरू पेजमा अनावश्यक नकारात्मक कमेन्टहरू गर्न थाल्छन् । आज हामी त्यस्ता अनावश्यक शब्द वा गाली गरेका शब्दहरू कसरी हटाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्दै छौँ । यसबाट आफूलाई अनुपयुक्त लागेका शब्दहरू स्वतः डिलिट हुने वा फिल्टर भएर कमेन्टमै नदेखिने बनाउन सकिन्छ । 

यसरी गर्नुहोस् पेजमा आउने अनावश्यक कमेन्ट ब्लक

  • यसका लागि सबैभन्दा पहिला आफ्नो कम्प्युटरको ब्राउजरमा जानुहोस् र फेसबुक खोल्नुहोस् ।
  • त्यसपछि आफू एड्मिन वा एडिटर भएको फेसबुक पेजमा जानुहोस् ।
  • त्यसपछि बायाँपट्टि पेज म्यानेज अन्तर्गत अन्तिममा रहेको सेटिङमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि तपाईँ जनरलको सेक्सनमा पुग्नुहुन्छ । त्यसमा रहेको कन्टेन्ट मोडेरेसन (Content Moderation) अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि एड अ वर्ड, फ्रेज वा इमोजी (Add a word, phrase or emoji) राख्ने बक्स देख्न सक्नुहुन्छ ।
  • त्यसमा तपाईँले नकारात्मक शब्द, वाक्य वा इमोजीहरू एकएक गरी अल्प बिराम (,) राख्दै थप्दै जानुहोस् । त्यस्तै तपाईँले सीएसभी फाइलमा त्यस्ता शब्दहरू अपलोड गरी, सो फाइल कन्टेन्ट मोडेरेसनमा पनि राख्न सक्नुहुन्छ । त्यसपछि सेभ अप्सनमा क्लिक गरेर सेभ गर्नुहोस् । 
  • तपाईँले बक्समा राखेका जति पनि शब्दहरूमा छन्, ती शब्द पेजको कमेन्टमा देखिने छैनन् । साथै त्यस्ता कमेन्टहरू कमेन्ट गर्ने व्यक्तिका साथीले बाहेक अन्य व्यक्तिले हेर्न सक्दैनन् । तपाईँले माथिको प्रक्रिया फेसबुकको मोबाइल एपबाट पनि एक्टिभेट गर्न सक्नुहुन्छ ।
  • त्यस्तै तपाईँले त्यसको तल रहेको प्रोफानिटी फिल्टर (Profanity Filter) पनि अन गर्न सक्नुहुन्छ । त्यसले गर्दा फेसबुकले आफ्नो तर्फबाट छानेका अपशब्दहरू हाइड हुनेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२