close

नियोसँग मिलेर निःशुल्क फोटोशप तालिम दिँदै टेकपाना, सहभागीलाई प्रमाणपत्र समेत उपलब्ध गराइने

टेकपाना टेकपाना

जेठ ८, २०७९ २१:१८

नियोसँग मिलेर निःशुल्क फोटोशप तालिम दिँदै टेकपाना, सहभागीलाई प्रमाणपत्र समेत उपलब्ध गराइने

काठमाडौं । टेकपाना मिडिया प्रालिको आयोजनामा फोटो शप सम्बन्धी निःशुल्क तालिम आयोजना हुने भएको छ । आईटी तथा ग्राफिक डिजाइन तालिममा नेपालकै प्रतिष्ठित कम्पनी नियोस्फेयरसँगको सहकार्यमा टेकपानाले युट्युबमार्फत फोटोशप सम्बन्धी आधारभूत तथा अतिरिक्त (बेसिक प्लस) तालिम दिने भएको हो । 

यही आउँदो बुधबारदेखि सुरु हुने २० एपिसोड रहेको तालिम कार्यक्रम लगातार दश हप्तासम्म सञ्चालन हुनेछ । बुधबार र शनिबार टेकपानाको युट्युब च्यानलमा अपलोड हुने यो तालिम कार्यक्रमबाट टेकपानाका हजारौँ पाठक तथा दर्शक लाभान्वित हुने विश्वास लिइएको छ ।

यदि तपाईँ पनि यो निःशुल्क फोटोशप तालिममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी टेकपानाको युट्युब च्यानल सब्सक्राइब नोटिफिकेसन अन गर्न‍ सक्नुहुनेछ । तालिमका क्रममा फोटोशपको परिचय, इन्टरफेस तथा लेयर, टाइप तथा टेक्स्ट, प्याराग्राफ र कस्टम शेप्सको बारेमा सिकाइनेछ ।

यसैगरी मार्की टुल, लासो टुल, म्याजिकवान्ड टुल, क्विक स्लेक्सन टुल तथा पेन टुल, एज रिडक्सन, ब्लर, शार्पन, डिस्टोर्ट र ट्रान्सफर्मलाई समेत कोर्षमा समावेश गरिएको छ । यस बाहेक सहभागीले सिम्पल श्याडो, रियलिस्टिक श्याडो, भ्यानिशिङ प्वाइन्ट, प्रस्पेक्टिभ, ब्लर फिल्टर र डिस्टोर्ट फिल्टर समेत सिक्न पाउनेछन् ।

यति मात्र नभएर लेयर मास्क, ब्लेन्डिङ मोड तथा लेयर स्टाइल, फ्रेमआउट, पार्टिकल एक्स्ट्राक्सन, सीसी अटो तथा सीसी कमन फिल्टर, कलर करेक्सन, कम्पोजिटिङ र म्यानुपुलेसन जस्ता विषय समेत यो तालिम कार्यक्रममा समेटिनेछन् । 

‘निःशुल्क शिक्षा अभियान’ अन्तर्गत हजारौँ रुपैयाँ शुल्क तिरेर पढ्नुपर्ने कोर्ष युट्युबमा निःशुल्क रुपमा उपलब्ध गराइने नियोस्पेयरका सेन्टर हेड दिपेन्द्र ढकालले बताए । ढकाल स्वयम्‌ यो तालिम कार्यक्रममा प्रशिक्षकको रुपमा समेत रहनेछन् । 

टेकपाना र नियोस्फेयरबीच भएको सम्झौता अनुसार १० हप्ते तालिममा नियमित सहभागी हुने प्रशिक्षार्थी मध्ये इच्छुकलाई तालिम सम्पन्न भएपश्चात प्रमाणपत्र समेत उपलब्ध गराइनेछ । तर यसका लागि भने नयाँ बानेश्वर स्थित नियो स्फेयरको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ । 

कम्पनीले एकदिने परीक्षा लिएर त्यसैका आधारमा आवश्यक प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत उपलब्ध गराइने ढकालको भनाई छ । प्रमाणपत्र लिन चाहनेले भौतिक रुपमा सञ्चालन हुने परीक्षा तथा प्रमाणपत्रका लागि भने निश्चित शुल्क तिर्नुपर्नेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२