close

नेपालमा एटीएम कार्ड विस्थापन गर्दै नेप्स

टेकपाना टेकपाना

जेठ ७, २०७९ १३:६

नेपालमा एटीएम कार्ड विस्थापन गर्दै नेप्स

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले एटीएम कार्डको प्रयोगमा नयाँ अभ्यास सुरू गर्ने तयारी गरेकाे छ । एटीएम कार्डलाई भर्चुअल बनाउने तयारी भइरहेकाे नेप्सका प्रमुख कार्यकारी अधिकारी सञ्जिव सुब्बाले जानकारी दिए ।

यसपछि एटीएम कार्ड बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने उनकाे भनाइ छ । ‘प्रयोगकर्ताले प्लास्टिकको एटीएम कार्ड बोक्न नपरोस् भनेर नयाँ अभ्यास सुरू गर्न लागेका हाैं । यसका लागि एटीएम कार्डलाई क्यूआर कोडमा परिवर्तन गर्ने तयारी भइरहेकाे छ,’ उनले भने ।

याे प्रणाली अन्तर्गत प्रयोगकर्ताले कार्डकाे सट्टा क्यूआर स्क्यान गरेर नै पैसा निकाल्न सक्नेछन् ।

योसँगै एटिएम कार्डमा पनि रोयल्टी पोइन्टको अभ्यास सुरु गर्न लागेको उनले बताए । हाल यो सेवा स्ट्यान्डर्ड चार्टड बैंकले आफ्नो क्रेडिट कार्डमा दिइरहेको छ ।

यसअन्तर्गत प्रयोगकर्ताले बैंकको कार्डबाट भुक्तानी गरेवापत केही पोइन्टहरू पाउनेछन्, जुन पोइन्टलाई पछि अन्य सेवा वा भुक्तानीका लागि पैसासरह नै प्रयोग गर्न सकिनेछ ।

डिजिटल वालेटहरुले हाल यस्ताे सेवा दिइरहेका छन् । यद्यपि अब भने एटीएम कार्डको प्रयोगमा पनि यो सहुलियत दिने उनले बताए ।

यो सुविधा नेप्सको सदस्य बैंकका प्रयोगकर्ताहरूको लागि मात्र लागू हुनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२