close

अनलाइनमै कक्षा ८ सम्मका शैक्षिक सामग्री, पढ्ने कसरी ?

टेकपाना टेकपाना

जेठ ७, २०७९ १७:२७

अनलाइनमै कक्षा ८ सम्मका शैक्षिक सामग्री, पढ्ने कसरी ?

काठमाडौं । अहिलेका नयाँ पुस्ताको दैनिकी प्रविधिसँगै बितिरहेको छ । उनीहरू आफूले प्रयोग गर्ने हरेक कुरामा प्रविधि जोडियोस् भन्ने चाहन्छन् । बालबालिकाको यही मनस्थितिलाई पढाइमा जोड्न साझा शिक्षा ई-पाटी (ओएलई नेपाल)ले बालबालिका विशेष ई-पाठ पोर्टल प्रयोगमा ल्याएकाे छ छ ।

ओएलई नेपालले सम्पूर्ण तहका विद्यार्थी र अन्य पाठकवर्गका लागि विभिन्न शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । ई-पुस्तकालयबारे पूरा लेख यस लिङ्कमा गई पढ्न सक्नुहुन्छ ।

आज हामी ई-पाठमा आधारभूत तहका बालबालिकाका लागि के-कस्ता सामग्री उपलब्ध छन् भन्ने विषयमा चर्चा गर्दै छौं । ई-पाठ विशेषगरी आधारभूत तहका विद्यार्थीका लागि निर्माण गरिएको साइट हो, जसमा कक्षा ८ सम्मका विद्यार्थीलाई आवश्यक सम्पूर्ण सामग्री परिमार्जित स्वरूपमा उपलब्ध छन् ।

ई-पुस्तकालयमा पुस्तकका पीडीएफ डाउनलोड गर्नुपर्छ भने यसमा सम्पूर्ण पुस्तक स्लाइडका रूपमा हेर्न, पढाउन वा पढ्न सकिन्छ ।

हाल कक्षा ४ सम्मका विद्यार्थीका लागि विज्ञान, गणित, अङ्ग्रेजी र नेपाली विषयका सामग्री उपलब्ध छन् भने त्यसभन्दा माथिका विद्यार्थीका लागि विज्ञान, गणित र अङ्गरेजी पुस्तक मात्र समावेश छन् ।

स्लाइडमा विशेषगरी आकर्षक शैलीले कन्टेन्ट प्रस्तुत गर्ने गरिन्छ । त्यसमा तस्वीर, एनिमेटेड अक्षर र आवश्यकता अनुसार थप कुरा पनि समावेश गरिएको हुन्छ ।

ई-पाठमा पनि बालबालिकाको धारणा मध्यनजर गर्दै कार्टुन स्टाइलमा पाठ्यक्रमका सामग्री देख्न सकिन्छ । त्यसका लागि तपाईं सबैभन्दा पहिले ई-पाठकाे वेबसाइटमा जानुहोस् । 

त्यहाँ गइसकेपछि दुईवटा भाग देख्न सकिन्छ । त्यसको सबैभन्दा माथिल्लो भागमा कक्षा १ देखि कक्षा ८ सम्मको अप्सन र दोस्रो सेक्सनमा चारवटा विभिन्न विषयहरू देख्न सकिन्छ ।

आफूलाई आवश्यकता परे अनुसार विद्यार्थीले माथिल्लो सेक्सनबाट कक्षा छानी तल कुनै एक पुस्तक छान्न सक्नेछन् । यसमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा सम्पूर्ण सामग्री अनुवाद गरिएकाले नेपाली वा अङ्ग्रेजी कुनै एक भाषा छान्न सक्नेछन् ।

त्यस्तै कुनै विषय छानिसकेपछि त्यहाँ त्यस विषयमा भएका सम्पूर्ण पाठ अप्सन देख्न सकिन्छ । त्यसपछि आवश्यकता अनुसार कुनै पाठमा क्लिक गर्नु पर्ने हुन्छ । त्यसपछि त्यहाँ तल रहेको ‘सुरु गरौं’ लेखिएको अप्सनमा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गरिसकेपछि त्यस पाठसम्बन्धी पढाइका सामग्री देख्न सक्नुहुन्छ । त्यहाँ भएका एनिमेटेड फाइलहरू स्लाइडका रूपमा पढ्न, पढाउन सकिन्छ ।

त्यस्तै सोही पेजको सबैभन्दा माथि पाठ र अभ्यास भन्ने दुईवटा अप्सन देख्न सक्नुहुन्छ । पाठ पढिसकेपछि वा पढाइ सकेपछि सोही अभ्यासमा गई आफूले पढाएका वा पढेका कुरा जाँच गर्न सकिन्छ ।

हाल कक्षा ८ सम्मका सामग्री उपलब्ध भएको भएपनि केही समयपछि कक्षा ९ र १० का पाठ्यसामग्री राख्ने ओएलई नेपाल ई-पुस्तकालय संयोजक गणेश घिमेरेले बताए ।

यहाँ उपलब्ध सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध हुने भएकाले जोकोहीले जुनसुकै समयमा प्रयोग गर्न सक्छन् ।

नेपालमा रहेका विभिन्न विद्यालयहरूले यस्ता सामग्रीबाट अध्यापन गराएको खण्डमा बालबालिकाको रूचि त हुन्छ नै, साथसाथै पुस्तक किन्ने खर्च पनि बच्नसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२