close

अपाङ्गता भएका व्यक्तिलाई सुबिसुको रोजगारी

टेकपाना टेकपाना

जेठ ८, २०७९ १०:३९

अपाङ्गता भएका व्यक्तिलाई सुबिसुको रोजगारी

काठमाडौं । पछिल्लो समय अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण धेरै सकारात्मक बन्दै गएको छ । तर अझै पनि अपाङ्गता भएका व्यक्तिले विभिन्न क्षेत्रमा चुनौती भोग्दै आएका छन् । सामान्य अवस्थामा पनि दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका अपाङ्गता भएका व्यक्तिहरू विशेषगरी रोजगारी पाउनबाट वञ्चित हुने गरेका छन् ।

साथै पर्याप्त मात्रामा अपाङ्गमैत्री पूर्वाधार निर्माण नहुनाले पनि त्यस्ता व्यक्तिलाई थप कठिनाइ हुने गरेको छ । प्रविधिको विकास हुने क्रमसँगै धेरै कुरा स्मार्ट बन्दै गइरहेका छन् । हाम्रो दैनिकी पनि त्यसैमा अभ्यस्त भइरहेको छ।

शिक्षण सिकाइ सरल बनाई पठनपाठनमा सहजता ल्याउने, अफिसको काम घरबाटै गर्न सकिने, एक ठाउँदेखि अर्को ठाउँसम्म सहजै सूचना प्रवाह गर्न सकिने सँगै पछिल्लो समय रोजगारी पनि इन्टरनेट वा प्रविधिको प्रयोगबाट गर्न सकिने कारणले प्रविधि अहिलेको आधारभूत आवश्यकता बन्दै गएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूले सामान्य अवस्थामा पनि आधारभूत सुविधाविना बाँच्नु परिरहेको छ। त्यस्तैमा केबल तथा इन्टरनेट सेवा प्रदायक सुबिसुले अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकताका साथ अवसर प्रदान गरिरहेकाे छ ।

बैतडीकी निर्मला भण्डारीको १५ वर्षको उमेरमा आँपको बोटमा चढेको बेला लडेर ढाडमा चोट लाग्यो । स्पाइनल कर्ड इन्जुरी भएकाले उनी हिँड्डुल गर्न नसक्ने अवस्थामा पुगिन् । उनको दैनिकी अरुमा निर्भर हुन सुरु भएको थियो ।

घरमा उनका भाइबहिनी पनि थिए । तर उनलाई भने बुबाआमाले विशेष ध्यान दिनुपर्थ्याे । खोकी लागेको बेला पानी खान, खाना खानदेखि शौचालयसम्म जान समेत अरुकै आडमा बस्नुपर्ने बाध्यता थियो ।

आर्थिक अवस्था कमजोर भएकाले गाउँमा काम नगरी पुग्ने अवस्था पनि थिएन । उनका बुबाआमा काममा गएका बेला उनी घरमा एक्लै बस्नुपर्ने हुन्थ्यो । घाम लाग्दादेखि पानी पर्दासम्म बुबाआमाको पर्खाइमा एकैठाउँ बस्न बाध्य हुन्थिन् ।

उनले कक्षा १० सम्म पढिन् । तर आफू अपाङ्गता भएको कारण अरुमा निर्भर हुने कुराले उनलाई पिरोल्न थालिसकेको थियो ।आफू आमाबुबा र घरपरिवारको लागि बोझ बन्दै गएको महसुस गर्न थालिन् ।

त्यहीँ दैनिकी बिताउने क्रममा डिप्रेसनको शिकार बन्न पुगिन । उनलाई आफू बाँच्नको कुनै अर्थ नरहेको महसुस हुन थालेको थियो । एक दिन सामाजिक सञ्जालमा स्टोरी हेर्दै गर्दा केही सीप सिकेर आत्मनिर्भर हुन केही सहज हुन्छ कि भन्ने महसुस गरिन् ।

