close

अब टिकटकमा गेम पनि खेल्न मिल्ने

टेकपाना टेकपाना

जेठ ७, २०७९ २०:१४

अब टिकटकमा गेम पनि खेल्न मिल्ने

काठमाडौं । भिडिओ प्लेटफर्म टिकटकले पनि गेमिङमा लगानी गर्न सुरु गरेको छ । पछिल्लो समयमा टिकटकले आफ्नो प्लेटफर्ममा विभिन्न अनलाइन गेमहरूको परीक्षण गरिरहेको छ ।

हाल भियतनामका प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले विभिन्न गेमहरूको परीक्षण गरिरहेको हाे । रोयटर्सले प्रकाशन गरेको एक लेखमा गेमिङ फिचरले विश्वको एक अर्बभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता भएको यो प्लेटफर्मको राजश्व थप सबल हुने उल्लेख गरिएको छ ।

विशेषगरी भियतनाम यसका लागि राम्रो सुरुवात हुने उक्त लेखमा उल्लेख छ । भियतनामका ७० प्रतिशत ३५ वर्षभन्दा कम उमेर भएको जनसंख्या प्रविधिमा निकै अभ्यस्त छ ।

यो जनसंख्याको फाइदा, फेसबुक, गुगल, युट्युब लगायतका प्लेटफर्महरूले पनि उठाएका छन् । यसैबीच टिकटकले पनि आफ्नो गेमिङ फिचरको सुरुवात भियतनामबाट गर्नु कुनै नौलो कुरा भने होइन ।

चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले दक्षिणपूर्वी एसियामा गेमिङलाई अझ व्यापक रूपमा सार्वजनिक गर्ने योजना बनाएको छ । यो वर्षको तेस्रो त्रैमासिकतिर गेमिङ फिचर सार्वजनिक हुने बताइएको छ ।

यो विषयमा कम्पनीले कुनै आधिकारिक जानकारी नदिए पनि कम्पनीले थर्ड पार्टी डेभलपरहरू सँग काम गरिरहेको विवरण बाहिरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२