close

‘सुपर सोको’ ब्राण्डका दुई इलेक्ट्रिक बाइक नेपाली बजारमा

टेकपाना टेकपाना

जेठ ८, २०७९ १३:३

‘सुपर सोको’ ब्राण्डका दुई इलेक्ट्रिक बाइक नेपाली बजारमा

काठमाडौँ । नेपाली बजारमा ‘सुपर सोको’ ब्राण्डका दुई विद्युतीय मोटरसाइकलको प्रि-बुकिङ खुला भएको छ । सुपर सोको ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता डी लाइफ स्टाइलले यी मोटरसाइकलको बुकिङ खुला गरेको हो ।

कम्पनीले विशेष अफरसहित ‘स्ट्रिट हन्टर’ र ‘टीसी वान्डरर’ मोडलका दुई मोटरसाइकलको बुकिङ खुला गरेको छ ।

पहिलो चरणमा बुक भएका मोटरसाइकल साउनको पहिलो सातासम्म ग्राहकलाई हस्तान्तरण गर्ने योजना भएको कम्पनीका सेल्स म्यानेजर उद्धव कुमार मैनालीले जानकारी दिएका छन् ।

चीनबाट आयात हुने यी मोटरसाइकल कम्पनीले पहिलो चरणमा ५२ युनिट नेपाल भित्र्याउन लागेको छ ।

स्पोर्ट्स डिजाइनमा निर्माण भएको विद्युतीय मोटरसाइकल ‘स्ट्रिट हन्टर’ आकर्षक र बोल्ड देखिन्छ । ३.५ किलोवाट क्षमताको मोटर जडान भएको यो मोटरसाइकल सिंगल र डबल ब्याट्री विकल्पसहित उपलब्ध छ ।

यो मोटरसाइकलले सिंगल ब्याट्रीमा १०० किलोमिटर अधिकतम रेन्ज र डबल ब्याट्रीमा २०० किलोमिटर अधिकतम रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

७५ किलोमिटर प्रति घण्टाको गतिमा गुड्ने यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १८४ एमएम रहेको छ ।

स्ट्रिट हन्टरमा एलईडी डीआरएलसहितको हेडल्याम्प, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एन्टी थेफ्ट अर्लाम सिस्टम, डबल डिस्क ब्रेक, यूएसबी चार्जिङ लगायतका अत्याधुनिक फिचर उपलब्ध रहेका छन् ।

यो मोटरसाइकलमा १० एम्पायरको चार्जिङ पोइन्टदेखि चार्ज गर्दा ३.५ घण्टामा पूर्णरुपमा चार्ज गर्न सकिन्छ । स्ट्रिट हन्टरको अधिकतम भार क्षमता १५० किलोग्राम रहेको छ ।

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य सिंगल ब्याट्री भेरियन्टमा तीन लाख ७९ हजार ९०० रुपैयाँ र डबल ब्याट्री भेरियन्टमा चार लाख ७९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, सुपर सोको ‘टीसी वान्डरर’ मोडल मोटरसाइकलमा ‘स्ट्रिट हन्टर’ को जस्तै विशेषता, ब्याट्री र मोटर क्षमता रहेको छ ।

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य सिंगल ब्याट्री भेरियन्टमा तीन लाख ८९ हजार ९०० रुपैयाँ र डबल ब्याट्री भेरियन्टमा चार लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२