त्यसपछि उनको चाहनाले नयाँ मोड लियो । उनलाई कम्प्युटर सिक्न रहर जाग्यो । त्यसका लागि धेरै प्रयास गरिन्, तर अवसर पाइनन् । त्यहीँ गाउँमा उनले कम्प्युटर सिक्ने कोसिस गरेकी थिइन्, तर पर्याप्त सिट क्षमता नभएकाले माैका पाउन सकिनन् ।

पछि उनलाई सिलाइबुनाइ सिक्ने अवसर मिल्यो । याे अवसर गुमाइनन् र केही समय त्यसैमा काम पनि गरिन् । पछि उनी उपचाररत साँगा अस्पतालमा सीएसआरमार्फत चार महिनाको तालिमसम्बन्धी जानकारी पत्ता लगाइन् ।

त्यहाँ रहँदा उनले चिनेका व्यक्तिसँग सम्पर्क गर्न थालिन् । त्यसपछि उनले फोनमार्फत उक्त तालिमका लागि आवेदन दिइन् । अन्तत: धेरै समयको संघर्षपछि उनी काठमाडौँ आउन सफल भइन् ।

उनको बैतडीदेखि काठमाडौँको यात्रा त्यति सहज भने थिएन । सुरुवातमा उनी जोरपाटी स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालमा बस्थिन् ।

काठमाडौँ आएपछि उनले शिक्षालाई पनि निरन्तरता दिने निर्णय लिइन् । जब प्रविधिसँग उनी जोडिन्, प्रविधिले जीवनमा एउटा नयाँ आयाम थप्यो ।  त्यही प्रविधिकै कारण उनी अहिले होस्टेलको आफ्नै कोठामा बसेर रोजगार समेत गर्दै छिन् ।

पछिल्लो समय उनी देशकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवल नेट प्रालिको कल सेन्टरमा कार्यरत छिन् । उनले फाउन्ड प्रोजेक्ट अन्तर्गत यो कामका लागि अनलाइन आवेदन दिएकी थिइन् ।

अनलाइन इन्टरभ्यु दिएर १५ दिनको तालिम प्राप्त गरेपछि उनी सुबिसुमा काम गर्न थालिन् । पद्मकन्या क्याम्पस बागबजारमा स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी अहिले ललितपुरको नखिपोटमा बस्दै आएकी छिन्  ।

……….

यसैमा काभ्रेकी संगीता माझीको कथा पनि निर्मलाको भन्दा खासै फरक छैन । उनी कक्षा आठमा अध्ययन गर्दै गर्दा सामान्य रुघा खोकी लागेको थियो । पछि टाइफाइड बिग्रिएर उनको स्वास्थ्यमा जटिल समस्या देखापर्दै जान थाल्यो ।

सोही क्रममा उनलाई बोन ट्युमर र टिभी भएर स्पाइनल कर्ड इन्जुरी भयो । नतिजामा उनी पनि आजीवन अपाङ्ग जीवन जिउन बाध्य भइन् ।

संयुक्त परिवारमा हुर्केकी उनका पाँच जना दिदीबहिनी र तीनजना दाजुभाइ छन्  । अपाङ्ग भएपनि सपाङ्ग जसरी आत्मनिर्भर भएर बाच्ने उनको रहर पलाउन थाल्यो ।

उनको कम्मर तलको भाग नचल्ने भएका कारण शारीरिक बल लगाउने काम गर्न सक्दिनँ थिइन् । लोकसेवा आयोग दिनका लागि पनि उनले नसोचेकी हाेइनन् ।

अझ सरकारले पछिल्लो समय अपाङ्गता भएका व्यक्तिका लागि विशेष कोटा छुट्याएको छ । तर उक्त कोटाका लागि सामान्य अपाङ्गता भएका व्यक्तिले पनि आवेदन दिने गरेका कारण त्यसमा थप प्रतिस्पर्धा हुने गरेको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘कोटाको लागि आरक्षण खोज्ने व्यक्ति हातको एउटा औँला नभएकाहरू पनि हुन्छन्, त्यसैले सरकारी जागिरमा धेरै गाह्रो छ। यसमा धेरै प्रतिस्पर्धा गर्न पर्छ।’

