close

‘लकडाउन’ मा यसरी राख्नुहोस् आफ्नो सामसङ स्मार्टफोन

टेकपाना टेकपाना

जेठ १०, २०७९ १३:१३

‘लकडाउन’ मा यसरी राख्नुहोस् आफ्नो सामसङ स्मार्टफोन

काठमाडौं । हरेक एन्ड्रोइड डिभाइसहरूमा सुरक्षा दिन लक स्क्रिन फिचर उपलब्ध हुन्छ । धेरैजसो अवस्थामा फोनमा उपलब्ध तिनै सुरक्षाका उपाय पर्याप्त हुन्छन् । तर, विशेष परिस्थितिमा तपाईँलाई थप सुरक्षाका उपाय समेत आवश्यक पर्न सक्छन् ।

त्यस्तो अवस्थामा लकडाउन फिचर तपाईँका लागि उपयुक्त हुनसक्छ । यो फिचर सबै फोनमा उपलब्ध नहुन सक्छ । यदि तपाईँ सामसङ वा यो फिचर सपोर्ट गर्ने अन्य फोन प्रयोग गर्नुहुन्छ भने तपाईँले यो फिचरको अनुभव गर्न सक्नुहुन्छ ।

 एन्ड्रोइडमा भएको लकडाउन मोड के हो?

हामीमध्ये धेरै ‘लकडाउन’ शब्दसँग परिचित नै छौँ । कोभिड महामारीपछि यो शब्द आमनागरिकको बोलिचालीको शब्द बनेको थियो । एन्ड्रोइडमा भएको ‘लकडाउन’ मोड विशेषगरी सुरक्षामा केन्द्रित छ । फोनमा हुने सबै सुरक्षाका उपाय पर्याप्त नहुन सक्छन् ।

उदाहरणका लागि एन्ड्रोइड फोनमा अलिकति केही उपाय अपनाउने हो भने फेस अनलकलाई सजिलै झुक्याउन सकिन्छ । त्यस्तै तपाईँहरूसँग केही त्यस्ता ब्लुटुथ डिभाइस हुन सक्छन्, जसले फोनलाई सहजै अनलक गरिदिन सक्छन् । त्यसैले एन्ड्रोइडमा पिन, प्याटर्न वा पासवर्ड बढी सुरक्षित मानिन्छन् ।

यदि तपाईँले आफ्नो फोनलाई लकडाउन मोडमा राख्नुभएको छ भने चाहिँ तपाईंको डिभाइसमा भएका सम्पूर्ण कम सुरक्षित उपायहरू डिसेबल हुन्छन् । जसले गर्दा सुरक्षित माध्यम जस्तै पिन, पासवर्ड वा प्याटर्नबाट मात्र फोनको लक खोल्न सकिन्छ । यसले गर्दा तपाईँले फोनमा थप सुरक्षित महसुस गर्न सक्नुहुन्छ ।

एन्ड्रोइडमा लकडाउन मोड कसरी इनेबल गर्ने ?

एन्ड्रोड भर्सन ९ भन्दा माथिका सामसङ फोनहरूमा लकडाउन फिचर उपलब्ध छ । 

  • यसलाई अन सक्रिय गर्न सबैभन्दा पहिले आफ्नो फोनको सेटिङमा जानुहोस् ।
  • त्यसपछि लक स्क्रिन (Lock Screen) को अप्सनमा ट्याप गर्नुहोस् ।
  • अब त्यहाँ ‘सेक्योर लक सेटिङ’ (Secure lock setting) देखिन्छ, त्यसमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ देखिएको ‘शो लकडाउन’ अप्सनलाई इनेबल गर्नुहोस् ।

यति गरिसकेपछि तपाईंले पावर बटनलाई केही समय दबाउनुभयो भने त्यहाँ लकडाउन मोड देख्न सक्नुहुन्छ । जब तपाईँलाई लकडाउन मोडको आवश्यकता पर्छ, त्यस्तो बेला तपाईँले यसको प्रयोग गर्न सक्नुहुन्छ । यसलाई प्रयोग गर्न पावर बटनलाई केही बेर थिचिराख्नुहोस् ।

यसको साटो तपाईँ नोटिफिकेसन बारमा गएर पावर अप्सनमा जानसमेत सक्नुहुन्छ । त्यसपछि तपाईँले त्यहाँ ‘लकडाउन मोड’ अन गर्नुपर्ने हुन्छ । यति गरिसकेपछि तपाईँले फेस अनलक, फिङ्गरप्रिन्ट आदिबाट फोनको लक खोल्न सक्नुहुन्न ।

यस्तो अवस्थामा तपाईँले पिन, प्याटर्न वा पासवर्डको माध्यमबाट मात्रै लक खोल्न सक्नुहुन्छ । यसबाट तपाईं निदाएको वा बेहोस भएको अवस्थामा तपाईँको फिङ्गरप्रिन्ट प्रयोग गरी कसैले पनि फोन अनलक गर्न सक्दैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२