close

यस्तो अवस्थामा टिकटकले बन्द गरिदिनसक्छ तपाईँको आईडी

टेकपाना टेकपाना

जेठ ७, २०७९ १४:११

यस्तो अवस्थामा टिकटकले बन्द गरिदिनसक्छ तपाईँको आईडी

काठमाडौं । अहिले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा भएको यौन हिंसाविरुद्ध आवाज उठिरहेको छ । पीडितले आफूले भोगेको यातना र आफ्नो पीडकको बारेको भिडि‌ओ टिकटकमार्फत सार्वजनिक गरेकी थिइन् ।

भिडिओ राखेको केही समयमा नै ती भिडिओ भाइरल हुन पुगे र अहिले यो सबैका लागि चर्चाको विषय बनेको छ । तर पीडितको टिकटक आईडी गत बुधबार राति कम्पनीको नियम उल्लङ्घन भएको भन्दै ‘ब्यान’ (प्रतिबन्ध) मा पर्‍यो ।

त्यसकै भोलिपल्ट अन्य केही प्रयोगकर्ताहरूलाई समेत टिकटक आईडी ‘ब्यान’ हुनसक्ने भन्दै ‘अकाउन्ट वार्निङ’ चेतावनी सहितको नोटिफिकेसन आएको थियो ।

यस्तोमा आखिर समय-समयमा किन यस्तो चेतावनी आउँछ भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो । धेरै प्रयोगकर्ताले टिकटकमा भिडिओ हाल्ने समयमा टिकटकको नियमहरूको ख्याल राखेको हुँदैन । कहिलेकाहीँ ठीकै लागिरहेको भिडिओहरू पनि टिकटकको नियम विपरीत हुनसक्छ । 

टिकटकमा भिडिओ किन स्वतः डिलिट हुन्छ ?

टिकटकले एउटा अल्गोरिदम तयार पारेको छ, जसमा पोस्ट भएका हरेक भिडिओहरूको परीक्षण हुन्छ । यदि कुनै भिडिओ एडल्ट न्युडिटी (वयस्क नग्नता) र हिंसात्मक छ वा टिकटकको ग्राफिकसम्बन्धी नियम विपरीत छ भने उक्त प्रविधिले यस्ता भिडिओहरू स्वतः डिलिट गरिदिन्छ ।

यसका साथै यदि सामग्रीले कम्युनिटी गाइडलाइन उल्लङ्घन गर्छ भने पनि टिकटकले भिडियो हटाउनेछ र भिडिओ हटाउनको कारणबारे प्रयोगकर्तालाई सूचित पनि गर्छ ।

यसले गर्दा प्रयोगकर्ताले आफ्नो भिडिओ किन हटाइयो भन्ने विषयमा सहजै थाहा पाउन सक्छन् । तर कहिलेकाहीँ यस्ता भिडिओहरू कम्पनीको नजरमा परेको हुँदैन । यस्तो बेलामा जुनसुकै समयमा पनि उक्त भिडिओको बारेमा रिपोर्ट आयो भने कम्पनीले सो भिडिओ डिलिट गर्नदिन्छ ।   

किन हुन्छ टिकटकमा भिडिओ ब्यान ? 

टिकटकको प्रणालीले प्रयोगकर्ताले कति पटक यो प्लेटफर्मको नियम उल्लङ्घन गर्‍यो भनेर रेकर्ड राखेको हुन्छ । टिकटकले प्रयोगकर्तालाई यस विषयमा इनबक्समार्फत सूचित पनि गराएको हुन्छ ।

यस्तो प्रकारको भिडिओ बारम्बार पोस्ट भएको खण्डमा टिकटकले उक्त आईडी ब्यान गरिदिन्छ । टिकटकमा आईडी ब्यान हुने सामान्य रुपमा केही चरणहरू छन् ।

सबैभन्दा सुरुमा यदि कुनै प्रयोगकर्ताले टिकटकको नियम उल्लङ्घन गरेको छ भने टिकटकले पहिलो चरणमा सो प्रयोगकर्तालाई सचेत गराउदै नोटिफिकेसन पठाउँछ ।

यदि सो उल्लङ्घन पटक-पटक दोहोर्‍याइयो भने सो प्रयोगकर्ताको आईडी स्वतः ब्यान अथवा प्रतिबन्ध हुन्छ । यस्तोमा घटनाको प्रकृति हेरेर कम्पनीले प्रयोगकर्ताले प्रयोग गरेको डिभाइसबाट नै फेरि फेरि टिकटक अकाउन्ट क्रियट गर्न नमिल्ने पनि बनाइदिन सक्छ ।

यद्यपि सुरुको चरणमा भने अकाउन्ट अस्थायी रुपमा प्रतिबन्ध गरिन्छ । यस्तोमा प्रयोगकर्ताले नयाँ भिडिओ अपलोड गर्न नपाउने, अरूको भिडिओमा कमेन्ट अथवा लाइक गर्न नमिल्ने लगायतको प्रतिबन्ध २४ देखि ४८ घण्टाको लागि हुने गर्छ । कहिलेकाहीँ यस्तो प्रकारको प्रतिबन्ध ७२ घण्टासम्मका लागि पनि हुनसक्छ ।

यति  गर्दा गर्दै पनि भिडिओमा निरन्तर नियम उल्लंघन भएको पाइएमा भने टिकटकले सधैंका लागि अकाउन्ट बन्द गरिदिन्छ । 

भिडिओमा पोस्ट गर्न नहुने सामग्रीहरू 

– बालबालिकामाथि गरिएको यौन दुर्व्यवहार, गाली गलौज, भौतिक तथा मानसिक यातना लगायतका सामग्रीहरू 

– अपराधका सामग्रीहरू 

– जोखिमपूर्ण च्यालेन्ज तथा गतिविधिहरू

– आत्महत्या, आत्मघाती अथवा जथाभावी खाएको सामग्रीहरू

– यौन दुर्व्यवहार

– कसैलाई अनावश्यक दुःख दिएको वा कुनै पनि प्रकारको दुर्व्यवहार सम्बन्धी सामग्री

– ह्याकिङ गर्ने वा ब्ल्याकमेल गर्ने धम्कीपूर्ण सामग्री

– घृणा फैलाउने सामग्री

– हिंसात्मक गतिविधि

– गलत सूचनाहरूको सामग्री

– गैरकानूनी गतिविधि 

– जुवा, लागुपदार्थ तथा मादकपदार्थलाई प्रोत्साहन गरेक सामग्री 

– कपिराइट (प्रतिलिपिको अधिकार) हनन गरेका सामग्री 

–     

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२