उनले प्रविधिको सहायताले घरैमा बसेर काम गर्न सकिन्छ भन्ने बुझेकी थिइन् । तर मौका पाएकी थिइनन्  । उनले आफू बस्दै आएको ठाउँबाट काम गर्न सकिनेगरी सुबिसुले सार्वजनिक गरेको रोजगारको अवसर देखेपछि आवेदन दिने निर्णय गरिन् ।

उनी अन्तर्वार्ता हुँदै तालिममा सहभागी भइन् । उनी भन्छिन्, ‘हामीले तालिम लिने क्रममा यो सबल, उ अपाङ्ग भन्ने थिएन, सबैलाई समान व्यवस्था गरिएको थियो ।’

पछिल्लो समय उनी आफू बसेको ठाउँबाटै ग्राहकको फोनको प्रतिक्रिया दिने गरेकी छन् । उनी होस्टेलको रुममै बसेर ल्यापटपमार्फत काम गर्दै आएकी छन् ।

रोजगारी सुरु भएदेखि परिवारसँग पूर्णरुपमा निर्भर नभएको उनी बताउँछिन् । प्रविधि अहिले सबैको लागि आवश्यक बन्दै गएको भएपनि तुलनात्मक रुपमा अपाङ्गता भएका व्यक्तिका लागि महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।

उनी भन्छिन्, ‘घरमा बसेर ल्यापटपबाट काम गरिरहेको छु, प्रविधि नभइदिएको भए मैले जागिर पनि पाउँदिन थिए होला ।’ पछिल्लो समय उनी ललितपुरस्थित अरुणाभवन होस्टलमा बसेर बीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन ।

………

त्यस्तै व्यास नगरपालिका-९ तनहुँका बाबुराम विश्वकर्मा पनि पछिल्लो ६ महिनादेखि सुबिसुमा कार्यरत छन् । उनी मस्कुलर डिसट्रोफी रोगका कारण जन्मजात अपाङ्ग छन् ।

शारीरिक रुपमा अपाङ्गता भएता पनि उनी पठनपाठनमा अरु भन्दा अब्बल छन्  ।

उनले आफूभन्दा ठुलो कक्षामा अध्ययनरत दाइलाई पढ्नमा सहयोग गर्ने गर्थे । गाउँमा हुँदा उनलाई विद्यालयसम्म जान र ल्याउन धेरै समस्या हुने गरेको थियो।  तर उनले हिम्मत कहिल्यै हारेनन् ।

उनी आफै घिस्रेर विद्यालय जाने-आउने गर्ने गर्थे। ०६७/६८ सालमा गाउँमा घिस्रेर विद्यालय जाने क्रममा कान्तिपुर दैनिकका एक पत्रकारले मुख्य पृष्ठमा उनीबारे समाचार लेखे ।

त्यही समाचारका आधारमा बाबुरामको विद्यालयदेखि घरसम्म आउन जान ह्विलचेयर जाने बाटोको व्यवस्था भयो । साथै उनको थप उपचार गर्ने वातावरण पनि त्यसैबाट मिल्यो ।

विभिन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई शैक्षिक कार्यमा सहयोग गर्ने संस्थामार्फत उनी २०६८ पुस १० गते काठमाडौँ आए ।

उनी हाल स्नातक तेस्रो वर्षको परीक्षा दिएर नतिजा पर्खिरहेका छन् ।

उनी भन्छन्, ‘अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिनु त टाढाको कुरा इन्टर्न पनि राख्न मान्दैनन् ।’

पर्याप्त पूर्वाधार निर्माण नहुने र शारीरिक रुपमा अन्यभन्दा विशेष ध्यान दिनुपर्ने हुँदा प्रविधिको प्रयोग गर्दै, ‘वर्क फर्म होम’ गर्दै आएको उनी बताउछन् ।

सुबिसु कम्पनीमा टेक्निकल सपोर्ट सेन्टरको हेड अफ डिपार्टमेन्टका रुपमा कार्यरत राजिव बोगटी निर्मला, संगीता र बाबुरामले गर्ने कार्यालयको काम अरु कर्मचारीको तुलनामा उत्कृष्ट रहेको बताउँछन् ।

सुरुवातमा अफिसबाट नै काम गर्दै आएको कम्पनीले कोरोना महामारीको जोखिम उच्च भएपछि ‘वर्क फ्रम होम’ को अभ्यास गरेको थियो ।

राजिव भन्छन्, ‘कार्यालयको काममा बाधा नपुर्‍याई हामीले आफ्नो कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सोच्दा ‘वर्क फ्रम होम’ को निष्कर्ष आएको हो । ग्राहक उन्मुख भएर कसरी काम गर्न सकिन्छ भन्दा घरबाट नै काम गर्ने कन्सेप्ट आयो । वर्क फ्रम होमका लागि चुनौतीहरू पनि धेरै थिए । तर त्यस्ता चुनौतीलाई कसरी समाधान गर्ने ? किनकि अफिसमा हुँदै गरेको कामलाई वर्क फ्रम होममा लाग्दा कतिको समस्या आउने हो भन्ने ठूलै चुनौती थियो ।’

कम्पनीले कामको लागि आवेदन लिइरहेका बेला एसिड अट्याक, अपाङ्गता भएका व्यक्तिलाई पनि अवसर दिनुपर्छ भन्ने लामो समयदेखिको योजना अनुसार त्यस किसिमका व्यक्तिका लागि काम गर्न सहज हुने किसिमको वातावरण सिर्जनाको गर्ने तयारी गरेको थियो ।

कम्पनीले ग्राहकको समस्यालाई समाधान गर्न टेक्निकल कल सेन्टरको काम एमिनो सफ्टवेयर मार्फत भीपीएनको प्रयोग गरी घरैबाट काम गर्न मिल्ने व्यवस्था गर्‍याे ।

कोरोना महामारीका बेला भौतिक उपस्थितिमा तालिम आयोजना गर्दा जोखिम उच्च रहने भएकाले कम्पनीले अनलाइनमार्फत तालिम प्रदान गरेको थियो ।

तालिमको सुरुवातमा उनीहरूलाई दिइएको काम गर्न नसकिने हो कि भन्ने लाग्ने गरेकोका सुबिसुमा सँगै तालिम लिएका सहकर्मी र अन्य पदाधिकारीले उनीहरूलाई हौसला दिने गर्थे ।

कम्पनीका मानव संसाधन विभाग प्रमुख सचेन्द्र गुरुङ भन्छन्, ‘उहाँहरूलाई हामीले गर्न सक्दैनौ कि भन्ने अनुभव लागेकोमा कम्पनी त्यसैअनुसार सहजीकरण गर्दै आएको छ । अहिलेसम्म आइपुग्दा उहाँहरूलाई आफूले प्रविधि क्षेत्रको काम गर्न सक्छौ भन्ने आत्मबल सिर्जना भएको छ ।’

निर्मला, संगीता र बाबुरामलाई सुरुवातमा ग्राहकको फोन उठाउँदा डर लाग्ने गरेको अनुभव रहेको भएतापनि पछिल्लो समय अफिसमा रहेका अन्य कर्मचारीको तुलनामा उनीहरूले ग्राहकसँगको प्रतिक्रिया राम्रो भएको सचेन्द्र बताउँछन् ।

उनले आगामी दिनमा कम्पनीले अपाङ्गता भएका व्यक्तिसँगै सबल व्यक्तिका लागि पनि घरैदेखि काम गर्न मिल्ने वातावरणको व्यवस्था गरिने जानकारी दिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२